मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

फिल्म सुपरहिट, नायिका गुमनाम

काठमाडौँ– यतिबेला सिनेमा घरमा प्रदर्शनमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले आक्रामक व्यापार गर्दै कैयन् रेकर्ड कायम गरेको छ । फिल्मले नेपाली फिल्मकै इतिहासमा एकैदिनमा सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड पनि राखेको छ ।

फिल्म हिट हुँदा शीर्ष कलाकार विजय बरालको चौतर्फी चर्चा छ । तर, विजयको अपोजिटमा अभिनय गरेकी अभिनेत्री अञ्जना बराइलीको भने कतै चर्चा छैन । फिल्ममा उनको अभिनय दमदार त छ नै । यसका अलावा ‘पूर्ण बहादुरको सारङ्गी’ मा अञ्जनाको पनि महत्त्वपूर्ण भूमिका छ ।

यसअघि दशैँको अवसर पारेर आएको फिल्म ‘छक्का पञ्जा ५’ बाट पनि दीपकराज गिरी र केदार घिमिरेको जति चर्चा भयो । त्यसको तुलनामा नायिका वर्षा शिवाकोटीको निकै कम चर्चा भयो । बरु सोही फिल्ममा समावेश गीत ‘बिहे पनि भा छैन’ बोलको गीतमा वर्षाले गरेको अभिनयलाई लिएर ट्रोल बनाइयो ।

‘छक्का पञ्जा ५’ सँगै सोही मितिमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ मा अभिनय गरेकी अभिनेत्री सनिसा भट्टराईको पनि कहीँकतै चर्चा भएन । सनिसाको चर्चा बरु म्युजिक भिडियोमा गरेको अभिनयका कारण हुने गरेको थियो । तर, ‘१२ गाउँ’ मा समीर भट्टलाई एक्सन स्टारका रुपमा उभ्याइए पनि सनिसाको भने कतै चर्चा भएन ।

अझ सनिसाको तुलनामा न्यान्सी खड्का त झन् गुमनाम नै भइन् । मोडलिङमा आफ्नो करिअर स्थापित गरेकी न्यान्सीलाई ‘१२ गाउँ’ ले कुनै चर्चा दिलाएन । एक्सनप्रधान फिल्ममा विराज भट्ट र समीर भट्टको चर्चा बढी हुनु स्वभाविक भए पनि अभिनेत्रीको पनि स्वभाविक रूपमा चर्चा हुनुपर्ने हो ।

त्यसो त गत दशैँको घटस्थापनाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ बाट स्वस्तिमा खड्काले भने राम्रो चर्चा कमाएकी थिइन् । महिला केन्द्रित सो फिल्मबाट उनले चर्चा कमाए पनि त्यसपछि प्रदर्शनमा आएका प्रायः फिल्ममा अभिनय गरेका नायिकाहरुको भने चर्चा भएको छैन ।

दशैँको फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’ मा केन्द्रीय भूमिका निर्वाह गरेकी नीति शाह पनि गुमनाम नै भइन् । कुनै समय सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ‘राष्ट्रिय क्रस’ मानिएकी नीतिलाई फिल्मले थप चर्चा दिलाउनुपर्ने हो । बरु सोही फिल्मबाट अभिनेता जितु नेपालको चर्चा राम्रै भयो ।

त्यसो त नेपालमा पहिलेदेखि नै महिला कलाकारको कमै चर्चा हुने गरेको छ । कतिपय मेकरले जोखिम मोलेरै महिलालाई केन्द्रमा राखेर लेखिएका कथामा फिल्म निर्माण गरेका छन् ।

फिल्ममा सक्रिय केकी अधिकारी, मिरुना मगर, पूजा शर्मा, सुरक्षा पन्त लगायतका केही कलाकारका फिल्म आउँदा अभिनेत्रीको पनि चर्चा हुने गरे पनि नवकलाकार भने डेब्यु फिल्ममा गुमनाम जस्तै हुने गरेका छन् ।

एकातिर महिला सशक्तीकरणको आवाज बुलन्द रुपमा उठिरहेको छ भने अर्कोतर्फ फिल्ममा महिला कलाकारको चर्चा ज्यादै न्यून हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?