काठमाडौँ- जाडोयाम शुरु भएसँगै मानव शरीरमा विभिन्न खालका समस्या देखा पर्छन् । अझ चिसोको समस्या भएका व्यक्तिले त हिउँद मौसममा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।
काठमाडौँ लगायत नेपालका पहाडी जिल्लामा चिसो बढिसकेको छ भने तराईमा पनि बिहान र बेलुका चिसो शुरु भएको छ । बाह्य चिसोले गर्दा हाम्रो शरीरको ताप पनि घट्छ र विभिन्न संक्रमणहरू देखा पर्न थाल्छन् ।
चिसो मौसममा रुघाखोकी लाग्नु सामान्य समस्या भए पनि यतिबेला भने काठमाडौँ लगायत नेपालका कतिपय जिल्लामा डेंगीको समस्या पनि भित्रिएको छ । लामुखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगका कारण कतिपयको ज्यान समेत गएको छ ।
चिसो महिना भित्रिदै गर्दा शरीरमा के–कस्ता स्वास्थ्य समस्या निम्तन सक्छन् भन्ने सन्दर्भमा चिरायु अस्पतालमा कार्यरत कन्सलटेन्ट फिजिसियन डा. सञ्जय साहसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानी:
नेपालमा बिस्तारै जाडोको सिजन शुरु भएको छ । जाडोमा कस्ता रोगको जोखिम बढी हुने गर्छ?
मौसम परिवर्तनसँगै ज्वरो आउने, रुघाखोकी लाग्ने र भाइरल रोगले समाउने भय हुन्छ । त्यस्तै अब जाडोको समयमा डेंगी, रुघाखोकी, जिउ दुख्ने, हातखुट्टा सुन्निने, निमोनिया, बाथ, जोर्नी दुख्नेजस्ता समस्या पनि देखा पर्छन् ।
अहिले नेपालमा डेंगीको समस्या बढी नै देखा परेको हो ?
हुन त यो जाडो, गर्मी दुवै महिनामा हुन्छ । तर, जाडो महिनामा भने गर्मीको तुलनामा यो केही कम हुँदै जान्छ । पछिल्लो समय यस रोगबाट धेरै मानिसहरु पीडित भएका छन् । कतिपयले यसै रोगका कारण अकालमै ज्यान समेत गुमाएका छन् ।
डेंगु कस्तो रोग हो, त्यो पनि भनिदिनुहोस् न ।
डेंगु लामखुट्टो टोकाइबाट सर्ने रोग हो । यो मानिसबाट मानिसमा सर्ने रोग नभएर लामखुट्टो टोकाइबाट मात्रै सर्ने रोग हो । डेंगु भयो भने ज्वरो आउने, रुघा लाग्ने, शरीर दुख्ने, ज्यान गल्ने, पखाला लाग्ने, उल्टी गर्ने आदि हुन्छ । साथै यसले टाइफाइड बिग्रन्छ, पिसाब पोल्छ दीर्घरोगीहरुलाई थप समस्या दिन सक्छ । यसको उपचारको कुरा गर्नुपर्दा सामान्यतया सिटामोलको सेवन गर्नुपर्छ । घरवरपर सफा राख्ने, झुलको प्रयोग गर्ने, पानी जम्न नदिने गर्नुपर्छ ।
जाडोमा रुघाखोकी, टन्सिलजस्ता समस्या पनि एकदमै धेरै देखा पर्छ । यसबाट कसरी जोगिन सकिन्छ?
रुघाखोकी पनि भाइरल इन्फेक्सनको कारणले हुने स्वास्थ्य समस्या हो । साधारणतया यो २ देखि ३ दिनसम्म रहन्छ । यसको रोकथाम तातोपानी खाने, चिसोबाट बच्ने नै हो । जो व्यक्तिसँग रोगसँग लड्ने क्षमता कम हुन्छ त्यो व्यक्तिले शतर्कता अपनाउनुपर्छ । यदि ख्याल गरिएन भने निमोनिया हुनसक्छ । तर जाडोमा रुघाखोकी हुन नदिन भ्याक्सिन (सुई) पनि लगाउन सकिन्छ । गर्मी महिनाको तुलनामा चिसो महिनामा र मौसम परिवर्तन हुने समयमा यो रोगले च्याप्ने गर्छ ।
पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ । टन्सिल पनि जाडोमा निम्तिने समस्या हो । चिसोका कारण हुने टन्सिलबाट बच्न तातोपानी पिउने, झोलिलो पदार्थ सेवन गर्ने र न्यानो कपडा लगाउने गर्नुपर्छ ।
रुघाखोकी बिग्रिए फोक्सोमा संक्रमण भएर निमोनिया पनि हुन सक्छ । सामान्यतया पाँच वर्षमुनि बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिक लाग्ने र मृत्यु हुने जोखिम बढी हुन्छ । दम, मधुमेह, क्यान्सर, मृगौला, कलेजो, मुटुरोगी, क्षयरोग तथा फोक्सोको रोग, एचआईभी, एड्स रोगबाट संक्रमित भएका वा अन्य दीर्घरोगी व्यक्तिलाई र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकालाई जोखिम बढी हुन्छ ।
निमोनिया बच्चा र वृद्धलाई मात्र होइन, हरेक उमेर समूहका व्यक्तिलाई हुन सक्छ । मौसमी भाइरल ज्वरो पनि रुघाखोकीको कारण बन्न सक्छ । यसकारण यस्तो अवस्थामा तातो पानी पिउने, झोलिलो खानेकुरा र पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्नुपर्छ ।
जाडोमा जिउ दुख्ने र हातखुट्टा सुन्निने समस्या पनि देखिन्छ, यसबारे पनि थोरै बताइदिनुहोस् न ।
हाम्रो शरीरको सुक्ष्म सेलभित्र भाइरस बस्ने भएकाले शक्ति नै क्षीण हुन्छ र जिउ एकदमै दुख्छ । शरीरमा धेरै भाइरस भएमा उनीहरुले मानव शरीरले बनाएको खाना खाइदिन्छन् । जसले गर्दा पनि ज्यान दुख्ने गर्छ ।
त्यतिमात्र नभएर जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिन्छ । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छ । जाडो महिनामा बाथ रोगका बिरामी पनि बढेको पाइन्छ । यो रोग हुने मानिस चिसोबाट जोगिनुपर्छ । चिसोबाट जोगिनका लागि न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।
जिउ दुख्नेसँगै जाडो मौसममा हातखुट्टा सुन्निने समस्या पनि धेरैलाई हुन्छ । चिसोको एलर्जीका कारण हातका, खुट्टाका केही औं लाहरु रातो हुने, सुन्निने, चिलाउने समस्या उत्पन्न हुन्छ । यसको निवारणका लागि हामीले नुनपानीमा हातखुट्टा सेकाउने, तेल लगाएर मालिस गर्ने हिटर ताप्ने गर्नुपर्दछ । अर्को कुरा भनेको चिसो पानीमा धेरै काम गर्नु हुँदैन ।
अन्त्यमा चिसोयाममा हामी स्वस्थ रहन आफ्नो स्वास्थ्यको ख्याल गर्न के–कस्ता स्वास्थ्य सावधानी र कस्तो जीवनशैली अपनाउनुपर्छ ?
चिसोयाममा हामी विभिन्न स्वास्थ्य समस्याहरुबाट बच्न सर्वप्रथम त धुँवा, धुलो, चिसो र प्रदूषणबाट बच्नुपर्छ । त्यसपश्चात् तातो पानी पिउने, न्यानो कपडाहरु लगाउने, झोलिलो खानेकुराहरुको सेवन गर्ने, पोषिलो खानेकुराहरु खाने, दीर्घरोगीहरु अझ थप संयमित हुनुपर्छ । बाहिरी मान्छेहरुसँग टाढै रहनुपर्छ । किनकि बाहिरबाट आएका व्यक्तिहरु स्वस्थ भएता पनि उनीहरुले किटाणु बोकेर आएका हुन सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया