काठमाडौँ– छ वटा विज्ञ समितको गठनसँगै अन्तर्राष्ट्रिय तामाङ परिषद्को विषयगत भेला सकिएको छ ।
अन्तर्राष्ट्रिय तामाङ परिषद्(आइसिटी)ले काठमाडौँको रामहिटीस्थित सिद्धार्थ बुटिक होटेलमा शनिबार र आइतबार गरिएको दुई दिने भेलाले ‘सांस्कृतिक पुनः उत्थान समिति,’ ‘तामाङ कला, संस्कृति, साहित्य तथा इतिहास लेखन समिति,’ ‘तामाङ मानवअधिकार प्रवद्र्धन समिति,’ ‘भाषा, लिपि तथा शिक्षा प्रवद्र्धन समिति, अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति’ र ‘अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चाङ्ग समिति’को गठन गरेको छ ।
समितिहरुको संयोजकमा क्रमशः डा.सङ्ग्राम सिंह लामा, दिनेश लो तामाङ, सोमबार बहादुर घले, अजितमान तामाङ, सुदिपा लामा र खेन्पो सोनाम ग्युर्मे तामाङ छन् ।
प्रत्येक समितिमा नेपाल, भारत, जापान, अमेरिका, माल्टा, इजरायल, पोर्चुगल, रोमानिया, युएई, दक्षिण कोरियालगायत विश्वभरी छरिएका बसेका तामाङहरुको प्रतिनिधिका रुपमा सदस्य चयन गरिएको छ ।
भेलाले विश्वभरी छरिएर रहेका तामाङहरुमा एकता ल्याउँदै तामाङ भाषा, संस्कृति र ज्ञानको उत्थान गर्दै नियमित सम्पर्क, सांस्कृतिक आदानप्रदान, भाषाको पुस्तान्तरण र ल्होछारको तिथिमिति तय गर्ने लक्ष्य राखेको छ ।
नेपाल तामाङ घेदुङ सङ्घीय समितिको व्यवस्थापनमा शनिबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह तामाङले सम्बोधन गरेका थिए । भेलाले तामाङ संस्कृति, भाषा, इतिहास र सभ्यतालाई विकास, विस्तार र प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै उनले तामाङ भाषाको लिपिमाथि भएको विवाद र समस्याको समाधान पनि निस्कने सुनाए ।
उद्घाटन सत्रमै आएसिटीका पूर्वाध्यक्ष एवं प्रमुख सल्लाहकार, पूर्व राजदूत डा.गणेश योन्जनले भेलाले तामाङ जाति, सभ्यता र इतिहास जीवितै रहेको अनुभूति दिलाउने बताए । ‘तामाङहरु जीवितै छ भन्नका लागि अन्तर्राष्ट्रिय तामाङ परिषद् छ,’ उनले भने, ‘परिषद्ले र घेदुङले बनाएको रणनीतिहरुलाई हामी सबैले मान्नुपर्छ ।’
त्यस्तै, आइसिटीकै संस्थापक अध्यक्ष पर्शुराम तामाङले विश्वभरी छरिएका तामाङहरुमा विविधता भएपनि मूल सांस्कृतिक रुपमा एकरुपता ल्याएर एक हुँदै अगाडि बढ्न सुझाव दिए । भाषिक लिपिको विवादलाई लिएर त्यसैमा अड्किएर बस्न नहुने उनले बताए ।
परिषद्का महासचिव टासी लामाकाे अध्यक्षता गरेकाे भेलामा तामाङ समाज अमेरिका न्युयोर्कका अध्यक्ष बुद्धिमान तामाङ, नेपाल तामाङ समाज जापानका वरिष्ठ उपाध्यक्ष गिरीबहादुर तामाङ, तामाङ सोसाइटी अफ टेक्सास अमेरिकाका महासचिव प्रदिश तामाङ, तामाङ समाज पोर्चुगलका सल्लाहकार कुमार तामाङ, अखिल भारत बौद्ध सङ्घका सल्लाहकार राजकुमार तामाङ, तामाङ घेदुङ मलेसियाका पूर्वाध्यक्ष जगत दोङ, तामाङ समाज युएई नेपालका सम्पर्क समिति अध्यक्ष निशान लामालगायत नौ वटा देशका प्रतिनिधिहरुको उपस्थिति थियो ।
भेलामा भर्चुअल रुपमा समेत १५ वटा देशहरुबाट तामाङ प्रतिनिधिहरु सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया