काठमाडौँ– यतिबेला नेपालमा सिनेमा घरमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले कमालको व्यापार गरिरहेको छ । कम बजेटमा निर्माण भएको यो सामाजिक कथालाई दर्शकले अपत्यारिलो ढंगले साथ दिएका छन् ।
रिलिजको पहिलो र दोस्रो दिनमा खासै हाइप निर्माण गर्न नसकेको र पर्याप्त शो समेत नपाएको यो फिल्मले ऐतिहासिक व्यापार गरेको छ भने एकैदिन सबैभन्दा धेरै शो पाउने फिल्म पनि बनेको छ ।
फिल्म रिलिजअघि त्यति चर्चा नभएको यो फिल्मले किन र कसरी उत्साहजनक व्यापार ग¥यो भन्नेमा सबैको चासो छ । अझ फिल्मका प्रकाश सपूतले समेत प्रचारमा त्यति साथ नदिएको फिल्म विजय बरालको भरमा प्रदर्शनमा आएको थियो । जबकि, उनले शीर्ष भूमिकामा यसअघि कुनै फिल्ममा पनि काम गरेका थिएनन् ।
फिल्मका निर्माता समेत यस्तो आक्रामक व्यापार गर्नेमा शायदै ढुक्क थिए । फिल्मले व्यापारको आँकडामा मात्र कमाल देखाएन । दर्शकको रोजाइ कस्तो हुँदै गएको छ र मौलिक कथामा स्तरीय फिल्म बनाउन सकियो भने दर्शकले कति साथ दिन्छन् भन्ने पनि प्रमाणित भएको छ ।
यो फिल्ममा अभिनेता विजय बरालका अलावा प्रकाश सपूत, अञ्जना बराइली लगायतका कलाकारको शीर्ष भूमिका छ । सरोज पौडेलको निर्देशनमा तयार भएको यो फिल्मले आखिर किन अपत्यारिलो रुपमा व्यापार ग¥यो त? धेरैका लागि यो चासोको विषय पनि हो ।
रिलिजअघि फिल्ममा समावेश गीत ‘काँधेकुरी’ ले सामाजिक सञ्जालमा निकै लोकप्रियता कमाएको थियो भने टिकटकमा पनि यो गीतमा करीब २ लाख ६५ हजार वटा भिडियो निर्माण गरिएका छन् । फिल्ममा समावेश गीतले पनि यो फिल्म चल्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस्तै फिल्मको स्क्रिप्टको पनि उत्तिकै तारिफ गरिएको छ । महेश दवाडीको स्क्रिप्ट रहेको यो फिल्मको कथाको पनि उत्तिकै प्रशंसा गरिएको छ । यो फिल्मबाट महेशले चर्चा कमाएका छन् भने मेकरको रोजाइमा पनि परेका छन् ।
योसँगै फिल्ममा गन्धर्व जातिको कथा समेट्दै एक बाबुले आफ्ना छोरालाई गर्ने समर्पण पनि फिल्ममा देखाइएको छ । बाबु छोराको सम्बन्धमा कमै फिल्म बन्ने भएकाले पनि ‘पूर्ण बहादुरको सारङ्गी’ ले इतिहास रचेको छ ।
त्यसो त फिल्ममा सबै कलाकारको अभिनय उत्तिकै उम्दा देखिन्छ । अझ त्यसमा पनि वर्षौँदेखि अभिनय कर्म गर्दै आएका अभिनेता विजय बरालको सशक्त अभिनयको पनि दर्शकले खुलेर तारिफ गरेका छन् ।
पहिले सिनेमा हलले धेरै शो नदिए पनि अहिले ‘पूर्ण बहादुरको सारङ्गी’ हेर्न दर्शकले जुन उत्साह देखाएका छन् । त्यसले के प्रमाणित गर्छ भने नेपालमा अझै पनि फिल्मको व्यापक क्रेज छ । तर, फिल्म राम्रा चाहिँ बन्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया