नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ ।
घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्यांकीबाट पानी बोक्नुपर्ने बाध्यता थियो ।
देवचुली नगरपालिकाको पहाडी क्षेत्र अन्तर्गत पर्ने मौला थुम्कीका भीमकुमारी लुंगेलीले अहिले घरमा धारामा पानी आएसँगै पहिले आफूहरूले गरेको दुःख बिर्सिएको बताइन् । खोलाबाट पानी बोक्दा दिन नै बित्ने गरेकामा अहिले घरमा धारा जोडिएपछि आफूहरूको दैनिकी नै फेरिएको उनले बताइन् ।
“घरमा एक जनाको काम नै पानी बोक्ने हुन्थ्यो, अब घरमै धारा आएपछि खेतीपाती र पशुपालनमा समय दिन सकिने भयो”, उनले भनिन् “बल्ल डोकोमा पानी बोक्ने दिन सकिए ।”
घरमै धारा अनि चौबीसै घण्टा पानी भएपछि दैनिक काम गर्न सहज भएको स्थानीय लालमाया बरालले बताइन् । पानीको सहजतासँगै घरको सरसफाइ, खेतीपाती र अन्य काममा समय दिन सहज भएको उनको भनाइ छ । पहिला खोलाको छेउमा तरकारी लगाउने गरेका मौलाथुम्कीवासीलाई अहिले घरघरमा तरकारीलगायत अन्य खेती गर्न सहज भएको हुनुका साथै समयको समेत बचत भएको छ ।
देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको सहयोग तथा स्थानीयको श्रमदानमा रु. १५ लाख ३९ हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको हो ।
स्थानीयलाई खानेपानीको समस्या भएपछि वास नमूना गाउँ परियोजनासँग सहकार्य गरी खानेपानीको विस्तार गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए ।
पानीको सहजताले घरमा सबैको समय बचत भएको साथै कृषि तथा पशुपालन सहयोग पुगेको मौलाथुम्की खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गिरिप्रसाद बरालले बताए ।
“पहिला नगरपालिकाले सानो खानेपानी ट्यांकी बनाएको थियो, गाउँका सबैले त्यहाँबाट डोकामा पानी बोक्नुपर्ने बाध्यता थियो”, उनले भने । अहिले सबैको घरमा तरकारी उत्पादन भएपछि तरकारी किनेर खानुपर्ने बाध्यता पनि हटेको छ ।
देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको साझेदारीमा मौलाथुम्कीमा खानेपानी तथा सरसफाइ अभियान सञ्चालन गरिएको परियोजनाका व्यवस्थापक प्रवीण घिमिरेले बताए ।
परियोजनाले देवचुली-५ र ६ मा ग्रामीण खानेपानी स्तरोन्नतिसँगै समुदायमा सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया