मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तिहारमा सेलरोटी बेचेर एक लाख आम्दानी

काठमाडौँ- नेपालगञ्ज–१० आदर्शनगर निवासी रिता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेकी छन् । उनले दुई वर्षदेखि सेलरोटी बनाइ बिक्री गर्दै आएकी छन् ।

उनले भनिन्, ‘म यही उद्यम गर्नमा रमाइरहेको छु । सेलरोटी नेपालगञ्जका होटल र क्याफेमा बिक्री हुने गरेका छन् ।’ दैनिक रुपमा मागअनुसार ५० देखि एक सय सेलरोटी पकाएर बिक्री गर्ने गरेको उनले बताइन्। अन्य समयमाभन्दा दसैँ तिहारमा रोटी पकाउन भ्याइनभ्याइ हुने गरेको उनको भनाइ छ ।

‘अन्य बेलाभन्दा दसैँतिहारलगायत चाडपर्व र कार्यक्रममा सेलरोटीको माग बढी हुने गरेको छ’, उनले भनिन्, ‘सेलरोटीका लागि अहिले नेपालगञ्ज बाहिर कोहलपुर, खजुरा, राँझा विमानस्थलबाटसमेत माग भइरहेको छ ।’ केही समय वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुक कुवेत गएर फर्किएकी गुरुङले यो वर्षको तिहारमा सेलरोटी, फिनी रोटी र झिनिया बिक्री गरेर रु एक लाखभन्दा बढी आम्दानी गरेकी छन् ।

गुरुङले यो तिहारमा लागि झिनिया (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाएर बिक्री गरेको बताइन्। ‘मैले प्रत्येक वर्ष तिहारका लागि झिलिङ्गा (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाउने गरेको छु, ग्राहक यहीँ आउनुहुन्छ’, गुरुङले भनिन्, ‘एकपटक आएका ग्राहक बारम्बार आउने गर्नुभएको छ ।’

यो वर्षको तिहारमा झिनिया (सिन्कामारी) रोटी प्रतिगोटा ३०, फिनीरोटी प्रतिगोटा रु ४०, सेलरोटी प्रतिगोटा रु ३० र बतासा रोटी प्रतिगोटा रु १५ मा बिक्री गर्ने गरेको गुरुङले बताइन्। सिजनको समयको रोटी व्यवसायले राम्रो आम्दानी हुनुका साथै घरखर्च गर्न निकै सहज भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?