काठमाडौँ- नाट्य क्षेत्रमा रङ्गकर्मी केदार श्रेष्ठले आफ्नै पहिचान स्थापित गरेका छन् । २०६५ सालदेखि नाट्य क्षेत्रमा लागेका उनले शैली थिएटरबाट आफ्नो औपचारिक नाट्ययात्राको थालनी गरेका हुन् । शैलीमा रहँदा नै २०६९ सालमा उनको निर्देशनमा ‘उपियाँको निबन्ध’ मञ्चन भएको थियो । त्यसयता उनी निरन्तर नाटक लेखन र निर्देशनमा सक्रिय छन् ।
‘मान भर्सेस मती,’ ‘भोको घर,’ ‘जामुनको रुख,’ ‘बदरङ्ग,’ ‘करेसा कन्सर्ट’ जस्ता आधा दर्जनभन्दा बढी नाटकहरु उनले निर्देशन गरेका छन् । अहिले भने उनी दाम्पत्य जीवनको सम्बन्ध र त्यसभित्र हुने अनेकौँ मानसिक संवेदनाहरुलाई केलाउने नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ लिएर आम नाट्यप्रेमीहरुमाझ आएका छन् । कार्तिक २४ गतेदेखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुने नाटकको परिकल्पना, लेखन र निर्देशन उनैले गरेका छन् ।
यही नाटकले केलाउने सम्बन्ध र संवेदना जस्ता विषयमा केन्द्रित रहेर जोयनेपालकर्मी सुशीला तामाङले रङ्गकर्मी श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश-
पछिल्लो नाटकमा भावनात्मक सम्बन्धको खोजी गर्नुभएको छ । यसमा खास कारण के छ ?
पछिल्लो समयमा धेरै कथा, उपन्यासहरु पढ्दा, फिल्म हेर्दा ती सबैमा सम्बन्धले कथा निर्माण हुने रहेछ अथवा कथाले सम्बन्ध निर्माण गर्ने रहेछ । हामीचाहिँ कथा वा नाटकहरु लेख्दा सम्बन्ध बढी घटनाहरु लेखिरहेको हो कि ? घटनाले मानवीय सम्बन्धहरुमा पारेको प्रभावहरु नलेखेर घटनाहरुबारे मात्र लेखिरहेको हो कि भन्ने मैले लेखिरहेको अन्य नाटकहरुमा पनि मलाई लागेको हो ।
तर ठ्याक्कै त्यही नहुन पनि सक्छ । मानवीय सम्बन्ध भनेको विश्वव्यापी कथा हो । त्यसैले यो झन भन्न जरुरी छ । मुद्दाका विषयमा हामीले धेरै नाटकहरु गरिरहेका छौं । यसलाई निश्चित ठाउँका मान्छेले मात्र बुझ्ने भए । तर विश्वव्यापी कथा भनेको मानवीय संवेदनाकै हो । सिरियामा युद्ध हुँदा हामी यहाँ फोटो हेरेर रुन्छौं । त्यो भनेको विश्वव्यापी मानवीय संवेदना हो । यसले चाहिँ मानवीय भावनाको विकास पनि गर्छ । त्यस्तो कथाहरु बढी गर्नुपर्छ भन्ने मलाई लागेको हो ।
मानवीय संवेदनामा महिलाको कोख र गर्भावस्थाको मानसिक उतारचढावका पक्षहरु महिला लेखनमा समेत छुटिरहेको अवस्थामा पुरुष स्रष्टा नै भएपनि उठान गर्नुभएको छ, यो लेखनको क्रममा केही कठिनाइ त भयो होला नि ?
कलाकार र लेखनहरु भावनात्मक हिसाबले कमलो हुन्छन् भनिन्छ । मलाई त्यो हिसाबमा हुनुपनि पर्छ जस्तो लाग्छ । सानो सानो कुरा र घटनाहरुले मलाई पनि छोएको छ र छुन्छ । त्यसकारण पुरुष, महिला भन्दा पनि हामीभित्र कति संवेदना छ भन्ने कुरा हो । प्राकृतिक हिसाबमा महिलामा मानवीय संवेदना बढी हुन्छ ।
किनकी प्रकृतिले नै महिलालाई कोमल र संवेदनशील बनाएको छ । तर पुरुषमा हुँदै नहुने भन्ने चाहिँ होइन । तर हाम्रो समाजमा पुरुषले संवेदनाको केही कुरा ग¥यो भने कस्तो केटी मान्छे जस्तो भनेर भनिदिन्छ । यसमा डिस्क्रिमिनिसन छ । तर लैङ्गिक हिसाबले भन्दा पनि संवेदनालाई महसूस गर्न सक्ने मान्छे चाहीँ म हुँ । महिला र पुरुष सम्बन्ध भएको कथाहरुमा महिला पात्र भएकोमा महिलाका कथाहरु कमै छन् । अर्को कुरा श्रीमानश्रीमतीको सम्बन्धमा धेरैजसो कथाहरु झगडा मात्र हुने, होच्याउने, महिला र पुरुष भनेर भेदभाव गर्ने क्लिसे खालका हुन्छन् ।
हामी पछिल्लो समय त सहअस्तित्वका कुरा पनि गरिरहेका छौँ । महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा त सदिऔंदेखि भन्दै आएका छौं तर समाजमा यो छैन । हामीले दुईवटा पाङ्ग्रा मात्र भन्यौं तर त्यसको गुणस्तर, आकार र अधिकारका कुरातिर कहिल्यै गएनौं । बराबर त भन्यौं तर सम्मान र माया व्यवहारमा भएन ।
नाटकले बढी सम्बन्धलाई केलाउँछ कि संवेदनालाई ?
नाटकले सम्बन्धसँगै संवेदनालाई केलाउँछ । तर सम्बन्धबाट नै बन्ने संवेदना हो । यो चाहिँ सहअस्तित्वलाई खोजी गर्ने पात्रहरुको कथा हो । यही नाटकमा पनि श्रीमान्ले सहअस्तित्वलाई स्वीकार नगर्ने भएको भए सम्बन्ध मात्र होइन यो कथा नै बन्दैन थियो ।
तपाईंको आफ्नै दाम्पत्य जीवनको भोगाइ र लेखकका हिसाबले सम्बन्धमा संवेदनाले कति प्रभाव पार्ने रहेछ ?
मान्छेको जीवनमा संवेदना भन्ने कुराले एकदमै प्रभाव पार्छ । जब मान्छेमा संवेदना सकिन्छ, तब सबै कुरा सकिन्छ । दाम्यत्य जीवनको सम्बन्ध अन्य सम्बन्धभन्दा फरक छ । विवाहको सम्बन्ध त हामी आफैंले निर्माण गर्ने हो ।
जस्तो आमाबाबुको सम्बन्ध प्राकृतिक रुपमा निर्माण भएर आउँछ । त्यसकारण मेरो विचारमा विवाह सम्बन्ध अस्थायी हो, तथापि दुवैको माया, प्रेम, सद्भाव र सम्मानले त्यसलाई स्थायी बनाउन प्रयत्न गर्ने हो । होइन भने यो जतिबला जोडिन र छुटिन सक्ने सम्बन्ध हो । एकले अर्काको भावनात्मक बुझाइले नै लामो समयसम्म जाने हो ।
यो सम्बन्धको स्थायीत्वका लागि दुवैको लामो समयसम्म प्रयत्न चलिरहन्छ । यो सम्बन्ध प्रेममात्र होइन, एक अर्काबिचको सम्मान र आत्मसम्मानले टिकाउँछ ।
दाम्पत्य जोडीहरुले यो नाटकबाट के कुरा सिको गर्न सक्छन् ?
दाम्यत्य जोडीले मात्र होइन, यो नाटक सबैले हेर्नुपर्छ । नाटकमा ठ्याक्कै यही कुरा सिकाउँछु भन्ने छैन । तर यसमा सन्तान चाहिरहेको तर स्वास्थ्य मेडिकल समस्याबाट गुज्रिएको दम्पतीको कथा छ । यही समस्याले सम्बन्धको चर्चा भएको छ । यसमा मुख्य सहअस्तित्वकै कुरा छ । महिला र पुरुष जो भएपनि उसको शरीरमाथिको अधिकार त स्वयम् उसैलाई हुन्छ ।
यस हिसाबले पनि यसमा बहस भएको छ । तर महिला र पुरुषको सहअस्तित्वको बहसतिर हामी धेरै गएका छैनौं । यदि सहअस्तित्व भएमा के हुन्छ भन्ने कुरा चाहिँ देखाउन खोजेको हो । सहअस्तित्व भएन भने भन्दा पनि भएमा एक अर्काको विश्वास र सम्मानको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने कुरा देखाइएको छ ।
बालसाहित्यको सिर्जनाहरुमा बाल संवेदनालाई खोजिरहेको तपाईं जस्तो सर्जकलाई वयस्क उमेरतिर त्यही कुरा खोजी गर्दा कति अन्तर हुने रहेछ ?
संवेदना त सबैको उस्तै हो । तर बालबालिकाहरुमा समाज, उमेर र अनुभवको हिसाबले कम हुन्छ । संवेदनालाई केलाउँदा बालबालिकाहरुमा केही चुनौती हुन्छ । यो नाटकमा कथा सन्तानसँग जोडिएको छ ।
तर नाटक वयस्कलाई भनिएको छ । यो नाटक हेर्दै गर्दा बालबालिकाको क्षेत्रमा काम गरिरहेको मान्छेको काम हो भनेर तपाईंले थाहा पाउन सक्नुहुन्छ । यहाँ नजन्मिएको भएपनि पात्रका रुपमा बच्चा पनि छ । त्यसकारण बच्चा र महिलाका लागि प्रयोग भएका शब्दहरुलाई ध्यान दिइएको छ ।
नाटकमा पछिल्लो समयमा गर्भावस्थालाई उत्सवका रुपमा मनाउने प्रचलनका केही अंशहरु समावेश छन् । यसलाई पश्चिमा संस्कृति भनेर आलोचना गर्नेहरु पनि छन् । यो पक्षमा चाहीँ कति सचेत हुनुभएको छ ?
यो पक्षमा एकदमै सचेत छ । यसमा राइटरको विचार, विमर्श र आइडोलोजी पनि हुन्छ । त्यसकारण लेखन र निर्देशनमा विचारहरु त आइ नै हाल्छन् । यसमा लेखक र निर्देशक एउटै भएपनि फरक कुरा आएका छन् । एउटै मान्छे भएकोले आइडोलोजी चाहिँ मिल्न आउँछ । अहिले बेबी पम्प फोटोसुटको कुराचाहीँ हाम्रो जस्तो समाजमा उपभोक्तावादी सोच बढी हाबी भएको छ । यस पक्षमा पनि मैले नाटकमा बहस गरेको छु ।
लेखकले दुवै मात्रहरु मार्फत यसमा बहस गरेका छन् । मैले थिएटरको बुझाइमा सिकेको भनेकै इमान्दारिता हो । त्यसैले व्यवहार र लेखनमा उस्तै होस् भन्ने पक्षमा म छु । बेबी पम्प फोटोसुट एक जनालाई मन परेन भन्दैमा अरुलाई मन नपर्ने होइन । यो गर्नै नहुने पनि होइन । तर यो आफैंमा एउटा उत्सव भन्दा पनि उपभोक्तावादी सोचतिर उन्मुख भइरहेको देखिन्छ । आफैंलाई भन्दा पनि हामी अरुलाई देखाउन पो गरिरहेका छौं कि । होइन भने आफ्नो छोराछोरीलाई राम्रो होस् भनेर कामना गरेर दही चिउरा खुवाउने संस्कृति हाम्रो चलिआएकै छ ।
अहिले बेबी बम्प फोटो सुटकै लागि खर्च, फोटो स्टुडियो सबै कुराको तनाव छ । समस्या भनकै यसैको हो, बेबी बम्पको होइन । यसको इतिहास हेर्ने हो भने कसैको व्यक्तिगत अनुभूतिका लागि यो फोटोसुट गरेको थियो । त्यसकारण यसमा हरेक मान्छेको खुसी र उत्सव कुरा पनि जोडिन्छ । यसमा अरुले प्रश्न गर्ने कुरा पनि आउँदैन ।
फिल्मको लार्ज स्केलका लागि लेखेको कथा रङ्गमञ्चतिर ल्याउँदा खुम्चियो कि खुम्चिएन ?
कथावस्तु त उही नै हो तर फिल्मतिर भए केही लम्बिन्थ्यो होला । थिएटरसम्म आइपुग्दा कथा उही पनि यसमा आएका आइडोजी र मैरै थुप्रै अनुभूतिहरु थपिएका छन् । कतिपय पुस्तकमा पढिएका कुराहरु पनि यसमा आएका छन् ।
यो नाटकको क्रममा यो पक्षको पहुँचमा पुग्नुपर्छ भनेर कुनै निश्चित वर्ग र समूहलाई सोच्नुभएको थियो ?
यो नाटक वर्गीय हिसाबमा हेर्दा मध्यम वर्गीय परिवारको कथा हो । लैङ्गिक रुपमा महिला पुरुष दुवैका लागि भनेर लेखिएको हो । महिलाको कथा बुझ्नलाई पुरुषले बढी यो नाटक हेर्नुपर्छ भन्ने मलाई लागको छ । महिलाले हेर्दा आफ्नो भावनाको पोट्रेट देख्न र पुरुषले महिलाको भावना बुझ्न सक्छन् । विवाहित पुरुषहरुले आफ्नै श्रीमतीलाई गर्ने व्यवहारको एनालाइसिस गर्न सक्छन् ।
यो नाटक लेखनबारे आम नाट्यप्रेमीहरुलाई के भन्न चाहनुहुन्छ ?
यो नाटक मैले मनले लेखेको नाटक हो । यो नाटक लेख्दा म आफैँ कतिपय ठाउँमा रोएको छु । आठ– नौ वर्षदेखि मनमा बसेको कथालाई नाटकको रुपमा ल्याएको छु । म कविता हुँदै अभिनयबाट लेखनमा आएको हुनाले क्यारेक्टरमा छिरेर लेखिन्छ । नाटकमा दुई वटा मात्र क्यारेक्टर भएकोले यसमा झन छिर्न सजिलो भयो ।
धेरै क्यारेक्टर भएको भए त्यसभित्र छिर्न गाह्रै हुन्थ्यो होला । त्यसैले यसमा महिला र पुरुष दुवैको प्रस्पेक्टिभबाट छिर्दा लेखकलाई तनाव दिएको छ । दुवैको हिसाबले सोच्दा एउटा न एउटा पक्ष गुमाउने तनाव यसमा छ । त्यसकारण भावनात्मक हिसाबमा पनि यो नाटक लेखन मनबाट नै भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया