काठमाडौँ– ‘पुजार सार्की’ निर्माण गरी सफलता हासिल गरेको फिल्म निर्माण कम्पनी किङ्डम नेटवर्कले आफ्नो दोस्रो फिल्म ‘फ्र्याक्चर’को छायाङ्कन सकिएको छ ।
यो फिल्मको प्रायः दृश्यहरू नेपालमा छायाङ्कन गरिएको छ । फिल्मका करिब ७० प्रतिशत दृश्यहरू काठमाडौँ, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म पुगी छायाङ्कन गरिएको छ ।
एक जना अमेरिकी सैनिक ज्याक स्टेन्टन नामक पात्रको वरिपरि घुम्छ यो फिल्मले उसले आफ्नो नेपालमा हराएको साथीलाई बचाउन गरेको नेपालको सगरमाथा क्षेत्रको खतरनाक यात्राको कथा भन्छ ।
अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरेको यो फिल्म पूर्ण रूपमा अङ्ग्रेजी भाषामा रहेको छ ।
नेपालका अभिनेता आर्यन सिग्देलसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टको प्रमुख अभिनय रहेको छ । यस फिल्ममा बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायत अन्य नेपाली कलाकारहरूले पनि काम गरेका छन् ।
ट्रेन्टन हलिउड अभिनेता हुन् । उनले ‘हलिउड किल्स,’ ‘अन्डर द वेस्टर्न सन,’ ‘सिरोनिया,’ ‘द रेड, ब्ल्याक एन्ड ब्लोन्ड: गड सेभ,’ ‘बिटविन किंग्स एन्ड क्विन्स,’ ‘लस एन्सिनोस’ लगायतका फिल्म र दर्जनौँ टेलिभिजन शृङ्खलामा अभिनय गरेका छन् ।
यस फिल्मको निर्माणमा क्रिश बेरुटी, हिमाल आरोहण विशेषज्ञ एन्ड्रयु ह्युज, दुई पटक एमी पुरस्कार विजेता निर्माता गर्रेट म्याडिसन लगायतको पनि सहभागिता रहेको छ । फिल्मको लेखन यसका निर्माता क्रिश बेरुटीले नै गरेका छन् ।
फिल्मका सिनेमाटोग्राफर डकोटा डियल हुन् । उनले ‘आर्मी अफ द डेड,’ ‘नेक्स्ट अफ किन,’ ‘एनएफएल ३६०: द गिफ्ट अफ गाबा’ लगायतका फिल्मको छायाङ्कन गरेका छन् ।
यो फिल्म कहिले रिलिज गर्ने भन्ने विषयमा भने अहिले नै तय नभएको पनि विश्वव्यापी रिलिजको लागि छलफल भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
गत जेठ १० गते रिलिज भएको किङडम नेटवर्कको पहिलो फिल्म ‘पुजार सार्की’ले नेपालमा मात्र करिब १० करोडको व्यापार गरेको थियो भने विश्वव्यापी रूपमा रहेका नेपाली समुदायबीच रिलिज भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया