मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिमालको दृश्य नियाल्न मार्दीको पदयात्रा

काठमाडौँ– सेताम्मे हिमाल, प्रकृतिको अनुपम दृश्यमा रमाउन कसलाई पो मन नहोला र !

हामीमध्ये अधिकांश हिमाल र हिउँ भनेपछि हुरुक्कै भइहाल्छौँ । त्यसमाथि आफ्नै आँखा अगाडि हातले स्पर्श गर्न हिमालको वरिपरि पुग्ने रहर सायद सबैको हुन्छ ।

यदि तपाई पनि यस्तै यात्राको खोजीमा हुनुहुन्छ भने मार्दी हिमालको पदयात्रा राम्रो गन्तव्य हुन सक्छ ।

पदयात्राको क्रममा यहाँ हिमाल र हिउँ मात्रै देख्नुहुन्न । हिमालसँगै हिउँले छोपिएका हिमाल, सुन्दर डाँडाकाँडा, बस्ती र हरिया वनजङ्गलहरु देख्न पाउनुहुन्छ ।

यी सबै प्राकृतिक दृश्यको समीश्रणबाट पदयात्रीले बेग्लै आनन्द लिन सक्छन् । यात्रामा काठमाडौँबाट सवारी साधनबाट शुरु भएको यात्रा प्राकृतिक दृश्यसँगै पदयात्रामा सम्पन्न हुनेछ ।

काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै पोखरा, धम्पुस वा अस्ट्रेलियन क्याम्प हुँदै देउराली र फरेस्ट क्याम्पमा पुग्न सक्नुहुन्छ । यहाँ जानको लागि धम्पुस र अस्ट्रेलियन क्याम्पलाई विकल्पको रुपमा लिन सकिन्छ । तर अस्ट्रेलियन क्याम्पको बाटो केही रुपमा छोटा हुन सक्छ ।

यहाँसम्म पुग्नको लागि तपाईंलाई कम्तीमा पनि एक दिन लाग्न सक्छ । नत्र पोखरा पनि तपाईंको घुम्ने रोजाइमा पर्छ भने त्यहीँ एक रात बास बसेर पनि अर्को दिन मार्दीको यात्रामा जान सक्नुहुन्छ ।

सामुन्द्रिक सतहबाट २१०० मिटर उचाइमा रहेको देउरालीसम्म तपाईं आफ्नो बाइक वा स्कुटरबाट पनि पुग्न सक्नुहुन्छ । तर ठाउँ ठाउँमा भएका केही कच्ची बाटोले यात्रामा केही असहजता पैदा गर्न सक्छ । फरेस्ट क्याम्पबाट तपाईंले पदयात्रा गर्नुपर्छ ।

फरेस्ट क्याम्पबाट लो क्याम्प हुँदै बादलडाँडा, हाईक्याम्प, भ्यु पोइन्ट हुँदै मार्दी हिमालको आधार शिविरमा पुग्न सकिन्छ । सामुन्द्रिक सतहबाट ४५०० मिटर उचाईमा रहेको शिविरबाट करिब आधा दर्जनभन्दा बढी हिमाललाई छुने सक्ने गरी आँखाबाट नियाल्न सकिन्छ ।

यहाँ जानको लागि बाटोमा सुविधा सम्पन्न होटेलहरु सञ्चालनमा रहेका छन् । ती होटेलहरुमा खानासँगै बासको पनि व्यवस्था गरिएको छ । अझ तपाईं अग्रिम बुकिङ गरेर जानु भएमा थप सहज हुन्छ । सिजनको समयमा यात्रा गर्न होटलमा ठाउँ नपाउने समस्या हुन सक्छ ।

मार्दी हिमालको पदयात्रा छोटो दूरीमा पनि पूरा गर्न सक्ने भएकाले युवासँगै किशोर र पाका उमेरको पनि रोजाइमा पर्ने गरेको छ ।

करिब छ देखि सात दिनको यात्रामा मार्दी हिमालको पदयात्रा सम्पन्न गरी काठमाडौँ फर्कन सक्नुहुन्छ । छोटा यात्रामा पनि हिमाललाई नजिकबाट देख्न सकिने भएकोले पछिल्लो समय मार्दी शिविर पहिलो रोजाइमा पर्दै आएको छ ।

यहाँ जानको लागि तपाईंले प्रतिव्यक्ति तीन देखि चार हजार रुपैयाँसम्म खर्च छुट्याउनुपर्ने हुन्छ ।

सानो बजेट र छोटो दिनको यात्रामा अन्नपुर्ण हिमाल, मार्दी हिमाल, माछापुच्छ्रे, गंगापूर्ण, धौवलागिरी, गन्धर्व लगायत हिमाललाई नजिकबाटै नियाल्न सक्नुहुन्छ । यी सबै हिमाललाई एकमुष्ट दर्शन र अवलोकन पनि गर्न सक्नुहुन्छ ।

सेताम्मे हिमालसँगै बिहानै सूर्य उदायसँगै राताम्मे बन्ने हिमालले तपाईंको मनलाई थप लोभ्याउँछ । अझ हिमालसँगै लुकामारी खेल्दै आउने बाँदलले तपाईंको मनलाई रोमाञ्चित बनाउँछ । ती हिमाल र बादलसँग तपाईंलाई पनि लुकामारी खेल्न मन लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?