भक्तपुर – पर्यटन विकासका लागि मध्यपुर महोत्सव २०८१ हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले पुस १२, १३ र १४ गते महोत्सव गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।
सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले भक्तपुर, चाँगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारको रूपमा रहेको काठमाडौँ उपत्यकाको केन्द्रभागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्त्विक एवम् सांस्कृतिक सम्पदाले सुसम्पन्न भएको र यही कारण आन्तरिक तथा वाह्य पर्यटकलाई मध्यपुर थिमि नगर भित्राउन महोत्सव गर्न लागेका बताए ।
थिमि र खोदेजस्ता लिच्छविकालिन बस्तीको साथै नगदेश, तिगनि, निकोसेरा र लोहँकीथलि लगायतका ऐतिहासिक बस्तीहरू रहेको यस नगरको कला, संस्कृति, परम्परागत पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्त्विक सम्पदा र मौलिक जीवनशैलीले पर्यटकीय आकर्षण बढ्दै गएको उनले बताए ।
झण्डै ७५० को संख्यामा सानाठूला मूर्त सम्पदा एवम् १०० भन्दा बढी अमूर्त सम्पदाहरू रहेको यस नगरपालिकाको ३२ खतको विस्काजात्रा, म्ये प्वाः खनिगु (जिब्रो छेड्ने) जात्रा, लोकेश्वर जात्रा, द्यःप्याखं (नीलबाराही गण नाच) जात्रा, पुलुकिसी जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखें (इन्द्र अप्सरा नाच) विशेष रूपले चर्चित रहेको उनले जनाए ।
त्यसै गरी तिकिंबजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुण्डो जस्ता परम्परागत पेशा र उत्पादनले यस नगरलाई सुपरिचित बनाएको उनको भनाई छ ।
महोत्सवलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न स्रोतबाट व्यहोर्ने गरी करिब २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवलाई करिब ५ लाख स्वदेशी एवम् विदेशी आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहिलो पटक बि.सं. २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा मध्यपुर महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गरी दीर्घकालीन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको जनाइएको छ ।
स्थानीय मौलिकतालाई केन्द्रमा राखेर सञ्चालन गर्न लागिएको यस महोत्सवलाई एउटा जीवन्त र दिगो पर्यटनमुखी बनाइने विश्वास गरिएको छ ।
महोत्सव मुख्य गरी थिमि शंखधरचोकदेखि नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक बस्तीक्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलको रूपमा प्रस्तुत गरिने जनाइयो । यसरी यो महोत्सव करिब ५.५ किमी लामो क्षेत्रमा सञ्चालन हुने जनाइएको छ ।
विषयगत रूपमा महोत्सवमा स्थानीय कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, सम्पदा र जीवनशैलीको जीवन्त अवलोकन र अनुभव गर्न सकिनेछ भने महोत्सवलाई सबै उमेर समुह (वृद्ध, वयस्क, युवा, बालबालिका), विशेषज्ञ, नेवारी परिकारका पारखी आगन्तुकहरूको रुचिलाई केन्द्रमा राखी महोत्सव डिजाइन गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया