काठमाडौँ – दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ आजदेखि शुरु भएको छ ।
नेपाल महर्षि वैदिक फाउन्डेसनद्वारा आयोजित महायज्ञ नेपाली कर्ताकै सहयोगबाट भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ ।
महायज्ञ भावातित ध्यान एवं सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट सुरु भएको हो । यसरी नेपालमा पहिलो अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए ।
‘यज्ञ र योगलाई संसारभरमा शान्ति स्थापना गर्ने माध्यमका रूपमा अगाडि सारिएको छ । यसबाट नेपालसहित विश्वभर शान्ति, सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ’, उनले भने ।
फाउन्डेसनले विसं २०७० देखि देशभरका करिब १०० वैदिक गुरुकुलमा भावातित ध्यान एवं सिद्धि साधनासहित यज्ञ गर्दै आइरहेको छ। महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित बुधबार शोभायात्रा गरिएको थियो ।
विज्ञान महासम्मेलन हुने
महायज्ञकै दौरानमा तीन दिने वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन सुरु हुँदैछ । महासम्मेलनमा युरोप अमेरिकालगायत देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
भृकुटीमण्डपमा बुधबारदेखि २५ गतेसम्म आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गरिएको छ । मेलामा ५० अग्र्यानिक तथा प्राकृतिक उत्पादनका कक्ष राखिएको छ ।
नेपालको अग्र्यानिक तथा प्राकृतिक कृषि उपजको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा मेलाले टेवा पुग्ने मेलाका संयोजक शान्ता बाँस्कोटा कोइरालाले जानकारी दिए । उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको उनले सुनाए ।
मेलामा करिब रु ३० लाख खर्च हुने र झन्डै रु एक करोडको कारोबार हुने अनुमान गरिएको छ । मेला सञ्चालनका लागि फाउन्डेसनको सहयोग रहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया