मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्ममा लोकशैलीका गीतको दबदबा

काठमाडौँ– अशोक थापा मगरको लेखन तथा निर्देशनमा अघिल्लो महिना रिलिज भएको फिल्म ‘खुस्मा’को जति चर्चा भयो, त्यो भन्दा बढी फिल्ममा समावेश गीतको भयो ।

फिल्ममा समावेश ‘रुकुम मैकोट’ गीत फिल्म रिलिज हुनुपूर्व नै आम श्रोता दर्शकको दिल र दिमागमा बस्यो । डेढ महिनादेखि युट्युवको ग्लोबल ट्रेन्ड्रिङमा रहेको यो गीत मङ्लबारसम्ममा ८३ औं स्थानमा छ । सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा स्वर एसडी योगी र शान्ति श्री परियारले दिएका छन् । गीतमा सङ्गीत योगीकै रहेको छ ।

लोकशैलीमा तयार गरिएको गीत र भिडियोमा समेत मौलिक परिवेश देखिन्छ । यसैलाई आम श्रोता दर्शकले अत्यधिक रुचाए । त्यस्तै, फिल्म ‘छक्का पञ्जा ५’को ‘बिहे भाको छैन’ बोलको गीतलाई पनि आम श्रोता दर्शकको निकै रुचाए ।

सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको गीतमा शब्द तथा सङ्गीत दीपक शर्माको रहेको छ । गीतको शब्द रचनामा अभिनेता दीपकराज गिरी पनि छन् । त्यसैगरी हाल प्रदर्शन भइरहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ‘रैया चाँदीको’ गीतलाई पनि श्रोता दर्शकले रुचाएका छन् ।

नवराज पन्तको शब्द रचना रहेको गीतमा स्वर तथा सङ्गीत आशिष अविरलको रहेको छ । उनलाई स्वरमा साथ मेलिना राईले दिएकी छिन् । यी सबै गीतहरुमा लोकशैलीका लय र धुन नै सुन्न सकिन्छ ।

यी माथि उल्लेख गरिएका गीतमात्र नभएर पछिल्लो समयमा आएका अधिकांश फिल्ममा लोकशैलीका गीतहरु नै सुन्न सकिन्छ । दशैं ताका रिलिज भएका फिल्म ‘१२ गाउँ’लाई छोड्ने हो भने सबै फिल्ममा लोकशैलीको मिठास दिने लोक धुन समेटिएको गीतहरु नै समावेश थिए । हुन त फिल्ममा लोकशैलीका गीतहरुले प्रवेश भएको अहिले मात्र होइन । ५० को दशकमा नै फिल्ममा छाएका लोकशैलीका गीतहरु अत्यन्तै लोकप्रिय छन् । ५० को दशकको मध्यतिर आएको फिल्म ‘गाउँले’ मा समावेश भएको ‘गोली सिसाको’ बोलको गीतको मिठास अझै उत्तिकै सुमधुर लाग्छ । त्यस्तै, फिल्म माइलीको ‘बाँझो खेतमा’ बोलको गीत अझै पनि आम मानिसको मन मुटुमा बसेको छ ।

फिल्ममा लोकशैलीका गीत सिर्जनामा ६० को दशक अझै उर्वर रह्यो । यो दशकमा सर्जक राजनराज शिवाकोटीले एकछत्र जस्तै राज गरे । ‘कुटुमा कुटु,’ ‘सुर्के थैली खै,’ ‘टाकन टुकन,’ ‘पूर्व पश्चिम रेल,’ ‘चरी चट्ट परी’ जस्ता उनका गीतहरु सर्वाधिक हिट नम्बरमा परे । फिल्मका यी गीतहरु सुनेका नयाँ पुस्तामा समेत लोक सिर्जनाप्रति चासो बढ्यो । शिवाकोटीले लोक गीतको फ्लेबरसँगै ठेट मौलिक लोपोन्मुख शब्दहरुलाई गीतमा प्रयोग गरे । हिन्दी तथा पपगीतहरुको दबदबाले थिचिरहेको युवा पुस्ताका लागि उनका गीतहरु मौलिक लयको तिर्खा मेटाउने आधार नै बनेको थियो । यसरी मौलिक संस्कृति र परम्पराको आधार शिलामा टेकेर सिर्जना भएका गीतहरु हालसम्म पनि फिल्ममा छाइरहेका छन् ।

फिल्मको कथावस्तु अनुसार लोकशैलीका गीतहरु आइरहेका छन्: गीतकार एव्म सङ्गीतकार अर्जुन पोखरेल

आधुनिक होस् या लोकलयका गीत र सङ्गीत सिर्जनामा सशक्त सर्जकभित्र पर्छन्, गीतकार एव्म सङ्गीतकार अर्जुन पोखरेल । पछिल्लो हिटलिस्टमा परेको फिल्म ‘१२ गाउँ’मा समावेश गीत ‘सिनेमा हेर्न जाउँ’ मा पोखरेलकै शब्द तथा सङ्गीत रचना रहेको छ ।

त्यस्तै, फिल्म ‘ज्वाइँ साब’को गीत ‘कसम बत्तीको’मा पनि उनकै सङ्गीत समावेश छ । पछिल्लो समयमा आएका लोकशैलीका गीतहरु फिल्मको कथावस्तु अनुसार आइरहेको उनी सुनाउँछन् । फिल्ममा समेत मौलिक कथाहरु आएपछि लोकशैलीका गीतहरुको माग बढेको उनको भनाइ छ ।

‘अहिले हेर्ने हो भने चलचित्रको कथावस्तु कस्तो बनेको छ, त्यही अनुसार गीतसङ्गीत सिर्जना भर पर्छ,’ उनी भन्छन्, ‘पछिल्लो चलचित्रहरुको माहोल हेर्ने हो भने कथाले लोकशैलीका गीतहरु नै मागेको देखिन्छ । पहिला रिदमिक शैलीका गीतहरु हुन्थे भने अहिले सफ्ट खालका लोकगीतहरु आइरहेका छन् ।’

फिल्म ‘खुस्मा’मा समावेश गीत फिल्मको प्रचारसँगै मौलिक परिवेशमा र फिल्मको कथावस्तु बुझ्नलाई समेत उत्तिकै प्रयोग भएको उनको बुझाइ छ । केही समय अघिसम्म मात्र फिल्ममा एउटा नाच्ने गीत छनोट गर्दा लोक गीत नै प्रयोग गर्ने परिपाटी रहेपनि अहिले फिल्मको कथावस्तु अनुसार पनि गीत प्रयोग गरिएको उनी बताउँछन् ।

फिल्मकै गीतमा फिल्मको प्रचारका लागि पनि जनजिब्रोमा झुण्डिने एउटा गीत राखिदिने प्रचलन समेत सिने क्षेत्रमा छ । यसमा पनि लोकशैलीकै गीतहरु पर्छन् । यसले पूर्वीय लोक संस्कृतिको संरक्षण र जगेर्ना त गर्छ नै आम मानिसको भोगाइ अनि कथा समेत चित्रण गर्ने पोखरेलको भनाइ छ ।

उनी भन्छन् ‘लोकगीतमा पूर्वीय संस्कृति, परिवेश र हामीले भोगेको यथार्थ कथाहरु आउँछन् । हाम्रै कथा सिनेमाको लार्ज स्केलमा आउँदा आम मानिसहरुले निकै रुचाउनुभएको छ ।’

सिनेमामा आएका गीतसङ्गीतको चर्चापरिचर्चा भएपनि यसका सर्जकहरु भने मारमा परिरहेको गुनासो उनी गर्छन् । उनका अनुसार फिल्म निर्माण पक्षले गीत रिलिज गर्ने पक्षलाई जिम्मा दिएपछि गीतले बजारमा राम्रै प्रभाव पारेपनि सर्जकहरुले ‘मेरो सिर्जना हो’ भनेर भन्न पाउने अवस्था अहिले छैन ।

उनकै भनाइमा सिनेमाका लागि गीत लेख्ने सर्जकहरु बन्धक जस्तै हुन्छन् । आफ्नो सिर्जना अरुले लै अधिकार लिएर रिलिज गरेर आर्थिक फाइदा लिँदा समेत उनीहरु टुलुटुली हेरिरहन बाध्य छन् । यस्तो अवस्थाले सिनेमामा आएका अहिले चर्चित लोकशैलीका गीतहरुले निरन्तरता पाउला या नपाउला भन्ने अवस्था यकिन नभएको उनी सुनाउँछन् ।

उनी भन्छन्, ‘सिनेमामा गीत लेखेपछि कपि राइटको कुराबाट सर्जकहरु मारमा छन् । यसले गर्दा युवा पुस्तालाई छोड्ने हो भने राम्रा गीत सिर्जना गर्नेहरुमा वितृष्णा छ । सिनेमामा बनिरहेको यो गीतसङ्गीतको माहोल कहाँसम्म फस्टाउने हो, थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?