काठमाडौँ – फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बलियो वर्ड अफ माउथ पाउँदा अनपेक्षित रूपमा दर्शकको साथ पाएको छ ।
पहिलो दिन पाएका शो पनि हाउसफूल नभएको सिनेमाले दोस्रो दिनको मध्याह्नपछि देखि दर्शकको साथ पाएको हो । योसँगै फिल्म व्यावसायिक सफलतातर्फ उन्मुख भएको छ भने प्रत्येक शो हाउसफूल भएपछि हलहरूले शो थपिरहेका छन् ।
प्रत्येक मल्टिप्लेक्सले अहिले यो चलचित्रलाई सुरुका दिनमा दिएको शोमा दोब्बरभन्दा धेरै शो उपलब्ध गराएका छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ले बलिउडका ठूला दुई चलचित्र ‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’लाई पनि पछि पारेको छ । यी दुई चलचित्रले भन्दा ‘पूर्ण बहादुरको सारङ्गी’ले आज धेरै शो पाएको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’मा दर्शकको उच्च चाप देखिएपछि हलहरूले राति अबेरसम्म शो निकालेका छन् । धेरैजसो शो फिलिङ फास्टमा गएपछि मध्यरातसम्मका शो ‘पूर्ण बहादुरको सारङ्गी’लाई हलहरूले निकालेका हुन् ।
यसैबीच, फिल्मको निर्माण संस्था सेभेन सिज सिनेमा तथा बाँसुरी फिल्म्सले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ लाई व्यापक शो समर्थन दिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
विज्ञप्तीमा भनिएको छ– ‘हामीले यसरी पाएको समर्थन आगामी दिनहरूमा पनि निरन्तर रहोस् र नेपाली चलचित्रहरूप्रति पनि यस्तै उत्साह र साथ प्रदान होस् भन्ने आशा गर्दछौँ । हाम्रो चलचित्रमा निरन्तर साथ, सहयोग र माया देखाइरहनु हुने सम्पूर्ण दर्शकहरूप्रति विशेष आभार प्रकट गर्न चाहन्छौँ ।,
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया