म्याग्दी– व्यापारिक नाका र पर्यटकीय गन्तव्य बनेको चीनतर्फको सिमानामा अवस्थित मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ ।
समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइको कोरला नाकाको नेपालतर्फ खानेपानी र शौचालय अभावका साथै फोहोर व्यवस्थापनसमेत भएको छैन ।
कोरला नाका घुम्न गएकी पोखराकी रक्षा श्रेष्ठले व्यवस्थित सार्वजनिक शौचालय नहुँदा झाडी खोज्नुपर्ने समस्या रहेको गुनासो गरेकी छन् ।
‘एउटा सार्वजनिक शौचालय भए पनि फोहोर भएकाले प्रयोग गर्न नमिल्ने भएको रहेछ,’ उनले भनिन् ‘पानीको पनि सुविधा नभएकाले झाडी खोज्नुपर्दा असहज भयो ।’
नेचुङस्थित सशस्त्र प्रहरी बलको बीओपीका अनुसार असोजयता दैनिक तीनसय हाराहारीमा बस, जिप र मोटरसाइकलमा हजारौँ आन्तरिक पर्यटक कोरला नाका पुगेका छन् ।
छोसेरदेखि माथि कोरलातर्फ विदेशी पर्यटकलाई निषेध गरिएको छ । आन्तरिक पर्यटकलाई पनि नेचुङभन्दा माथि क्यामेरा लैजान र कोरोला नाकामा चीनतर्फ फर्किएर तस्बिर खिच्न रोक लगाइएको छ ।
सुक्खा मरुभूमिजस्तै समथर फाँट, पृष्ठभूमिमा देखिने हिमाल र सीमापारि चीनले बनाएका संरचना हेर्न तथा किनमेलका लागि नेपालीहरु कोरला नाका पुग्ने गर्छन् ।
मोटरसाइकल चढेर कोरला नाका पुगेका पोखराका सौरभ गौतमले सूचनामूलक होडिङ बोर्ड र फोहोर फाल्ने डस्टबिन राख्नुपर्ने बताएका छन् ।
प्रदेश सरकारले सुरक्षा निकाय र आपत्कालीन आश्रयका लागि कोरलामा बनाएको १० कोठे प्रिफेक प्रविधिको अस्थायी संरचनाको भवनमा गत हप्ता अध्यागमन कार्यालय स्थापना भएको छ ।
अध्यागमन कार्यालय स्थापना गर्नुअघि कोरला नाकामा मोबाइल, इन्टरनेट र विद्युत् सुविधा विस्तार भएको थियो ।
कोरलामा ब्यवसाय गर्दै आएका लोमान्थाङ–१ छोसेरका छिरिङ ल्यामो गुरुङले खानेपानी र शौचालयको अभाव खड्किएको बताए । ‘चीनले कहिलेकाहीँ ट्याङ्करमा दिने पानीले पुग्दैन्,’ उनले भने, ‘१० किलोमिटर तलबाट गाडीमा पिउने पानी ओसार्ने गरिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया