काठमाडौँ – यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
भाइटीका लगाउनुभन्दा अगाडि, लगाउँदा र लगाइसकेपछि के–के कसरी गर्ने त्यसको आ–आफ्नै विधिशास्त्रीय मान्यता छ ।
कसरी लगाउने टीका ?
दिदी–बहिनीले भाइटीकाभन्दा अगावै दाजुभाइलाई निमन्त्रणा पठाउने चलन छ । यस्तै, भाइटीकाका दिन टीका ग्रहण नगरी केही खानु हुँदैन भन्ने चलन छ ।
टीकाको दिन प्रातःकालीन स्नान गरी भक्ति र अनुष्ठानपूर्वक अष्टचिरञ्जीवीको आह्वान गरिन्छ । अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय गरी आठ जनालाई अष्टचिरञ्जीवी हुन् ।
विशेषतः भाइटीकाको विधिपूर्वक पूजा गर्न ओखर, तोरीको तेल, बिमिरो, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मिष्ठान्नको प्रयोग हुन्छ ।
पूजा–विधिअन्तर्गत दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गर्ने प्रचलनको लाक्षणिक एवम् प्रतीकात्मक अर्थ हो– दिदीबहिनी-दाजुभाइको सुख-समृद्धि, आरोग्य एवं दीर्घायु ।
टीका–विधि
भाइटीका लगाउनुपूर्व सबैभन्दा पहिले दियो, कलश तथा गणेश स्थापना गरी पूजा–अर्चना गरिन्छ ।
त्यसपछि दाजुभाइको मङ्गल–माङ्गल्यको कामना गर्दै ढोकामा ओखर तथा यमराजको पूजा गरी काल छेकिन्छ । र, ओखरसमेत फुटाइन्छ । त्यसपछि पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने गरिन्छ ।
अनि क्रमशः फूल, अक्षता, अबिर, केशरी र चन्दन, पत्रपुष्प, लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिएर सगुनस्वरूप दही खुवाउने चलन छ । त्यसपछि दिदी–बहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् ।
सप्तरङ्गी टीकाको पनि आ–आफ्नै महिमा छ । रातो रङले सुख, नीलो रङले शान्ति, गुलाफी रङले समृद्धि, बैजनी रङले स्वास्थ्य, हरियो रङले दीर्घायु र पहेँलो रङ उल्लासको प्रतीक हुन् । त्यस्तै पुछारमा लगाइने राता अक्षतासहितको टीकाले उमङ्गको जनाउ दिने शास्त्रीय मान्यता छ ।
भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको आ-आफ्नै महत्त्व पनि छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधैँ हरित रहन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भइरहने विश्वास छ ।
टीकाको उपक्रम अन्तर्गत अन्तिममा दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिँदै उँचो शिरको कामना गर्दछन् । दिदीबहिनीले टीका लगाउने क्रम सिद्धिएपछि दाजुभाइले पनि चेलीबेटीलाई टीका लगाएर गच्छेअनुसार उपहार र दक्षिणा प्रदान गर्दछन् ।
दिदी–बहिनी नभए के गर्ने ?
तिहारको टीका दाजुभाइ दिदीबहिनीबिच भ्रातृत्व र सहअस्तित्वको पर्व हो । अतः दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजाआजा गर्छन् । बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।
वि.सं. २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो ।
त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, हाल पनि खञ्जनेश्वर महादेवमा भाइटीकाका दिन भक्तजनको भीड लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया