काठमाडौं– प्रसिद्ध चित्रकार केके कर्माचार्यको जीवनीमा आधारित सचित्र बाल पुस्तक ‘हिलोमा फुलेको फूल’ सार्वजनिक भएको छ ।
शनिबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नेपाल बाल साहित्य समाजले गरेको कार्यक्रममा वरिष्ठ चित्रकार हरिप्रसाद शर्मा र सुप्रिया श्रेष्ठले पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तकलाई बाल साहित्यकार विजयराज आचार्यले लेखेका हुन् । पुस्तकबारे जीबेन्द्र देव गिरी र मुकेश मल्लले समिक्षात्मक टिप्पणी गरेका थिए ।
पुस्तकबारे बोल्दै समिक्षक गिरीले पुस्तकले कर्माचार्यको जीवन बुझ्न सघाउने बताए । लेखक आचार्यले पुस्तक लेखनमा उत्कृष्ट लेखन शिल्पको प्रयोग गरेको समेत उनले सुनाए ।
पुस्तकमा कर्माचार्यको बाल्यकालदेखिको यात्रा, संघर्ष, कलाकारितासम्मको पक्षलाई समेटिएको छ ।
सामान्य परिवारबाट हुर्केका उनी कसरी कला क्षेत्रमा स्थापित भए भन्ने कुरालाई सचित्र बयान गरिएको छ । किताब बाल साहित्यका लागि असाध्यै राम्रो रहेको उनको भनाइ छ ।
मल्लले पुस्तकमा असाध्यै मार्मिक ढङ्गले कर्माचार्यको जीवनलाई वर्णन गरिएको बताए । ‘कर्माचार्य भनेको यथार्थवादी, दृश्य चित्रकार हुनुहुन्छ’ उनले भने, ‘नेपालमा ग्राफिक कम्युनिकेशनमा पनि उहाँ अग्र पंक्तिमा हुनुहुन्छ । कला संस्था विकासमा पनि उहाँको योगदान छ । मैले चिनेको ४० वर्षदेखि उहाँ उतिकै निरन्तर उतिकै सक्रिय हुनुहुन्छ ।’
पुस्तकमा पनौती, बनेपा, काठमाडौं सम्मको यात्राले बालबालिकालाई असाध्यै प्रेरणा मिल्ने उनको भनाइ छ । लेखक आचार्यले पाँच वर्षअघि पुस्तक लेखेको उल्लेख र्गै छिट्टै यसको दोस्रो भाग पनि आउने सुनाए ।
पूर्वमन्त्री तथा लेखक प्रदीप ज्ञवालीले कर्माचार्यले कला मार्फत राष्ट्रिय एकताको समेत काम गरेको बताउँदै उनले कर्माचार्यलाई सिर्जना यात्राका लागि शुभकामना दिए ।
कर्माचार्यलाई वरिष्ठ कलाकार शर्मा,पूर्व मन्त्री शंकरप्रसाद कोइराला, माननीय रघुजी पन्त, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायतकाले शुभकामना व्यक्त गरे । बाल मस्तिष्कलाई सचेतीकरणका लागि पुस्तक महत्त्वपूर्ण रहेको हार्तम्छालीले बताए । त्यस्तै, प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले कला क्षेत्रमा कर्माचार्यको ठूलो योगदान रहेकोले उनलाई सम्मान गर्नु भनेको कला क्षेत्रलाई सम्मान गर्नु रहेको धारणा राखे ।
काभ्रे पनौतीमा जन्मिएका कर्माचार्य झन्डै छ दशकदेखि कला सिर्जनामा सक्रिय छन् । उनी ललितकला प्रज्ञा प्रतिष्ठाका निवर्तमान कुलपति समेत हुन् । कला सिर्जनामा कोलाज र हुलाक टिकट डिजाइनमा समेत उनी लोकप्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया