मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यमपञ्चकको चौथो दिन मिथिला क्षेत्रमा ‘गोधन’ मनाइँदै

महोत्तरी– मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रमा आज दीपावली (तिहार) पर्वको चौथो दिन ‘गोधन’ पर्व मनाइँदैछ । यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । बस्तीमा सगोत्र बन्धुबान्धवभित्रका घरमुली महिला एक ठाउँमा जम्मा भइ मङ्गलगीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा छ ।

पर्वमा गाईको गोवरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले पूजा गरिन्छ । विघ्ननाशक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूूजाविधिमा प्रकृतिको आराधना गरिने मिथिला संस्कृतिका अध्येता साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताए ।

यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकुल नजिकको गोवर्द्धन पर्वतलाई इष्टजनसहित पूजा गरी जनहिको काम गरेको सम्झनामा मनाउन थालिएको डा विमलले उल्लेख गरे । गाई (गो) मुख्य पशुधन मानिने तत्कालीन बेला श्रीकृष्णले गोवर्द्धन पर्वतले गाई पाल्न घाँस, पानी दिएको भन्दै सबैले पर्वतलाई पूजा गर्न आह्वान गरिएकाले यसलाई परम्पराका रुपमा पूजा गर्न थालिएको मिथिला संस्कृतिका अध्येता डा।विमलले बताए । पछि गोवर्द्धन पूजा नै मिथिलामा ‘गोधन’ भन्न थालिएको हो ।

कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चक पर्वको चौथो दिन मनाइने यस पर्वमा मिथिलाका कतिपय जाती समुदायमा महिलाहरुले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन् । यो मिश्रण गाई, गोरुसहित पशुधनलाई रङ्ग्याउन प्रयोग गरिन्छ । गाई, गोरुलाई विभिन्न रङ्ग मिसाएर रङ्गाउँदा पशु सुरक्षित हुने र रोगब्याधि नलाग्ने मैथिल जनविश्वास छ ।

पर्वका दिन घरघर गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, पिना ख्वाउने र नयाँ दाम्ला लगाइदिने परम्परा छ । यस दिन घरमा पशुधन हेरचाह गर्ने गोठाला र कृषि कार्यमा सहयोगीका रुपमा रहेका हलीलाई आदर सत्कारसहित निम्ता गरेर वस्त्र फेराउने र विशेष परिकार भोजन गराई दक्षिणा दिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?