काठमाडौँ– २० औं शताब्दीका विश्व प्रशिद्ध कलाकार पाब्लो पिकासोको जति चर्चा हुन्छ, त्यति नै उनको युद्ध विरोधी सिर्जनाका रुपमा लिइने ‘गुएर्निका’ चित्रको अहिले पनि परिचर्चा हुने गरेको छ । पिकासोले सन् १९३७ मा बनाएको यो विश्वप्रसिद्ध चित्र हो । जसमा तत्कालीन राजनीतिक परिवेश र स्पेनी गृहयुद्धको विषयलाई समेटिएको छ ।
स्पेनी गृहयुद्धको समयमा बास्क प्रान्तको गुएर्निका शहरमा जर्मनीको नाजी र इटालीको फासीवादी फौजले गरेको विनाशकारी आक्रमणपछि सिर्जना भएको पीडादायी अवस्थालाई उनले चित्रमा देखाएका छन् । स्पेनी राष्ट्रवादीलाई सहयोग गर्न नाजी र फसाीवादी फौजले गुएर्निका शहरको व्यस्त बजारमा बम खसालेपछि स्थानीय जनतामा त्यसले पारेको प्रभाव र तिनको प्रतिक्रियालाई चित्रमा देख्न सकिन्छ । युद्धका त्रासदीहरूमा बाँचेका निर्दोष मानिसहरु, युद्धपछि तिनले भोगेका पीडा र उनीहरुको क्षतविच्छेद जीवनका रङहरु चित्रकलामा पिकासोले चित्रण गरेका छन् ।
राजनीतिक, धार्मिक, वर्गीय, युद्धका कारणहरु जेसुकै भएपनि २१ औं शताब्दीमा भइरहेका प्लालेस्टाइन र इजरायलको युद्ध होस् या रसिया र युक्रेनबिचको युद्धका घटनाहरुले आम निर्दोष मानिसहरुमा पारिरहेको प्रभाव अहिले पनि पिकासोको चित्रले दर्शाउँछ । जब जब विश्वमा युद्धहरु हुन्छन्, त्यतिबेला यो चित्रले युद्धको त्रासदीहरूको स्मरण गराउँदै युद्ध रोक्नका लागि आग्रह गरिरहेको हुन्छ ।
युद्धको तत्कालीन समयमा पिकासोको ‘गुएर्निका’ चित्रले प्रतिकात्मक रुपमा युद्ध विरोधी भाव अभिव्यक्त गर्दै आम नागरिकको भावना समेट्दै शान्तिको कामना गरेको पाइन्छ । छोटो समयमा नै यस चित्रलाई विश्वका विभिन्न मुलुकहरुमा प्रदर्शन गरिएको थियो । तत्कालीन युद्धले त्रासमा रहेका आम मानिसमा यसले निकै प्रसिद्धि कमायो र पिकासोको सिर्जनाकर्मको पनि व्यापक रूपमा प्रशंसा भयो । यसले स्पेनी गृहयुद्धलाई विश्वको ध्यान केन्द्रित समेत गर्ने काम गर्यो ।
‘गुएर्निका’ चित्रले समेटेको विषय, यसमा प्रयुक्त रङ, चित्रण भएका हरेक वस्तुहरुको समेत विभिन्न दृष्टिकोणहरुबाट कला समीक्षक तथा कला विज्ञहरुबिचमा व्यापक व्याख्या तथा विश्लेषणहरु भएका छन् । चित्रका इंगित गरिएको साँढे र घोडाको पनि आफ्नै अर्थ र बिम्बहरु छन् । कला इतिहासकार प्याट्रिसिया फेलिङका अनुसार साँढे र घोडा स्पेनी संस्कृतिमा महत्वपूर्ण मानिन्छ ।
त्यसकारण चित्रमा देखिएको साँढे र घोडालाई पिकासोले पात्रकै स्वरुपमा चित्रण गरेका छन् । साँढे र घोडाको सम्बन्धलाई समेत खोतल्दै यसमा पिकासोले आफ्नो कला यात्रा र करिअरलाई पनि दर्शाएको कतिपय कला विज्ञहरुले बताउने गरेका छन् । केही आलोचकहरूले भने उनको ‘गुएर्निका’ चित्रले राजनीतिक सन्देशलाई विश्वास नगरेको भन्दै चेतावनी समेत दिएका थिए ।
उनीहरुले चित्रमा देखाइएको साँढेलाई पिकासोको अहंकारको रूपमा लिएका थिए । साँढेलाई फासीवादको आक्रमणको प्रतिनिधित्वको रुपमा समेत मानेका थिए । चित्रमा प्रयुक्त घोडाले गुएर्निकाका जनताको प्रतिनिधित्व समेत गर्दछ । पिकासोले भने यसलाई क्रूरता र अन्धकारको रुपमा व्याख्या गरेका थिए । केहीले ‘गुएर्निका’लाई सम्भवतः भविष्य सूचकको स्मरण गराउने माध्यमका रुपमा लिएका छन् ।
‘गुएर्निका’ चित्रको ऐतिहासिक सन्दर्भ
प्रथम विश्वयुद्धपछि युरोपेली महादेशमा एकपछि अर्को साम्राज्य पतन हुँदै थिए । प्रथम विश्वयुद्धपछि अस्ट्रो हंगेरियन साम्राज्य, जर्मन साम्राज्य, रुसी साम्राज्य, अटोमन साम्राज्यजस्ता शक्तिशाली र ऐतिहासिक साम्राज्य पतन भइसकेका थिए । यस्तो अवस्थामा ४ दशकभन्दा लामो समय गद्दीमा रहेका स्पेनका बोर्बोँ वंशका राजा अल्फोन्सो आठौँ पनि लोकप्रिय थिएनन् ।
१९३० को दशकको शुरुमा स्पेनमा राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा राजनीतिक लहर शुरु भएको थियो । यसै सन्दर्भमा १९३१ मा त्यहाँ स्थानीय निर्वाचनको आयोजना गरिएको थियो । उक्त निर्वाचनलाई राजतन्त्रको जनमत सङ्ग्रहका रुपमा हेरिएको थियो । उक्त निर्वाचनमा गणतन्त्रवादी शक्तिलाई अपार बहुमत मिल्यो । निर्वाचनको परिणामसँगै राजा अल्फोन्सोले देश छाडेर भागे । स्पेन गणतन्त्र भयो ।
स्पेनमा गणतन्त्र आएको धेरैलाई मन परेको थिएन । धेरै स्पेनीहरु मुलुकमा गणतन्त्र आए सोभियत सङ्घको जस्तै साम्यावादी शासन स्थापना हुने, सामाजिक मूल्य मान्यता हराउँदै जाने, कुलीन वर्ग र धनाढ्यको राजनीतिक शक्ति कमजोर हुने ठान्थे । स्पेनी गणतन्त्रमा अपनाइएको संसदीय प्रणाली पनि खासै स्थायी थिएन । गणतन्त्रिक संसदमा राजावादीसँगै साम्यवादी, समाजवादी, अराजकतावादीलगायतको द्वन्द्व चलिरहन्थ्यो । हड्ताल, प्रदर्शन र राजनीतिक हिंसा पनि बढ्दै गइरहेको थियो ।
यस्तो अवस्थामा त्यहाँको सेनाले शासन हातमा लिने उपयुक्त अवसर पर्खेर बसिरहेको थियो । राजनीतिक दाउपेच र हिंसाबीच सन् १९३६ मा राष्ट्रवादी सेनाले गणतन्त्रविरुद्ध युद्ध शुरु गर्यो । त्यही युद्ध स्पेनी गृहयुद्ध कहलिन्छ । स्पेनी सेनालाई हिटलर नेतृत्वको जर्मनी र मुसोलिनी नेतृत्वको इटालीले भौतिक, आर्थिक र कूटनीतिक सहयोग गरेका थिए ।
गुएर्निका बास्कको बिस्के प्रान्तको एउटा शहर हो । बास्क क्षेत्रलाई वामपन्थी फौजको उत्तरी गढका साथै बास्क संस्कृतिको केन्द्रबिन्दु मानिन्थ्यो ।
अप्रिल १९३७ मा कर्नेल वोल्फ्राम भोन रिचथोफेनको नेतृत्वमा जर्मन कन्डोर सेनाको लडाकु विमानहरूले गुएर्निकामा लगभग दुई घण्टा बम वर्षाएर विनाशकारी आक्रमण गरे । हिटलरको नेतृत्वमा रहेको जर्मनीले तत्कालीन समयको राष्ट्रवादीहरूलाई भौतिक समर्थन प्रदान गरेको थियो । उनीहरुले युद्धलाई नयाँ हतियार र रणनीतिहरू परीक्षण गर्ने अवसरको रूपमा प्रयोग गरेका थिए ।
पिकासोको ‘गुएर्निका’ आधुनिक कलाको फाँटमा महत्वपूर्ण सिर्जनाको दस्तावेज र प्रतिमा हो । आधुनिक कालको लागि यो लियोनार्दो दा भिन्चीको ‘मोनालिसा’ कै स्थानमा राख्न सकिन्छ ।
भिन्चीले ‘मोनालिसा’मा पुनर्जागरण कालको निर्ममता र आत्मनियन्त्रणको आदर्शलाई जगाएजस्तै पिकासोले ‘गुएर्निका’ मार्फत युद्ध र मृत्युलाई देखाए । यसले प्रत्येक मानवलाई शक्तिहरुबिच गरिने द्वन्द्व, राजनीतिक अपराध, युद्ध जस्ता कुराहरुबाट मुक्त गराइ युद्ध विरोधी भावना जागृत गरेको छ ।
साङ्गीतिक लय अनि साहित्यिक लयको महाकाव्य शैलीहरूको संयोजनको रूपमा हेरिने पिकासोको यस चित्र तेल रङको माध्यममा तयार गरिएको छ । नीलो, कालो र सेतो रङमा तयार गरिएको यो चित्र ३.५ मिटर (११ फिट) अग्लो र ७.८ मिटर (२५.६ फीट) चौडाईको छ । यसलाई अहिले स्पेनको म्याड्रिडस्थित ‘म्युजियो रेना सोफिया’मा राखिएको छ ।
‘गुएर्निका’ चित्रका बारेमा रोचक तथ्यहरु
तत्कालीन समयमा ‘गुएर्निका’ चित्र राजनीतिक रुपमा पनि पिकासोको सबैभन्दा महत्वपूर्ण सिर्जना थियो । चित्रले बास्क शहरको दुःस्वप्नको सम्झनालाई जीवित बनाएर राखेको छ । पिकासो दोस्रो विश्वयुद्धको समयमा नाजीहरूले कब्जा गरेको शहर पेरिसमा थिए । तीनताका एक जर्मन अधिकारीले उनलाई पिकासोको अपार्टमेन्टमा गुएर्निकाको फोटो देखेर सोधे, ‘के यो तपाईंले गर्नुभएको काम हो ?’ पिकासोले जवाफ दिएका थिए, ‘होइन, यो तपाईंले गर्नुभयो ।’
‘गुएर्निका’ चित्र पिकासोले स्वयंको इच्छाले बनाएको सिर्जना नभएर उनको यो कमिसन कला थियो । गुएर्निकाको बम विष्फोटपछि स्पेनी रिपब्लिकन सरकारले १९३७ को गर्मी याममा पेरिस प्रदर्शनीका लागि भित्तेचित्र सिर्जनाको आयोजना गरेको थियो । पिकासोले त्यसै अन्तर्गत काम गरेका थिए । उनले यसमा युद्धले आफू लगायत आम मानिसमा पारेको प्रभाव र गहनतालाई मनबाट नै नियालेर जीवन्त रुपमा उतारे । पिकासोले गुएर्निका बम विष्फोटबारे पत्रपत्रिकाहरुमा आएको समाचारहरु पढेर नै थाहा पाएका हुन् कि भनेर पनि भन्ने गरिन्छ ।
किनकी चित्रहरुमा पत्रपत्रिकाहरुको च्यातिएका प्रिन्टहरु देखिन्छन् । भनिन्छ, पिकासोको देशभक्ति र न्यायको भावना भौतिक स्थानभन्दा माथि थियो । जतिबेला सन् १९३७ मा नाजीहरूले स्पेनको गुएर्निका शहरमा बमबारी गर्दा उनी जन्म भूमि स्पेनमा थिएनन् । उनी त्यतिबेला पेरिसमा बस्दै आएका थिए । आफ्नो जन्मस्थानमा लामो समयदेखि नफर्केका उनी विनाशकारी आक्रमणपछि महिला र बालबालिकाहरुको दर्दनाक मृत्यु र पीडाले पोलेर स्वेदेश फर्केर त्यसलाई कलामा उतारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया