जुम्ला– जुम्लाको तिला गाउँपालिका–९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थल नदै गुफालाई पर्यटन प्रवर्द्धन गरिने भएको छ ।
वडाध्यक्ष धनबहादुर रावतले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक संरचना निर्माणका लागि पालिकाले रु ८१ लाख २६ हजारको बोलपत्र आह्वान गरेको जानकारी दिए ।
गुफा परिसरमा मन्दिर पुनः निर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त ससर्त अनुदानमार्फत सो बजेट विनियोजन भएको उनले बताए ।
सङ्घीय सरकारबाट प्राप्त बजेटबाट धर्मशाला, सडकबत्ति, रेलिङ्ग र गुफाको फोटोलगायत भौतिक संरचना निर्माण गरिनेछ । वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागिसमेत सङ्घीय सरकारबाट बजेट व्यस्थापन भएको छ ।
“अलपत्रमा रहेको नदै गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ । यहाँ दुई सय मिटर लामो धार्मिक गुफा छ । परम्परागत रूपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने गरेका देख्न सकिन्छ”,उनले भने ,“यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।”
गुफा ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो रहेको छ । उक्त गुफासम्म पुग्नका लागि मोटर बाटो सहज छैन । प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्न सके बाह्य तथा आन्तरिक पर्यटक आवागमन बढ्ने र त्यसबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासी समीर बोहोराको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया