मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: लक्ष्मीपूजा

लोपोन्मुख हुँदै देवी लक्ष्मीका परम्परागत चित्र

किन हराउँदै गए परम्परागत लक्ष्मीका तस्वीर?

काठमाडौँ– बजारमा दिपावली अर्थात् तिहारको माहोल छाइसकेको छ । विशेषत: तिहारमा भाइटीकासँगै लक्ष्मीपूजाको समेत धार्मिक महिमा र विश्वास रहिआएको पाइन्छ । लक्ष्मी पूजाको दिन काठमाडौँ उपत्यकामा धनधान्य देवी लक्ष्मीको पूजा, आराधना गर्दा परम्परागत रूपमा बनाइएको लक्ष्मीको चित्र प्रयोग गर्ने गरिन्छ ।

यस अवसरमा चित्रकारहरूले घरेलु प्राकृतिक रङहरुको सहायताले काठका ब्लकहरुमार्फत छापेर हातैले परम्परागत चित्रहरू बनाउने गर्छन् । लक्ष्मीको पूजा गर्दा धन, द्रव्य अन्नसँगै परम्परागत रुपमा हातैले बनाएका लक्ष्मीको छापा चित्र राखेर पूजाआराधना गर्दा लक्ष्मी मातालाई प्रशन्न पार्न सकिन्छ भन्ने धार्मिक विश्वास समेत रहिआएको छ ।

त्यसकारण उपत्यकामा लक्ष्मी पूजाको दिन राखिने परम्परागत लक्ष्मीको चित्रको अलग्गै विशेषता र महिमा रहेको परम्परागत चित्र सिर्जनामा रहेका कलाकारहरुको भनाइ छ । यद्यपि पछिल्लो समय भने बजारमा पाइने भारतबाट आयातित पोस्टर चित्रहरुले परम्परागत लक्ष्मीको चित्रलाई विस्थापित गरेको छ ।

भारतीय बजारबाट आएका लक्ष्मीका रङ्गीचङ्गी पोस्टरहरु एक त सस्तो मुल्यमा पाइनु अर्कोतिर सुन्दर समेत देखिनाले मौलिक तथा धार्मिक संस्कृतिको आधारमा सिर्जना गरिने परम्परागत लक्ष्मीको चित्रहरु अहिले लोपोन्मुख हुँदै गएकोमा चिन्ता व्यक्त गर्छन् ।

अग्रज परम्परागत लोक कलाकार जुलुमलाल चित्रकार । ६ दशकभन्दा लामो समयदेखि कला सिर्जनामा लागेका चित्रकारले मौलिक तथा धार्मिक संस्कृतिलाई आधार बनाएर लक्ष्मी मात्र नभएर भैरव, भीमसेन, कुवेर, नाग, सरस्वती, अष्टमङ्गल, पञ्चदेव, पञ्चबुद्ध लगायतका लोक कलाकृतिहरु सिर्जना गरिरहेका छन् ।

चित्रकारका अनुसार ४० को दशकको अन्त्यदेखि नै लोककलाहरु ओझेल पर्न शुरु भएको थियो । यही मेलोमा परम्परागत लक्ष्मीको चित्र पनि बिस्तारै हराउँदै गएको उनले बताए । कला सिर्जनामा अत्याधुनिक मेसिन र प्रविधिहरु भित्रिनु र भारतबाट सस्ता मुल्यमा रङ्गीचङ्गी लक्ष्मीका पोस्टर चित्रहरु भित्रिन थालेपछि आम मानिसहरु त्यतैतिर आकर्षित भएको उनको भनाइ छ ।

‘खासमा २०४६ साल पछि नै परम्परागत लक्ष्मीको चित्र बनाउन कम हुन थालेको थियो,’ उनले भने, ‘विदेशबाट आएका अनेक रङका पोस्टर चित्रहरु पाँच/दस रुपैयाँमा नै पाइन्छ । हामीले छापेर केही दिन लगाएर बनाएको मौलिक छापा चित्र २०/२५ रुपैयाँसम्म पर्छ । यसमा पोस्टरभन्दा फिक्का रङ पनि हुन्छ । त्यसैले मान्छेहरुलाई त्यस्तै लक्ष्मीको फोटो किन्न थाले ।’

अहिले मौलिक कला र लक्ष्मी पूजाका लागि नभई नहुने परम्परागत लक्ष्मीको चित्रको महिमा बुझ्नेहरु थोरै सङ्ख्यामा मात्र उनकोमा आउँछन् । उनले भने, ‘अहिले परम्परागत लक्ष्मीको चित्र खोज्नेहरु नभएपछि बनाउन पनि धेरैले छोडिसके । अघिल्लो वर्ष एक जना मात्र मेरोमा चित्र किन्न आउनुभएको थियो ।’

पाटन मङ्गलबजारस्थित आफ्नो ‘पासा आर्ट वर्कसप’मा उनले अघिल्लो वर्ष नै बनाएको लक्ष्मीको चित्र बेच्न राखेका छन् । अघिल्ला वर्षहरुमा नै बनाएका चित्रहरु स्टक रहेकाले यो वर्ष उनले बनाउनु परेन ।

चार दशकभन्दा लामो समयदेखि उक्त पसल सञ्चालन गर्दै आएका उनले चार/पाँच दशक अगाडिको समयलाई स्मरण गर्दै भने, ‘पहिला पहिला परम्परागत लक्ष्मीको चित्र राखेर पूजा गर्दा फलिफाप हुन्छ । लक्ष्मीलाई खुसी पार्न सकिन्छ भन्ने विश्वास थियो । मान्छेहरु गाउँ–गाउँबाट आएर सय/दुई सय वटा किनेर लैजान्थे र बनाउन अर्डर गरेर जान्थे, अहिले त्यस्तो छैन ।’

पछिल्लो १० वर्षयता लक्ष्मीको मात्र होइन औंलामा गन्न सक्ने मान्छे मात्र उनको पसलमा अन्य परम्परागत कलाकृतिहरु खोज्न आउँछन् । उनको परिवारमा पनि उनी पछिका पुस्ताहरु चित्रकला सिर्जनामा छैनन् ।

एक त परम्परागत कला र सिर्जना गर्नेहरुलाई राज्यबाट प्रोत्साहन नहुनु अर्कोतिर नयाँ पुस्ताले यसप्रति चासो नदिँदा कला नै लोप हुने चिन्तामा उनी छन् ।

परम्परागत रुपमा बनाइने लक्ष्मीको चित्र मात्र नभएर काठका ब्लकहरुबाट बनाइने अन्य चित्रहरु समेत लोपोन्मुख हुँदै गएको कलाकार तथा कला लेखक एवम् समीक्षक मदन चित्रकारले सुनाए । पुर्ख्यौँली रुपमा चित्र सिर्जना गर्ने समुदाय र परिवारमा जन्मिएका उनले तिनै चित्रहरु बनाएको हेरेरै बाल्यकाल बिताए ।

समय र प्रविधिको विकाससँगै परम्परागत रुपमा बनाइने सबै चित्रहरु हराउँदै गएकोमा उनले पनि चिन्ता व्यक्त गरे ।

उनले भने, ‘मेसिनले बनाएका र पोस्टर चित्रहरुको अगाडि पुरानो प्रविधिबाट बनाएका चित्रहरु बजारमा बिक्नै गाह्रो भएको छ । त्यसैले काठमाडौँ उपत्यकामा औंलामा गन्न सकिने एकाध बाहेक परिवारले परम्परागत लक्ष्मी लगायतका चित्रहरु बनाउन छोडेका छन् ।’

परम्परागत चित्र सिर्जना र त्यसमा प्रयोग गरिने ब्लकहरु समेत लोपोन्मुख हुन थालेपछि त्यसको संरक्षणमा उनी लागेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर उपत्यकाका पुराना प्रविधिहरु र कलाकृतिहरुलाई संरक्षणकै निम्ती उनले लेखन मार्फत समेत दस्तावेजीकरण गरिरहेका छन् ।

ती पुराना सामग्रीहरुलाई सङ्कलन कार्यलाई पनि अगाडि बढाइएको उनले जोय नेपालसँगको कुराकानीका क्रममा सुनाए ।

परम्परागत रुपमा बनाइने चित्रहरुको मौलिकतासँगै धार्मिक महत्व रहेको मौलिक लोककला सिर्जनाका कलाकारहरु र विज्ञहरु सुनाउँछन् । मौलिक लोक कला सिर्जनामा सूर्यबहादुर चित्रकार, चेतकुमारी चित्रकार, लोक चित्रकार, शारदा चित्रकार लगायतका कलाकारहरुको नाम अग्र स्थानमा आउँछन् ।

लोक कलाका कलाकारहरुका अनुसार परम्परागत शैली र धर्म शास्त्रअनुरुप लक्ष्मीलाई कागजमा छापाको माध्यममा उतारिन्छ ।

जसमा लक्ष्मीसहित ख्याः, कछुवा, कुबेरलगायतको आकृति अनिवार्य मानिन्छ । लक्ष्मी, ख्याः, कछुवा, कुबेरलगायतको आकृति पनि ब्लकमा राखेर रङको प्रयोगपछि फुलिस्केप पेपरमा चित्र छापिन्छ । त्यसपछि मात्र हातले रङ लगाइन्छ । हातले नै सबै साजसज्जा र रङ्गरोगन गरेपश्चात् मात्र बजारमा चित्र पठाइन्छ । यसरी तयार पारिएको मौलिक चित्रको बीचमा लक्ष्मी, दायाँ कुबेर, सेतो ख्याः (ख्याक) र मुनितिर लक्ष्मीको बाहन कछुवा इंगित भएको हुन्छ ।

उक्त चित्र नै उपत्यकाका नेवारी समुदायमा लक्ष्मी पूजा र भाइटीकाका लागि अनिवार्य रुपमा प्रयोग गरिन्छ । काठमाडौँका असन, मरु गणेशथानजस्ता ठाउँका पसलमा यस्ता परम्परागत चित्र पाइए पनि भारतबाट ल्याएइका चित्रहरूकै बाहुल्यता देखिन्छ । अहिले बजारमा पाइने लक्ष्मीका पोस्टरहरुमा माला लगाइदिएको र श्रंगार गरिदिएको देख्न सकिन्छ । बाहनसहितको लक्ष्मीको चित्र बजारमा पाइँदैन ।

त्यसकारण बजारमा पाइने चित्रहरुमा मौलिकता नभेटिने कलाकार तथा कला लेखक एवम् समिक्षक चित्रकारको भनाइ छ ।

चित्रकला सिर्जनामा प्रिन्ट विधालाई सबैभन्दा पुरानो मानिन्छ । मानव सभ्यताको विकासक्रमसँगै अक्षरको उत्पत्तिमा काठका ब्लकहरू नै प्रयोगमा थिए । यसलाई प्रिन्ट माध्यमको सबैभन्दा पुराना विधामध्येको एक ठानिन्छ । प्रिन्ट मेसिनहरूको विकासपूर्व मानिसले काठ, फलाम तथा ढुङ्गाका ब्लकमा अक्षर तथा आवश्यक वस्तुहरूको दृश्यहरू प्रिन्ट गर्थे ।

बौद्ध धार्मिक ग्रन्थहरू समेत प्रिन्ट विधामा नै छापिन्थे । प्रिन्ट माध्यमका अत्याधुनिक डिजिटल प्रिन्ट मेसिनहरू आएपछि परम्परागत काठे ब्लकहरू ओझेलमा परे । डिजिटल प्रिन्टबाट अहिले प्रिन्ट कलाहरु सिर्जना हुन थालेका छन् । यसकारण परम्परागत चित्र सिर्जना विधा, प्रविधिलाई जोगाउनुपर्ने भन्दै छापा चित्र प्रयोगमा जोड दिन परम्परागत चित्रकला विधाका कलाकारहरु आग्रह गर्छन् ।

बजारको प्रतिस्पर्धामा जान मौलिक लोक कला सिर्जना गरिरहेका कलाकारहरुलाई राज्यको तर्फबाट नै प्रोत्साहन गर्नुपर्ने अग्रज लोक कलाका कलाकार चित्रकारको मत छ ।

 ‘बजारमा जान सक्ने गरी यस्ता चित्रहरु बनाउन प्रविधि र मेसिनहरु उपलब्ध भएमा हामीले बजारमा सस्तो मुल्यमा लैजान सक्थ्यौं । एक रुपैयाँ मात्र कम भएमा नेपालीहरुले नेपालकै मौलिक कला भएको चित्र किन्ने थिए,’ चित्रकारले सुनाए । राज्यको नेतृत्व तहबाट नै मौलिक लोककला सिर्जनामा बेवास्ता भएकोमा उनले दुःख व्यक्त गरे ।

लक्ष्मीको चित्र जस्तै अन्य मौलिक तथा परम्परागत लोक कलालाई संरक्षण गर्ने हो भने राज्यबाट पनि सक्रिय रुपमा तदारुकता देखाउनुपर्ने उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?