मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देउसी भैलोको पौराणिक गाथा के छ ?

काठमाडौँ– हिन्दु धर्मावलम्बीहरुको महान पर्व तिहार बुधबारदेखि शुरु भएको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीदेखि कार्तिक शुक्ल तृतियासम्म पाँच दिन तिहार पर्व मनाइन्छ ।

यी पाँच दिनमध्ये कार्तिक कृष्ण चतुर्दशी अर्थात् लक्ष्मी पूजाको दिनलाई अझै विशेष मानिन्छ । यस दिन सबैले आ–आफ्नो घर घरमा दिपावली गरेर लक्ष्मी पूजा धुमधामले गर्छन् भने यसै दिन देउसी भैलो खेलिन्छ ।

हुन त लक्ष्मी पूजाको दिन महिलाहरुले मात्र भैलो खेल्ने गरिन्छ । तर पछिल्लो समय भने महिला र पुरुषहरु संयुक्त रुपमा मिलेर देउसी भैलो खेल्दै आएका छन् । देउसी भैलोलाई पछिल्ला युवा पुस्ताले मनोरञ्जनका रुपमा मात्र प्राथमिकता दिएका छन् ।

घर घरमा गएर देउसी भैलोका भाकालाई लय मिलाएर गाउने परम्परा अचेल विरलै सुन्न र देख्न पाइन्छ । अचेल युवाहरु घर घरमा गएर सांस्कृतिक कार्यक्रम प्रस्तुतिका रुपमा देउसी भैलो खेल्ने गर्छन् ।

संस्कृति विज्ञहरुका अनुसार देउसी भैलोको आफ्नै पौराणिक गाथा रहेको छ । विज्ञहरुका अनुसार भगवानको पालादेखि नै देउसी भैलो खेलिन्थ्यो । बलिराजाले सबैभन्दा ठूलो युद्ध महायज्ञ आयोजना गर्न चाहिने आर्थिक जोहो गर्नकै लागि पैसा माग्दै हिँडेका थिए भन्ने गरिन्छ । वामन भगवान ‘देउ श्री’ अर्थात् ‘पैसा देऊ’ भन्दै घर घरमा पुगेका थिए ।

त्यही अपभ्रंष हुँदै ‘देउसी रे’ भयो भन्ने गरिन्छ । त्यसकारण पनि देउसी खेल्दा बलि राजाले पठाको भन्ने गरिन्छ । त्यतिबेला सबै पुरुषहरु माग्नलाई हिँड्दा घरमा भएका महिलाहरु विरक्तिएर मन बहलाउन भैलो खेलेको भन्ने गरिन्छ । बलिसँग जोडिएको अर्को पौराणिक कथन अनुसार पृथ्वीमा बलि नाम गरेका अत्यन्तै दानी राजा थिए ।

उनको दानी स्वभावले स्वर्ग लोकका भगवानहरुलाई समेत चिन्ता भएको थियो । त्यसकारण सबै भगवान्हरुले बलिको शक्ति नियन्त्रणका लागि विष्णुलाई आह्वान गरेपछि विष्णु भगवान् वामनको रुपमा पृथ्वीमा पुगेर तीन पाउ जमीन मागे । भनिन्छ बलि वचनबद्ध भएपछि वापनले विराट रुप लिए ।

त्यतिबेला उनकै एउटा पाउले पूरै पृथ्वी ढाकियो भने अर्को पाउले आकाश ढाक्यो । तेस्रो पाइलाभरिको जमीन कहाँबाट दिने भनेर अन्योलमा परेका बलिले आफ्नै थाप्लो थापे । थाप्लोमा विष्णुको पाउ पर्नासाथ बलि भासिएर पाताल पुगे ।

बलिले त्यतिबेला वर्षमा एकपटक तिहारको बेलामा पृथ्वी घुम्न दिइयोस् भनेर विष्णु भगवान्सँग प्राथना गरेपछि विष्णुले त्यसलाई स्वीकार गरे । त्यसकारण तिहारको बेलामा बलि पृथ्वीमा घुम्न आउँछन् भन्ने धार्मिक विश्वास रहेको छ । पौराणिक गाथा अनुसार नै बलि राजा आउन नभ्याएको समयमा देउसेहरु आएर ‘बलि राजाले पठाको’ भनेर भन्ने गरिन्छ ।

देउसी भैलोको गाथा ‘रामायण’सँग पनि जोडिएको छ । अयोध्याबासीहरुले आफ्नो प्रिय राजा रामको १४ वर्षको वनबासपछिको आगमनमा खुसीयालीका साथ दियो बालेर दिपावली गरेका थिए ।

अयोध्याबासीहरुले घर घर र गल्ली गल्लीमा श्रीरामको नाम जप्दै हिँडेका थिए । कालान्तरमा ‘श्रीराम’ नै ‘देउसिरी राम,’ ‘देउसिरे,’ ‘देउसी’ हुँदै देउसी खेल्ने परम्परा बसेको भन्ने समेत गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?