काठमाडौँ– आज साँझ हिन्दु धर्मावलम्बीहरूले लक्ष्मीपूजा मनाउँदै छन् । कात्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ ।
तिहारको औँसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । औँसीको दिन साँझ वा रातिमा लक्ष्मीको पूजा गर्ने, साँझमा दीपमालिका गर्ने र बत्ती बाल्ने गरिन्छ ।
घरमा लक्ष्मीपूजा गर्नका लागि बाहिरदेखि नै कुनै मण्डप बनाएर लक्ष्मी भित्र्याउने र भित्र विधिवत् रूपमा यसको पूजा गर्ने चलन रहेको छ।
आजका दिन घर वरिपरि सरसफाइ गरी सिँगारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका कारण आज घर–घरमा दीपमालिकासहित दीपावली गरिन्छ ।
तिहारमा लक्ष्मी मातालाई खुसी पार्न चढाउनुहोस् यी पाँच चीज :
१. लक्ष्मी पूजाको दिन बिहान चाँडै उठ्नुहोस् । उठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो केही वस्त्र र गुलाबको फूल चढाउनुहोस् ।
२. लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साँझ लक्ष्मीपूजा गर्ने क्रममा चढाउनुहोस् ।
३. लक्ष्मी पूजाको रात लक्ष्मी पूजा गर्दा नौ गोमती चक्र राख्नुहोस् । पूजा सकिएपछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस् ।
४. पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस् । विशेष पूजामा यो उपाय गर्नुहोस्।
५. यस रात पाँच साबुत सुपाडी, कालो बेसार, पाँच पहेलो कौडी पनि राख्नुहोस् । पूजापछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस्।
यसो गर्दा लक्ष्मी प्रसन्न हुने सो घरमा सदा लक्ष्मीले बास गर्ने विश्वास छ । लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहुन् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि गर्ने चलन रहिआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया