मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तिहारको रौनक

यी हुन् हालै सार्वजनिक गरिएका तिहारका नयाँ गीतहरू (भिडियो)

काठमाडौँ– दशैं पर्वको रौनक सकिएसँगै प्रत्येक वर्ष झैं यो वर्ष पनि तिहार पर्व नेपालीहरुको घर आँगनमा आइसकेको छ । झिलिमिली बत्ती, काग, कुकर, गाई, गोवद्र्धन, लक्ष्मी माताको पूजा, मखमली फूल, भाइटीकासँगै तिहारलाई सम्झाउने गीतसङ्गीतको समेत उत्तिकै भूमिका रहिआएको छ ।

त्यसैले हरेक वर्ष झै गीतसङ्गीतका सर्जकहरुले तिहारलाई लक्षित गर्दै थ्रप्रै गीतहरु सार्वजनिक गर्ने गर्छन् । यसपटक पनि गायक तथा सर्जकले तिहारलाई लक्षित गरेर गीतहरू सार्वजनिक गरेका छन् । तीमध्ये हालै बजारमा आएका केही गीतका बारेमा चर्चा गर्दैछौँ ।

यी हुन् यस वर्ष तिहारको छेकोमा सार्वजनिक भएका गीतहरू

तिहार आयो नाच्न र गाउन

पुरुषोत्तम पौडेलको तिहार गीत ‘तिहार आयो नाच्न र गाउन’ हालै मात्र सार्वजनिक भएको हो । तिहारको मौलिक संस्कृति र मनोरञ्जन प्रधान यस गीतले सबैकोे मनोकामना र हर्ष एवम् उमङ्गको कामना गरेको छ । गीतमा पौडेलसँगै सुनिता बुढा क्षेत्री र पूजा देवकोटाको स्वर रहेको छ ।

शिव पौडलेको शब्द रचना रहेको यस गीतमा सङ्गीत भने गायक पौडेलकै रहेको छ । सङ्गीत संयोजन भने रमेश क्षेत्रीले गरेका छन् । कपिल लामाको निर्देशन रहेको भिडियोको सम्पादन र छायाङ्कनमा क्रमशः शिव पौडेल र करण चैसिर छन् ।

भिडियोमा विमल अधिकारी, जुना एसडी, रमेश केसी, रचना न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो सामग्री तयार पार्दासम्म गीतलाई ११ लाख दर्शकले हेरिसकेका छन् ।

‘झिलीमिली तिहार’

‘झिलीमिली तिहार’ गीतलाई गोविन्द मधुर आचार्यले सार्वजनिक गरेका हुन् । देउसी भैली लय र लोकलय मिश्रण गरेर गाइएको गीतको शब्द, सङ्गीत र स्वर मधुर आचार्यकै रहेको छ । गीतले तिहारको झिलीमिली बत्तीसँगै दाजुभाई र दिदीबहिनीबिचको भावनात्मक सम्बन्धका साथै मनको खुसीलाई अभिव्यक्त गरेको छ ।

आचार्यकै निर्देशन रहेको भिडियोको सम्पादन लक्ष्मण डिसीले र छायाङ्कन डोर्ना बस्नेतले गरेका छन् । भिडियोमा अस्मिता पुरी, अर्जुन डिसी, साबित्रा बिके लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

‘सानुमाया: तिहार गीत’

हालै सार्वजनिक भएको ‘सानुमाया: तिहार गीत’ बोलको गीतमा तिहारको मौलिक संस्कार र संस्कृतिसँगै मायाप्रेमका भाव अभिव्यक्त भएका छन् ।

तिहारकै उमङ्गमा मायाप्रेमका कुरासँगै रमाइलो गरौं भनेर गीतले भनेको छ । किरण बाबु पुन र टीका पुनको स्वर रहेको गीतमा सङ्गीत र शब्द रचनामा गायक पुनकै रहेको छ ।

गीतको सङ्गीत संयोजनमा भने कुमार सानु पुनको रहेको छ । खड्ग बहादुर पुन मगरको निर्देशन रहेको गीतको भिडियोमा निर्देशक पुन मगरसँगै करिश्मा पुन मगर, प्रशंसा वली, करुणा तामाङ र शान्ति पुलामी मगरको अभिनय रहेको छ । भिडियोको सम्पादन र छायाङ्कन भने दीपक पुन मगरले गरेका छन् ।

‘देउसी भैलो–२’

निकेश राईको प्रस्तुतिमा सार्वजनिक भएको ‘देउसी भैलो–२’ गीतमा तिहारको मौलिक देउसी भैलो गीतमा पूर्वेली लयको धुन सुन्न सकिन्छ । गीतमा तिहारको रौनकसँगै मौलिक संस्कृतिको भाव समेटिएको छ । राईकै शब्द तथा सङ्गीत रहेको गीतमा राईसँगै विनोद दनुवार लगायतको स्वर रहेको छ ।

भिडियोको निर्देशन पनि गायक तथा सङ्गीतकार राईले नै गरेका छन् भने छायाङ्कनमा उमेश राई छन् । छायाँकार राई लगायतका कलाकारहरुको अभिनय भिडियोमा देख्न सकिन्छ ।

‘रमाइलो देउसी’

रोशन दाहालको शब्द रचना र सङ्गीत रहेको ‘रमाइलो देउसी’मा युवा पुस्ताले तिहारको मौलिक संस्कारलाई अङ्गाल्दै देउसी खेलेको भावलाई समेटिएको छ । गीतमा प्रतीक अधिकारी र सोहन खनालको स्वर रहेको छ । गीतमा मादल, मुरलीसँगै गितारको समेत धुन सुन्न सकिन्छ ।

भिडियोको स्क्रिन प्ले निर्देशनमा गायक अधिकारी, सम्पादनमा सिमान्त कलिता, छायाङ्कनमा दीप र मनोज बन्जा छन् । भिडियोमा अनिता पाठक, अंकिता गजुरेल दाहाल, बन्ती देवी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘देउसी भैलो–२०८१’

पशुपति शर्मा, अर्जुन सापकोटा, शान्ति श्री परियार, शान्त रानी परियार र पूजा देवकोटाको स्वर रहेको गीतमा तिहारको माहोलमा देउसी भैलो खेलिएको भाव र दृश्यलाई प्रस्तुत गरिएको छ । तिहारमो माहोलमा मौलिक संस्कारलाई जोगाउन सबैले देउसी भैलोलाई निरन्तरता दिन गीतले आग्रह समेत गरेको छ ।

दुर्गा पौडेलको शब्द रचना रहेको गीतमा सङ्गीत गायक शर्माकै रहेको छ । गीतको भिडियोको निर्देशन गीतकार पौडलले नै गरेका छन् । नवीन घर्ती मगरको सम्पादन रहेको भिडियोमा अजय रेग्मी र प्रवीण सुवेदीको छायाङ्कन रहेको छ ।

भिडियोमा गायकद्वय शर्मा र सापकोटासँगै कलाकारहरु अञ्जु निरौला र आयुश्मा गौतम छन् ।

‘देउसी भैलो देउडा’

देउडा सङ्गीतमा स्थापित युवा पुस्ताका गायक चक्र बमको शब्द, सङ्गीत र अवधारणामा ‘देउसी भैलो देउडा’ गीत सार्वजनिक भएको हो । गीतमा देउसी भैलोको मौलिक गीतसँगै देउडा सङ्गीतको लय र धुन समेत समावेश गरिएको छ ।

सुदूरपश्चिमको देउसी भैलोमा देउडाको आधुनिक छनक समेत देख्न सकिन्छ । गीतमा बमसँगै अनिता चलाउने र लालबहादुर धामीको स्वर रहेको छ ।

विक्रम चौहानको निर्देशन एव्म कोरियोग्राफ रहेको भिडियोको सम्पादनमा मनोज कार्की र छायाङ्कनमा नवराज उप्रेती छन् । भिडियोमा गायक गायिकाहरु बम, धामी, चौहानसँगै श्रेया बडुको अभिनय रहेको छ ।

‘जोगाउँदै संस्कृति संस्कार’

विष्णु न्योपानेको ‘जोगाउँदै संस्कृति संस्कार’ देउसी भैलोको मौलिक लय र संस्कारलाई जोड दिइएको छ । भिडियोमा समेत मौलिक देउसी भैलोको दृश्यलाई समेटिएको छ ।

न्यौपानेको शब्द तथा सङ्गीत रहेको गीतमा इन्द्र जिसी, बद्री पंगेनी, रीता थापामगर, खुमन अधिकारी, अस्मिता दल्लाकोटी र श्यामकला भण्डारीको स्वर रहेको छ ।

जेरी भण्डारीको निर्देशन रहको गीतको भिडियोको छायाङ्कन करण चैसिरले गरेका छन् । भिडियोमा गायक गायिकाहरुसँगै बबिन सिंह ठकुरी, जोन बम, नेहारिका थापा र रचना न्यौपानेलाई देख्न सकिन्छ ।

‘दशैं नि आयो, तिहार नि आयो’

मोहन कार्कीको प्रस्तुतिमा सार्वजनिक भएको गीतमा यसपालीको तिहार पर्वलाई हर्ष र उत्सवका साथ मनाउन आग्रहसहितको भाव प्रस्तुत गरिएको छ । गीतमा तिहार मनाउन आउन चेलीले आग्रह गरेकी छिन् ।

डा. अम्बर बहादुर कार्कीको शब्द रचना र रामकृष्ण थापाको सङ्गीत रहेको गीतमा स्वर विनोद दनुवार र उषा गजुरेलेको रहेको छ ।

‘देउसी गीत तिहारको रमाइलो’

गीतकार डा. डीपी दाहाल परिश्रमीको तिहार गीत ‘देउसी गीत तिहारको रमाइलो’ हालैमात्र रिलिज भएको हो । दाहाल परिश्रमीको रचनामा दाहाल र सविन लिम्बुको सङ्गीत रहेको गीतमा दाहाल र लिम्बुसँगै रोजिना बस्नेत स्वर रहेको छ ।

रीता सिम्खडा दाहालको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशक कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् ।

भिडियोमा रावल बराइलीको कोरियोग्राफी, ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको छ भने स्मारिका ढकाल र सुरेश कोइल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । गीतले तिहारको मौलिक संस्कृति र परम्परालाई जोड दिने जमर्को गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?