मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

एफ ३५ लडाकु विमानदेखि जेराल्ड फोर्ड युद्धपोतसम्म: यी हुन् अमेरिकी सेनाका अत्याधुनिक हतियार

काठमाडौँ– अमेरिकी सेना मानव इतिहासकै सबैभन्दा घातक सैन्य संगठन हो । यो फौजले संसारको जुनसुकै ठाउँमा जस्तोसुकै परिस्थितीमा पनि युद्ध लड्ने क्षमता राख्छ ।

अमेरिका विश्वको सबैभन्दा शक्तिशाली मुलुक बन्नुमा उसको आर्थिक शक्तिका साथै सैन्य शक्तिदले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

अमेरिकी सेना मानव इतिहासमै सबैभन्दा शक्तिशाली र घातक सैन्य बल बन्न पुग्नुमा उसले विभिन्न मुलुकसँग स्थापना गरेका रणनीतिक साझेदारी, उसँग भएका सैन्य उपकरण, अत्याधुनिक हातहतियारको भूमिका पनि महत्वपूर्ण रहेको छ ।

त्यसबाहेक अमेरिकी सेनाको बजेट र त्यहाँको रक्षा उपकरण निर्माण गर्ने कारखाना पनि संसारकै सबैभन्दा ठूला र प्रतिष्ठित मानिन्छन् । अमेरिकी रक्षा बजेटमात्रै ८ खर्ब अमेरिकी डलरभन्दा धेरै छ । यो रकम रक्षा क्षेत्रमा सबैभन्दा धेरै खर्च गर्ने अरु १० मुलुकको समग्र रक्षा बजेट जोड्दा पनि भेटिन्न । अमेरिकामा रहेका बोइङ, लकहिड मार्टिन, रेथियन, नर्थप ग्रुमानजस्ता रक्षा कम्पनी संसारमै प्रतिष्ठित मानिन्छन् ।

आखिर अमेरिकी सेनासँग कस्तो किसिमका अत्याधुनिक हातहतियार र सैन्य उपकरण छन् त ? आज हामी यसै विषयमा चर्चा गर्न चाहन्छौँ । आज हामी अमेरिकी सेनाको सैन्य भण्डारणमा रहेका १० अत्याधुनिक हातहतियार र रक्षा उपकरणबारे जानकारी दिन गइरहेका छौँ ।

एफ ३५

एफ ३५ संसारकै सबैभन्दा उन्नत र अत्याधुनिक लडाकु विमान हो । यो पाचौँ पुस्ताको सबैभन्दा उन्नत लडाकु विमान हो । लकहिड मार्टिन कम्पनीले यो लडाकु विमानको विकास गरेको हो । यो लडाकु विमानमा एक जना चालक रहने व्यवस्था छ भने यसमा एउटा इन्जिन जडान गरिएको छ । सुपरसोनिक गतिमा उड्ने यो विमानलाई दुश्मनको रडारले पहिचान गर्न कठिन हुन्छ ।

यो लडाकु विमान विद्युतीय युद्ध, गुप्तचरी जानकारी, निगरानीजस्ता कार्य गर्न सक्षम छ । एउटै एफ ३५ लाई दश करोड डलरभन्दा धेरै पर्छ । यो विमाको लम्बाइ १५.७ मिटर, चौडाइ ११ मिटर र उचाइ ४.४ मिटर रहेको छ । यो विमानले ८ हजार केजीभन्दा धेरै इन्धन बोक्न सक्छ भने यसमा उडिरहेका बेला इन्धन भर्नसक्ने क्षमता रहेको छ । यो विमान १५ हजार मिटरभन्दा धेरैको उचाइमा पनि उडान भर्नसक्छ ।

यूएसएस जेराल्ड फोर्ड

यूएसएस जेराल्ड फोर्ड अमेरिकी नौसेनासँग रहेको अत्याधुनिक लडाकु विमानवाहक युद्धपोत हो । अमेरिकाका ३८ औँ राष्ट्रपतिको नाम दिइएको यो युद्धपोत सन् २०१७ यता सेवारत छ । आणविक ऊर्जाबाट सञ्चालन हुने यो युद्धपोतको विस्थापन क्षमता १ लाख टन रहेको छ । यो युद्धपोतको निर्माण न्यूपोर्ट न्युज सिपबिल्डिङले गरेको हो । यो युद्धपोतमा एफ ३५, एफ÷ए १८ सुपर होर्नेट, ई २ डी हकआई जस्ता ९० वटा लडाकु विमान रहनसक्ने क्षमता छ ।

औसतमा यो युद्धपोतबाट दैनिक १ सय ६० वटा जहाजले उडान भर्नसक्ने क्षमता छ । यद्यपि गम्भीर संकट वा ठूलो हवाई युद्धको समयमा भने यो युद्धपोतबाट दैनिक २ सय २० भन्दा धेरै जहाजले उडान भर्न सक्छन् । यो युद्धपोतमा लडाकु विमानका साथै सी स्पारो क्षेप्यात्र, पनडुब्बीविरुद्ध मार हान्ने क्षेप्यास्त्रसहित अन्य अत्याधुनिक प्रविधि जडान गरिएको छ । यो युद्धपोतको आयु ५० वर्षसम्म रहने अपेक्षा गरिएको छ ।

यूएसएस भर्जिनिया

यूएसएस भर्जिनिया अमेरिकी नौसेनामा सेवारत अत्याधुनिक पनडुब्बी हो । आणविक ऊर्जाबाट सञ्चालन हुने यो पनडुब्बीको औसत गति २५ नट अर्थात् ४५ किलोमिटर प्रतिघण्टा रहेको छ । यो पनडुब्बीको निर्माण जनरल डाइनामिक्सले गरेको हो । यसमा ऊर्जा आपूर्ति गर्न एउटा एस ९ जी आणविक रियाक्टर जडान गरिएको छ । यो रियाक्टर ९३ प्रतिशत उच्च प्रशोधित युरेनियमबाट सञ्चालन हुने गरेको छ । यूएसएस भर्जिनियाको विस्थापन क्षमता ७ हजार ८ टन रहेको छ ।

यसको लम्बाइ १ सय १५ मिटर रहेको छ । यसलाई सन् २००४ मा सेवाप्रवेश गराइएको थियो । यो पनडुब्बीमा लम्ब दिशामा क्षेप्यास्त्र प्रहार गर्नसक्ने १२ वटा ट्युब, टोरपेडो र तोमाहक क्षेप्यास्त्र प्रहार गर्नका लागि ४ वटा २१ इन्चका ट्युब जडान गरिएको छ । यो पनडुब्बी समुद्रको गहिराइमा २ सय ४४ मिटर तलसम्म जानसक्छ । यसमा १ सय ३४ जना नौसैनिक रहनसक्ने क्षमता छ ।

बी २

बी २ अमेरिकी सेनाको रणनीतिक बमवर्षक विमान हो । नथ्र्रप ग्रुमानले निर्माण गरेको पछिल्लो संस्करणको बी २ सन् १९९७ यता सेवारत छ । १ हजार किलोमिटर प्रतिघण्टा अधिकतम गति रहेको यो विमानले एक पटक इन्धन भरेपछि १० हजार किलोमिटरको दुरीसम्म उडान भर्न सक्छ । यो विमानले आणविक र गैरआणविक दुबै बम बोक्न सक्छ । दुश्मनको हवाई प्रतिरोधी प्रणालीमा प्रवेश गर्न सक्ने क्षमता रहेको विमानमा दुई जना पाइलट बस्न मिल्ने सुविधा छ । बी २ मा चार वटा इन्जिन जडान गरिएको छ भने सेवामा प्रवेश गरेयता यो विमानले अमेरिकाले लडेका प्रायः सबै युद्धमा सहभागिता जनाएको छ । यसको लम्बाइ २१ मिटर र उचाए ५ मिटर रहेको छ । यसको इन्धन भण्डारण क्षमता ७५ हजार ७ सय ५० किलोग्राम रहेको छ भने यसले १८ हजार किलोग्राम भन्दा धेरै हतियार बोक्न सक्छ ।

एमक्यू ९

एमक्यू ९ अमेरिकी सेनाकोे मानवरहित हवाई उपकरण (ड्रोन) हो । जनरल एटोमिक्सले निर्माण गरेको यो ड्रोन सन् २००७ देखि सेवारत छ । ११ मिटर लम्बाइ, २० मिटर चौडाइ र ३.८१ मिटर उचाइ रहेको यो ड्रोनलाई जमिनबाटै दुईदेखि तीन जना चालकले उडाउन मिल्ने व्यवस्था छ । यसमा जडान गरिएका अत्याधुनिक क्यामेराले चालकललाई ड्रोन आसपासका वस्तुस्थितिको स्पष्ट जानकारी प्रदान गर्छ । यसको इन्धन भण्डारण क्षमता १ हजार ७ सय ६९ किलोग्राम छ ।

१५ हजार मिटरको उचाइमा रही २७ देखि ३४ घण्टासम्म यो ड्रोनले उडान भर्न सक्छ । एउटै एम क्यू ड्रोनलाई ३ करोड डलरसम्म पर्छ । यसले आन्तरिक रुपमा ३ सय ८६ केजी र वाह्य रुपमा १ हजार ३ सय ६१ किलोग्राम हतियार बोक्न सक्छ । यो ड्रोनले जमिनका साथै समुद्रमा समेत आक्रमणसँगै, गुप्तचर जानकारी संकलन, निगरानी र निरीक्षण कार्य समेत गर्न सक्छ ।

यूजीएम ट्राइडेन्ट २ एसएलबीएम

यूजीएम ट्राइडेन्ट अमेरिकी सेनामा रहेको पनडुब्बीबाट मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र हो । लकहिड मार्टिन कम्पनीले निर्माण गरेको यो क्षेप्यास्त्रले डब्लू ८८ र डब्लू ७६ जस्ता आणविक हतियार बोक्ने क्षमता राख्छ । अमेरिकाको राष्ट्रिय आणविक सुरक्षा प्रशासनले यस क्षेप्यास्त्रमा डब्लू ९३ आणविक हतियार जडान गर्न मिल्नेगरी स्तरोन्नतिका लागि प्रयास गरिरहेको छ । अमेरिकी आणविक प्रतिरोधको त्रिपक्षीय प्रणाली (न्युक्लियर ट्राएड) का लागि यो क्षेप्यास्त्र निकै महत्वपूर्ण मानिन्छ । एउटा यूजीएम ट्राइडेन्ट २ लाई झण्डै ३ करोड डलर पर्छ ।

यूजीएम ट्राइडेन्ट २ मा ठोस इन्धनबाट सञ्चालन हुने तीन वटा इन्जिन जडान गरिएको छ । यो क्षेप्यास्त्रले १२ हजार किलोमिटरको दुरीमा सटिक निशानामा मार हान्न सक्ने बताइएपनि यसबारे स्पष्ट जानकारी भने सार्वजनिक गरिएको छैन । यो ब्यालेस्टिक क्षेप्यास्त्रमा ८ वटासम्म स्वतन्त्र रुपमा पृथ्वीमा प्रवेश गर्नसक्ने ‘मल्टिपल रिइन्ट्री भेहिकल’ जडान गर्न सकिन्छ । यो क्षेप्यास्त्र अमेरिकीसँगै बेलायती सेनाले पनि प्रयोग गर्दै आएको छ ।

एक्सएम ७

एक्सएम ७ अमेरिकाले विकास गरेको नयाँ राइफाल हो । यसलाई अमेरिकी सेनाका लागि नयाँ पुस्ताको राइफलका रुपमा हेरिएको छ । यो राइफलले ६.८/५१ एमएमको गोली हान्न सक्छ । यो राइफल सर्ट स्ट्रोक विधिबाट ग्यास अपरेटेड प्रविधिमा आधारित छ । ४ किलो वजन रहेको यो राइफलको लम्बाइ ३६ इन्च छ ।

यो राइफलको विकास स्विट्जरल्याण्डको एसआईजी साउर कम्पनीले गरेको हो । यसमा २० देखि २५ राउण्ड गोली रहने बक्स म्यागजिन जडान गर्ने सुविधा समेत रहेको छ । यसमा एम लोक ह्याण्डगार्ड र सप्रेसर समेत जडान गरिएको छ । एउटै राइफलको लागत ५ हजार डलर रहेको छ ।

एब्राम्स

एब्राम्स अमेरिकी सेनासँग रहेको ट्यांक हो । हाल जनरल डाइनामिक्समा आबद्ध क्रिस्लर डिफेन्सले उत्पादन गरेको यो ट्यांकको वजन ६० टनसम्म रहेको छ । १० मिटर लम्बाइको यो ट्यांकको चौडाइ ३.६६ मिटर र उचाइ २.४४ मिटर छ । यसमा चार जनासम्म बस्न मिल्ने क्षमता छ । एउटै एब्राम्स ट्यांकको मूल्य १ करोड डलर पर्छ । यसको इन्धन भण्डारण क्षमता झण्डै २ हजार लिटर रहेको छ । सडकमार्गमा यसको औसत गति ७२ किलोमिटर प्रतिघण्टा र अन्य ठाउँमा ४० किलोमिटर प्रतिघण्टा रहेको छ । एक पटक इन्धन भरेपछि यसले सडकमार्गमा ४ सय २० र अन्य ठाउँमा २ सय किलोमिटरसम्म जान सक्छ । यो ट्यांकको प्रयोग अमेरिकासँगै अस्ट्रेलिया, साउदी अरब, पोल्याण्ड, युक्रेन, इराक, कुवेतजस्ता मुलुकका सेनाले पनि गर्दै आएका छन् ।

थाड

टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स अर्थात् थाड अमेरिकी सेनासँग रहेको अर्को अत्याधुनिक हतियार हो । खासमा यो जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र हो । लकहिड मार्टिनले निर्माण गरेको यो क्षेप्यास्त्रको वजन ९ सय किलोग्राम रहेको छ । यसले २ सय किलोमिटरसम्म मार हान्ने क्षमता राख्छ । यसको निशाना अचुक मानिन्छ । खाडी युद्धका क्रममा इराकी स्कड क्षेप्यास्त्र आक्रमणको अनुभवबाट यो क्षेप्यास्त्रको विकास गरिएको विश्वास गरिन्छ ।

यो क्षेप्यास्त्र अमेरिकासँगै इजरायल, साउदी अरब, दक्षिण कोरिया, जापानजस्ता मुलुकका सेनाले पनि प्रयोग गर्दै आएका छन् । थाडको एउटा एकाईलाई १ अर्ब २५ करोड डलर पर्छ भने हरेक क्षेप्यास्त्रको लागत १ करोड २५ लाख डलरभन्दा धेरै छ ।

तोमाहक क्षेप्यास्त्र

तोमाहक अमेरिकी सेनाले प्रयोग गर्ने क्रुज क्षेप्यास्त्र हो । पनडुब्बी, युद्धपोत र जमिनबाट प्रहार गर्न मिल्ने यो क्रुज क्षेप्यास्त्रको उत्पादन रेथियनले गर्दै आएको छ । यसको वजन १ हजार ५ सय किलो रहेको छ । तोमाहक क्षेप्यास्त्रको लम्बाइ ५.५ मिटर र उचाइ आधा मिटर छ । ८ सय ८५ किलोमिटर प्रतिघण्टाको गतिमा यसले १ हजार ५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्छ । जीपीएसका आधारमा यसले सटिक निशानामा मार हान्ने क्षमता राख्छ ।

उडानका बेला धेरै ताप उत्सर्जन नगर्ने भएकाले दुश्मनलाई तोमाहक क्षेप्यास्त्रको पहिचान गर्न निकै कठिन हुन्छ । यो क्षेप्यास्त्र अमेरिकी सेनाले पछिल्ला केही दशकयता लडेका प्रायः सबै युद्धमा प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?