सुनसरी– तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ ।
पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भएपनि मादलको बिक्री बढ्ने गरेको छ ।
धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै बिक्रि बढेको बताउँछन् ।
विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँच सयदेखि पाँच हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए । उनले भने, ‘मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ । तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ । एकै दिनमा आठ देखि १० वटासम्म बिक्री हुने गरेको छ ।’
उनका अनुसार लक्ष्मी पूजाको दिनदेखि मादल बेच्न भ्याईनभ्याई हुन्छ । हाल उनले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरु बिक्री गर्दै आएका छन् ।
धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरी अरु समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउँछन् । विगत २० वर्षदेखि उनले मादलसँगै गितारलगायतका बाद्यवादनको व्यापार गर्दै आएका छन् ।
तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उनको भनाइ छ । उनले तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको बताए ।
भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उनले पसलमा तीन हजारदेखि आठ हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया