मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के कारणले हुन्छ ढाड दुख्ने समस्या ?

बदलिँदो जीवनशैली र कामको प्रकृतिका कारण आम मानिसमा ढाड दुख्ने समस्या बढ्दै गएको छ । परिवारका कुनै न कुनै सदस्यलाई यो समस्याले सताइरहेको हुन्छ ।

अझ पछिल्लो पुस्तामा त युवावस्थामा नै ढाड दुख्ने समस्या हुने गरेको पाइन्छ । लामो समय कम्प्युटरमा बस्दा, खानपानका कारण र अन्य कैयन् कारणले ढाड दुख्ने गरेको चिकित्सकहरू बताउँछन् । मेरुदण्ड हाम्रो शरीरको महत्त्वपूर्ण भाग हो । यसको दुखाइले गर्दा दैनिक जीवनमा नै समस्या परिरहेको हुन्छ । पछिल्लो समय किन ढाड दुख्ने समस्या सबैको साझा समस्या बन्दै गएको छ? कस्तो जीवनशैली अपनाउनुपर्छ लगायतका सन्दर्भमा अर्थोपेडिक डा.युवराज खरेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी: 

मेरुदण्ड शरीरको कस्तो भाग हो ? किन दुख्छ?

मेरुदण्ड शरीरको मुख्य भाग ढाड हो । सरल भाषामा भन्नुपर्दा टाउको र खुट्टासम्म जोड्ने मूल भाग हो । मेरुदण्डले ३३ –३४ वटा हाडहरुको लेयर सुसुम्नालाई लिएर जान्छ र हाम्रो हात खुट्टा शरीरका विभिन्न भागमा छोड्छ । जसकारण हाम्रो हात खुट्टाको फङ्सन चल्छ र शरीर सञ्चालन हुन्छ ।

मेरुदण्डको दुखाइ हुने विविध कारणहरु हुन्छन् । उमेरको कारणले पनि यो समस्या दुख्ने गर्छ । युवा उमेरमा मेकानिकल ओरीजिनको ब्याक पेन हुन्छ बस्दा, हिँड्दा काम गर्दा हुन्छ । अर्को भनेको स्पोर्टस इन्जुरीले पनि यो समस्या हुन्छ ।

कतिपयमा उमेर बढ्दै गएपछि मेरुदण्डको हाड खिइने कारणले नसा फुल्ने, बाटो साँघुरिने कारणले नसा च्यापिने कारणले हुन्छ । त्यस्तै संक्रमण ट्युमर, क्यान्सरको कारणले पनि ढाड दुख्ने गर्छ ।

कतिपयमा मेरुदण्डको हाडसँग सम्बन्धित क्यान्सर भएका कारण पनि दुखाइ हुन्छ । यदि बच्चा हो भने लडेर चोटपटक लागेमा यस्तो समस्या निम्तन्छ ।

कुर्सीमा बसेर काम गर्नेहरुलाई यो समस्या बढी भएको गुनासो सुनिन्छ । यसको खास कारण के होला?

बसेर काम गर्दा मेरुदण्डको हाडको बिचमा बढी प्रेसर पर्ने हुन्छ । यसकारण कुर्सीमा बसेर काम गर्नेहरुलाइ ढाड दुख्ने समस्या बढी हुन्छ ।

यसबाट बच्न के गर्ने ?

यस्तो समस्याको कुनै औषधि हुँदैन । आफैंले सावधानी अपनाउनुपर्छ । लामो समयसम्म एउटै पोजिसनमा बसेर काम नगर्ने, कुर्सीमा बसेर काम गर्नेहरुले ढाडको सहायताको लागि कुसन राख्ने, प्रत्येक १/२ घण्टामा दश/पन्ध्र मिनेट उठ्ने, हाड बलियो बनाउने थेरापी व्यायामहरु गर्ने गर्नुपर्छ ।

बालबालिकालाई जन्मजात रूपमा हुने मेरुदण्डको समस्याबाट त बच्न सकिँदैन । तर ढाड दुख्ने समस्या र चोटपटक लाग्ने समस्याबाट भने बच्न सकिन्छ । मेकानिकल ब्याक पेनबाट बच्न बस्ने पोस्चर मिलाउनुपर्ने हुन्छ । सिधा भएर बस्नुपर्छ, लामो समय एकै ठाउँमा नबस्ने, निहुरिएर काम नगर्ने र दैनिक व्यायाम गर्नुपर्छ । चोटपटक लाग्न नदिन सचेत भएर सवारी साधन चलाउने, रुख तथा अन्य अग्लो ठाउँमा चढ्दा सेफ्टी प्रयोग गर्नुपर्छ । कुनै मेरुदण्डको समस्या समयमै उपचार भएन भने प्यारालाइसिस हुन सक्ने खतरा हुँदा समस्या हुने बित्तिकै डाक्टरसँग परामर्श लिनु जरुरी छ । यस्तै वृद्धावस्थामा देखापर्ने मेरुदण्डको समस्याबाट बच्न दैनिक व्यायाम गर्ने, हड्डी बलियो बनाउन क्याल्सियम र प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । साथै शरीरमा भिटामिन ‘डी’को मात्रा सन्तुलित राख्न घाम ताप्ने, हड्डी बलियो बनाउन भिटामिन ‘डी’ र ‘सी’ सप्लिमेन्टहरूको सेवन गर्नुहोस् ।

मेरुदण्ड दुखाइलाई बेवास्ता गर्दा के–कस्ता जटिलताहरु निम्तन सक्छन् ?

यो सामान्य र साझा समस्या हो । जस्तै काम गरेर, बसेर ढाड दुखेको छ भने त्यस्ता गतिविधिहरु कम गर्नुपर्छ । तर ढाड दुखाइका अन्य विविध कारणहरु पनि छन् । मेकानिकल पेन र हड्डी खिइएर दुखेको हो भने यत्तिकै छाड्दा हुन्छ तर इन्फेक्सन, ट्युमर, ट्युबरक्लोसिस, क्यान्सरका कारणले पनि ढाड दुख्ने समस्या हुन्छ । यसकारण निरन्तर ढाडको समस्या भइरहेको छ भने चिकित्सलाई देखाउनुपर्छ ।

कुन उमेर समूहका व्यक्तिहरुमा विशेषत यो समस्या देखापर्छ ?

५०–६० उमेर माथिका वृद्घा व्यक्तिहरुमा ढाडको समस्या धेरै मात्रामा देखिन्छ । यद्यपि युवा वयस्कमा नहुने भन्ने होइन । युवा जमात पनि उतिकै मात्रामा आउनुहुन्छ । बालबालिकाको हकमा भने यो समस्या अलि कम देखिन्छ ।

कस्तो अवस्थामा अस्पताल जाने ?

दैनिक जीवनका क्रियाकलाप नै गर्न नसकिने गरी ढाड दुखेमा चिकित्सकको सल्लाह लिनुपर्छ । ढाडको दुखाइ दिनप्रतिदिन बढ्दै गएमा पनि उपचार गराउनुपर्छ । औषधि खाँदा समेत निको नभएमा, आराम गर्दा पनि दुखेमा पनि भित्री रूपमा कुनै समस्या भएको हुन सक्छ । त्यस्तै खुट्टामा झमझम वा कमजोरी भएमा वा हिँड्दा गाह्रो भएमा  या दिसापिसाबको नियन्त्रण नभएमा पनि अस्पताल जानुपर्छ । यदि ढाड दुखेसँगै ज्वरो आएमा पनि जाँच गराइहाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?