मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घुमघाम

गुराँसको राजधानी गुफापोखरी

काठमाडौँ– घुम्न वा रमाइलो गर्न मन नलाग्ने को पो होला र ? हामीमध्ये अधिकांश रमाइलो गर्न भनेपछि मरिहत्ते गरिहाल्छौँ । अझ घर र कार्यालयमा व्यस्त हुनेहरु त लामो बिदा हुन नपाउँदै घुम्नको लागि योजना बनाउन थालिहाल्छन् ।

यदि तपाईँ पनि यस्तै रमाइलो र घुम्नको लागि योजना बनाउँदै हुनुहुन्छ भने संखुवासभाको गुफापोखरी राम्रो गन्तव्य हुन सक्छ । जहाँ तपाईंहरु सामुहिक रुपमा सवारी साधनमा बसेर यात्रा र ट्रेकिङमार्फत पनि पुग्न सक्नुहुन्छ । यहाँ पुग्नको लागि तपाईं काठमाडौँबाट इलाम हुँदै जान सक्नुहुन्छ । यदि यस अघि इलाम कहिल्यै जानु भएको छैन भने त्यहाँको फिदिम र माइपोखरी क्षेत्र घुमेर पनि गुफापोखरीको यात्रा गर्न सक्नुहुन्छ ।

माइपोखरीमा नौ वटा कुना रहेका छन् । माइपोखरी जाने पर्यटकहरुले पोखरीका ती सबै कुनालाई घुमेर पूजा गर्ने गर्छन् । दुवै क्षेत्रको दर्शनपछि मैवाखोला क्षेत्रमा जान सक्नुहुन्छ । यहाँ रहेको बजारमा तपाईंहरु केही बेर आराम गरी चिया नास्ता खान सक्नुहुन्छ । अझ यहाँको छुटाउन नहुने भनेको सुँगुरको मासु अर्थात् पोर्क आइटम हो । जुन अन्य क्षेत्रको तुलनामा स्पेशल पाइन्छ ।

लामो समय गाडीको यात्रापछि साँघु क्षेत्र आइपुग्छ । यहाँबाट करिब आठ देखि नौ घण्टाको पैदल यात्रापछि गुफापोखरी क्षेत्र पुग्नुहुन्छ ।

गुफापोखरी नामले मात्रै नभई प्राकृतिक रुपमा पनि भरिपूर्ण रहेको छ । सामुन्द्रिक सतहबाट २,८९० मिटर उचाइमा रहेको यो पोखरीमा एकाबिहानै मकालु र कञ्चनजङ्गाको छाया देख्न सकिन्छ । पोखरी डाँडामा रहेको एक मात्रै पोखरी हो ।

पोखरीमा जुनसुकै समयमा गएर पनि तपाईं रमाउन सक्नुहुन्छ । किनकि हिउँ खेल्न रुची राख्नेहरु हिउँदयाममा जान सक्नुहुन्छ । यस समयमा हिउँले नाङ्गा डाँडाकाँडाहरु ढपक्क छोपिएका हुन्छ । गुराँस फूलसँग रमाउन चाहनेहरु चैत र वैशाखको समयमा जान सक्नुहुन्छ ।

जुनबेला यहाँका हरियाली जङ्गलहरु विभिन्न रङ्गका गुराँसहरुले ढपक्क भइसकेका हुन्छन् । यस क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातीका गुराँसहरु यही स्थानमा पाइन्छ । यसले गर्दा पनि तपार्इं गुराँसमा मज्जाले रमाउन सक्नुहुन्छ । यहाँ नेपालको मात्रै नभई भारतीय पर्यटकहरु पनि जाने गर्छन् । गुफा पोखरीलाई गुराँसको राजधानीको रुपमा पनि चिनिने गरिन्छ । यहाँ गुराँस टिप्न निषेधसमेत गरिएको छ ।

गुफापोखरी जानको लागि तेह्रथुम, ताप्लेजुङ र संखुवासभा पर्ने तीनजुरे, मिल्के र जलजले नामक तीन पहाडी क्षेत्रहरु पार गर्नुपर्छ । गुफापोखरीलाई यी तीन पहाडको सङ्गमको रुपमा पनि लिने गरिन्छ । यति मात्रै नभई टिएमजे बसन्तपुरको क्षेत्र पनि रहेको छ ।

यात्राको क्रममा कहिले गुराँसको घना जङ्गल त कहिले उकालो बाटो हुँदै पैदल यात्रा गर्नुपर्ने हुन्छ । तर हरेक यात्रामा स्मरणीय र रमाइलो बनाउनको लागि यहाँबाट देखिन विभिन्न हिमालले पनि साथ दिने छ ।

यहाँ बस्न र खानको लागि विभिन्न होटल तथा होमस्टेहरु सञ्चालनमा रहेका छन् । ती होमस्टे तथा होटलहरुले स्थानीय क्षेत्रमा पाइने विभिन्न परिकारहरुसमेत पर्यटकको लागि पस्कने छ ।

यहाँबाट आकाश खुलेको बेला भोजपुरसम्मको डाँडा मात्रै देखिँदैन । हिमाल र सूर्यदय र सूर्यास्तलाई पनि नजिकबाट नियाल्न सकिन्छ । त्यसैले पनि घुम्न सौखिन व्यक्तिहरु संखुवासभाको चैनपुर नगरपालिकामा रहेको गुफापोखरी पुग्नेपर्छ ।

यसका साथै धरानबाट बसन्तपुर हुँदै देउरालीबाट कालोपत्रे सडक हुँदै वा देउरालीबाट २८ कि.मी. कच्ची सडक हुँदे पनि गुफापोखरी पुग्न सकिन्छ । यहाँको लागि तपाईंहरुले करिब चार वा पाँच दिनको समय निकाल्नु पर्छ । यस अवधिमा पूर्व नेपालमा रहेको विभिन्न प्राकृतिक तथा धार्मिक गन्तव्यहरु जस्तै इलाम, फिदिम, माइपोखरी, पाथीभरा लगायतका क्षेत्रहरु घुमेर आउनु सक्नुहुन्छ । यसका साथै लिम्बु र राई समुदायलाई पनि नजिकबाट नियालेर आउन सक्नुुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?