काठमाडौँ– गुल्मीस्थित ठूलोलुम्पेक सत्यवती क्षेत्र प्राकृतिक एवं सांस्कृतिक रुपमा सम्पन्न छ ।
आदिवासी मिथकीय सौन्दर्य होस् संस्कृतिहरुले सत्यवती क्षेत्र सजिएको छ । चैत्र वैशाख याममा फुल्ने लालीगुराँसको सौन्दर्यले त्यहाँको सुन्दरताले अझै निखार ल्याउँछ ।
ठूलोलुम्पेक सत्यवती क्षेत्रको यथावत रहेको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यलाई अझै माथि उठाउन यतिबेला गाउँपालिका एवं स्थानीय कलाकारहरुले कला सिर्जनाको बाटो समाएका छन् ।
यतिबेला कलाकारहरु ठूलोलुम्पेक सत्यवती क्षेत्रको वनजङ्गलमा त्यतिकै खेर गइरहेको गुराँसका ठुटाहरु बटुल्दै कलाको स्वरुपमा ढाल्न अभ्यस्त छन् ।
उनीहरुले सत्यवती क्षेत्रलाई सिँगार्न सुकेका गुराँसका ठुटाहरु प्रयोग गरेर विभिन्न आकार र प्रकारका मूर्तिकलाहरु बनाइरहेका छन् । उनीहरुले ती गुराँसका ठुटाहरुमा नै आदिवासी सौन्दर्य र संस्कृतिलाई झल्काउने मूर्तिकला सिर्जना गरिरहेका छन् ।
ग्रामीण प्रवर्धनका लागि काष्ठकला, चित्रकला तथा मूर्तिकला कार्यशाला–२०८१’ शीर्षकमा ठूलोलुम्पेक सत्यवतीमा कार्तिक १ गतेदेखि शुरु गरिएको कार्यशालामा कलाकारहरुले मूर्तिकला सिर्जना थालनी गरेका हुन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, सत्यवती गाउँपालिका र सत्यवती क्षेत्र संरक्षण तथा पर्यटन विकास केन्द्र– नेपाल(साकटेक–नेपाल)को सहकार्यमा कार्यशाला गरिएको हो ।
कला मार्फत ग्रामिण सौन्दर्यलाई प्रवद्र्धन गर्दै कला सिर्जनाको आरम्भ गरिएको प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख प्राज्ञ तथा मूर्तिकार दिनेश्वर महत्तोले बताए । कला कार्यशालामा सहभागी हुन महत्तो पनि त्यहाँ पुगेका छन् ।
‘गाउँपालिका र स्थानीय कलाकारहरुले बनाउनुभएको योजनामा प्रतिष्ठानले सहकार्य गरेको हो । यसले गाउँपालिका मात्र नभएर अन्य स्थानीय तहमा राम्रो सन्देश प्रभाव हुन सक्छ,’ उनले भने ।
कार्यशालामा कार्तिक ५ गतेदेखि चित्रकला सिर्जना समेत शुरु गरिएको छ । मूर्तिकला तथा चित्रकलाको माध्यममा सत्यवती क्षेत्रलाई चिनाउन १० दिने कार्यशाला गरिएको कार्यशालामा सहभागी स्थानीय मूर्तिकार भुवन थापा मगरले जोय नेपालसँगको कुराकानीमा बताए ।
उनका अनुसार सुकेका गुराँसका ठुटाहरुमा मूर्तिकला सिर्जना कार्यले स्थानीयलाई कला सिर्जनाप्रति चाख बढेको छ । जसमा मूर्तिकला सिर्जनाको मुख्य थिम नै ‘आदिवासी ज्ञान र संस्कृति’ रहेको छ ।
‘कार्यशालाको मुख्य उद्देश्य नै यहाँको प्राकृतिक र आदिवासी सांस्कृतिक मिथकहरुलाई खोतल्नु हो,’ उनले भने, ‘हामीले सुकेका गुराँसका ठुटाहरुमा मूर्तिकला सिर्जना गरिरहेका छौं । यसमा स्थानीयहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन् ।’
कार्यशालामा चित्र तथा मूर्तिकला गरी तीन दर्जनभन्दा बढी कलाकृतिहरु सिर्जना हुने उनको अनुमान छ । कला सिर्जनाका लागि स्थानीय कलाकारहरु र गाउँपालिकाले दुई वर्ष अघि नै बनाएको योजनाले मूर्त रुप लिएकोमा उनले खुसी व्यक्त गरे ।
सिर्जना भएका कलाकृतिहरु मंसिर पूर्णिमाको अवसरमा ठूलोलुम्पेक सत्यवतीमा हुने मेलामा प्रदर्शन गरिने उनले सुनाए । कलाकृतिहरुले ठूलोलुम्पेक सत्यवती क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।
प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा मूर्तिकार नरेन्द्र भण्डारीको संयोजनमा जारी कार्यशालामा मूर्तिकार थापा मगरसँगै याम थापा मगर, श्याम प्रजापति, विशाल सारु मगर, गोविन्द चौधरी, सुमित्रा राना सुतपराई, सुजना श्रीस, रिमा मिधुन, वेनु थापा, हरि बयम्वु लगायतका मूर्तिकार तथा चित्रकारहरु सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया