मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले संस्कृति मन्त्रालयलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडौँ– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएको छ ।

मङ्गलबार प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई प्रतिष्ठानका कुलपति नारमदणि हार्तम्छालीले वार्षिक प्रतिवेदन बुझाएको हो ।

उक्त अवसरमा मन्त्री पाण्डेले असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण प्रतिष्ठानले क्षति व्यहोर्नुपरेको र आफ्नो व्यस्तताका कारण पनि प्रतिवेदन बुझ्न केही ढिलो भएको बताउँदै प्रतिवेदन प्रधानमन्त्रीलाई समेत बुझाउने बताए ।

उनले देश सङ्घीय संरचनामा गइसकेपछि प्रदेश तथा पालिकामा समेत प्रज्ञा–प्रतिष्ठानहरू बन्नेक्रम बढेको तर यसमा केन्द्रका प्रज्ञा–प्रतिष्ठानसँगको समन्वय तथा एकरूपतामा भने ध्यान दिनुपर्ने आवश्यकता रहेको धारणा राखे । ‘प्रतिष्ठानहरू भनेका हाम्रा थिङ्कट्याङ्क हुन् । तपाईंहरूले सीमित स्रोत र साधनका बिच पनि राम्रो काम गरिरहनुभएको छ । मन्त्रालयले यसमा सक्दो सहयोग गर्ने छ’, पाण्डेले भने ।

उनले प्रतिष्ठानबाट थप काम र गतिशीलताको अपेक्षा गरेको सुनाउँदै यथोचित समन्वय र सहकार्य गर्दै अगाडि बढ्न आफू प्रतिबद्ध रहेको बताए । कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठुलो योगदान पुगेको बताउँदै मन्त्री पाण्डेले ललितकलाको विकास गर्नु प्रतिष्ठानको दायित्वसमेत भएको सुनाए । उनले प्रतिष्ठानले लिएका नीति तथा कार्यक्रमले देशको कला र संस्कृतिमा सकारात्मक प्रभाव पर्ने विश्वास आफूले लिएको विचार व्यक्त गरे ।

प्रतिष्ठानका कुलपति हार्तम्छालीले प्रतिष्ठानबाट उल्लेख गरिएका कुरालाई चासो लिई समय दिनुभएकोमा मन्त्री पाण्डेप्रति आभार व्यक्त गर्दै केन्द्रका प्रतिष्ठानहरू र मन्त्रालयका बिचमा आवश्यक सहकार्य तथा संवादलाई अझ घनीभूत बनाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘यसले हामीबिचमा अझ प्रगाढ सम्बन्ध बनाउँछ । उनका अनुसार नेपालको ललितकलाको विकासका लागि प्रतिष्ठानले रणनीतिक योजना तय गरेर अगाडि बढेको र त्यसले सकारात्मक प्रभाव परेको छ ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले आ.व. २०८०/०८१ मा प्रतिष्ठानले गरेका राष्ट्रिय ललितकला प्रदर्शनी, प्रादेशिक ललितकला प्रदर्शनीको विस्तृत जानकारी गराउँदै प्रतिष्ठानले देशका हरेक प्रदेशमा एक–एक कला हब बनाउने योजनाअनुसार रामेछापको सुनापति गाउँपालिकामा थाङ्का हबको काम अघि बढ्नुका साथै दाङको गढवामा सेरामिक्स हबको सम्भाव्यता अध्ययन सकिसकेको सुनाए ।

उनले अन्य बाँकी प्रदेशमा छलफल चलिरहेको जानकारी समेत दिए । उनका अनुसार काठमाडौं ट्रिएनालेमार्फत नेपाली कलाको अन्तर्राष्ट्रिय पहिचान दिलाउने गरी साझेदार संस्था सिद्धार्थ आर्ट फाउण्डेसनसँग मिलेर तयारी भइरहेको छ ।

उनले आ.व. २०८०÷०८१ मा प्रतिष्ठानले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गरेका भित्तेचित्र, शिक्षामा सिपलगायतका कार्यक्रम तथा आगामी दिनमा गरिने कार्यक्रम, वैश्विक तापमान वृद्धिका कारण नेपाललगायतका हिमाली क्षेत्रमा परेका असर र त्यसका लागि गर्नुपर्ने कार्यका बारेमा सन्देश दिने हिमालयको रहस्य प्रदर्शनी, देशका विभिन्न स्थानमा गरिएका कार्यशाला, प्राज्ञिक भेला, गोष्ठी, प्रदर्शनी, कलाकार उपचार कोषलगायतका विषयमा सङ्क्षिप्त रूपमा चर्चा गरे ।

ललितकलाका क्षेत्रमा खोज, अनुसन्धानमा थुप्रै काम गर्न बाँकी रहेको बताउँदै उनले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको ललितकला क्षेत्रका यी विविध काम गर्न पर्याप्त बजेट र प्रतिष्ठानमा स्थायी कर्मचारीको व्यवस्था हुनुपर्ने धारणा राखे ।

प्रतिष्ठानले एसिया स्तरको सङ्ग्रहालय बनाउने गरी तयारी गरिरहेको जनाउँदै उनले नेपाली ललितकलाको विकास, संरक्षण, प्रवर्धन तथा संवर्धन सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिए । सामाजिक रुपान्तरणको अभियानमा प्रतिष्ठानले विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

उक्त अवसरमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू सौरगंगा दर्शनधारी, संजय वान्तवा राई, अरुणा हिङमाङ, उपप्रशासन प्रमुख कमलमणि काफ्ले, लेखा अधिकृत पंकज अधिकारी एवम् मन्त्रालयका विभिन्न शाखा र निकायका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?