मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समाजसेवी इन्द्र तामाङको आत्मकथामा काठमाडौँदेखि अमेरिकासम्मको भोगाइ

काठमाडौँ– समाजसेवी इन्द्र तामाङको आत्मकथा ‘माई क्युरियस इअर्स वीथ चाल्र्स हेनरीफोर्ड द अटोबायोग्राफी अफ इन्द्र बी.तामाङ’ लोकार्पण भएको छ ।

पुस्तकमा तामाङको आत्मकथामा काठमाडौंदेखि अमेरिकासम्म भोगाइहरु छन् । अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटमा रहेको हिमालयन रेष्टुरेन्ट एण्ड बारमा स्थानीय समयअनुसार आइतबार वाणिज्यदुत विष्णुकुमारी अधिकारी र आचार्य लामा गुरु दावा साङमोले पुस्तक लोकार्पण गरेका हुन् ।

५० वर्षअघि मकवानपुरको फाखेलबाट न्युयोर्क पुगेका तामाङले आत्मकथामा काठमाडौंदेखि अमेरिकासम्म बसाइँका क्रममा आफूले देखे/भोगेका अनुभूतिहरुलाई समेटेर पुस्तकको स्वरुपमा ल्याएका हुन् ।

लेखक तामाङले नेपालीलाई इमान्दार तथा सङ्घर्षशील रुपमा विश्वमा चिनाउने काम गरेको उल्लेख गर्दै वाणिज्यदूत अधिकारीले पुस्तकले धेरैलाई प्रेरणा दिने बताइन् । त्यस्तै, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा सोसाइटी अफ अमेरिका सल्लाहकार राम तामाङले काठमाडौंदेखि अमेरिकासम्म बसाइँका अनुभवहरुलाई आत्मकथामा सँगालेको बताए ।

सामाजिक अभियन्ता शशांक लामाले लेखक इन्द्रले आफ्ना इच्छा र चाहनाहरुलाई दबाएर चाल्र्स हेनरीफोर्ड र चाल्र्सकी बहिनी नायिका, मोडल रुथलाई सेवा गर्नु ठुलो योगदान भएको बताए ।

चाल्र्ससँगै विश्व भ्रमणका क्रममा तामाङले चित्रकला तथा फोटोग्राफी समेत सिकेका थिए । लेखक तामाङको जीवन अनुभवलाई पुस्तकको रुपमा ल्याउन लेखक, गीतकार, सम्पादक रोमी एस्बीले साथ दिएका छन् । टर्टल पोइन्ट प्रेसले बजारमा ल्याएको २ सय ६४ पेजको पुस्तकको मुल्य २४ अमेरिकी डलर रहेको छ । प्रकाशकका अनुसार पुस्तक डिजिटल प्लेटफर्म अमेजोनमासमेत उपलब्ध रहेकोे छ ।

को हुन् इन्द्र तामाङ ?

मकवानपुरको फाखेलका इन्द्र तामाङ सन् १९७४ मा २१ वर्षको उमेरमा अमेरिका पुगेका थिए । अमेरिकी लेखक, फोटोग्राफर तथा सिनेमा निर्देशक चाल्र्स हेनरी फोर्डको सहयोगीका रूपमा अमेरिका पुगेका उनको जन्म विसं २००९ सालमा फागेलमा भएको थियो ।

नौ वर्षको उमेरमा नै तरकारी र दाउरा बोकेर काठमाडौंमा बिक्रीका लागि आएका उनले गाउँकै अग्रजको सहयोगमा न्युरोडस्थित खिचापोखरीमा रहेको पानोरामा होटेलमा जागिर शुरु गरेका थिए ।

यही क्रममा उनले फोर्डको सहयोगीको रूपमा काम थालेका थिए । चाल्र्सको घर ग्रिसमा रहेपनि उनको पेरिस र न्युयोर्कमा बस्नका लागि फ्लाइट थियो । उनैको पछि लागेर अमेरिका आएका तामाङले चाल्र्सकै सिको गर्दै फुर्सदको समयमा चित्रकला र फोटोग्राफी सिके ।

सन् २००२ मा चाल्र्सको निधनपछि लगभग सात वर्ष उनले चाल्सकी बहिनी चलचित्र अभिनेत्री रुथ फोर्डको हेरचाहमा बिताए । यस अवधिसम्म उनले मासिक तलबको रुपमा शुल्क कहिल्यै पाएनन् । चाल्र्सकी बहिनीको निधनपछि मात्र चाल्र्स र उनीकी बहिनीले आफ्नो नाममा भएको सबै सम्पत्ति उनको नाममा नामसारी गरी वकिललाई कागज थमाएको थाहा पाए ।

अमेरिकाको सबैभन्दा महँगो क्षेत्र मानिने म्यानहाटनमा उनले सिङ्गो फ्लाइट पाएका छन् । यस क्रममा उनले समाजसेवामा समेत आफूलाई समर्पित गरे ।

अमेरिकामामात्र हैन नेपालमासमेत विभिन्न क्षेत्रमा तामाङले सहयोग गर्दै आएका छन् । उनी तामाङ सासाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा तामाङ सांस्कृतिक तथा बुद्धिष्ट सेन्टरका संयोजक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?