मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ठेट शब्द र मौलिक लयमा गीति सिर्जना गर्ने दुतराजको ‘रेशम’ मा भेडा गोठालोको प्रेमकथा

काठमाडौँ– ग्रामिण परिवेश र जीवनलाई मौलिक लयमा ढाल्न खप्पिस छन्, गायक प्रकाश दुतराज । उनको गीति रचना मात्र होइन, स्वर र प्रयुक्त भिडियोमा समेत गाउँबस्तीको दुख सुखका कथा, व्यथाहरु र त्यहाँको सौन्दर्य झल्कन्छन् । आधुनिक परिवेशको स्वाद चाखेकाहरु समेत प्रकाशका गीति सिर्जनाले गाउँबस्तीसँग बसेको स्मरणका तिर्खा मेटाउँछन् ।

‘आरने,’ ‘बैनी झ्यालैमा,’ ‘घर कता हो बैनीको,’ ‘जाम भो माइली,’ ‘रिमै’ जस्ता उनका गीति सिर्जनामा ग्रामिण बस्तीमा ओझेल परेका लोकलयहरुका माया पिरतीदेखि सिमान्तकृत वर्गका कथाव्यथा चित्रण भएका हुन्छन् । उनका सिर्जनाहरुलाई आम दर्शक/स्रोताले पनि भरपूर माया दिएका छन् ।

आम दर्शक/स्रोताको यही मायालाई संगाल्दै यतिबेला भने प्रकाशले ग्रामिण सौन्दर्यमा फुलेको मायाप्रेमकै कथालाई समेटेर ‘रेशम’ गीत ल्याएका छन् । दशैंको छेकोमा सार्वजनिक भएको गीतमा भेडा गोठालोको मर्मस्पर्शी प्रेमकथालाई प्रस्तुत गरिएको छ । गीतलाई आम दर्शक/स्रोताले अत्यधिक रुचाएका छन् । सार्वजनिक भएको दुई साता नबित्दै गीतले हालसम्ममा ७.३ मिलियन भ्युज बटुलिसकेको छ ।

सामाजिक सञ्जाल टिकटकमा यही गीतमा भिडियो बनाउनेको लहर छ । यसअघि सार्वजनिक भएको उनको गीत ‘रिमै’मा हालसम्ममा ४६ मिलियन भ्युज छ । जुन गीतमा राउटे समुदायको कला, संस्कृति, जीवन र प्रेम कथालाई समावेश गरिएको छ ।

उनको पछिल्लो गीत ‘रेशम’ मा शब्द तथा सङ्गीत प्रकाशकै रहेको छ भने उनलाई स्वरमा साथ गायिका मेलिना राईले दिएकी छिन् । धादिङको उत्तरी भेग रुबी भ्यालीमा छायाङ्कन गरिएको गीतको भिडियोमा लेकाली परिवेश र सौन्दर्यलाई निकै उत्कृष्ट ढङ्गले देखाइएको छ । एक भेडी गोठालो युवकसँग बसेको प्रेम र वियोगलाई गीतको भिडियोमा देख्न सकिन्छ । भिडियोमा प्रकाशसँगै बिमला लिम्बूको अभिनय देख्न सकिन्छ ।

गायन र गीत रचनामा समेत स्थापित प्रकाश अभिनयमा समेत उत्तिकै दखल छन् । उनका लोकप्रिय गीतहरुमा उनको गायनसँगै अभिनयलाई आम सङ्गीतप्रेमीहरुले रुचाएका छन् । अनिल मानन्धरको छायाङ्कन रहेको भिडियोको कथा, नृत्य निर्देशन भने मौसम हिमालीले गरेका छन् ।

म्याग्दीका प्रकाशले ६० को दशकमा औपचारिक रुपमा साङ्गीतिक जीवनको शुरुवात गरेका थिए । गाउँघर र मेलापातमा गुञ्जिने लोकभाका, ग्रामिण जीवनका लय र त्यहाँका पीडाहरुमै उनका गीति सिर्जनाका स्रोतहरु हुन् । गाउँबस्तीमा बोलिने ठेट शब्द तथा लयहरु अनि मौलिक दृश्यहरु नै उनको गीति सिर्जनाका विशेषताहरु हुन् ।

वि.सं.२०६६ सालमा ‘सिमसिम पर्‍यो पानी’ गीतबाट साङ्गीतिक यात्रा थालनी गरेका उनले ‘जाम माया बेनीको बजार,’ ‘फूलवाली,’ ‘पछ्यौरीको तातो,’ ‘चोली मैलो भो’ लगायतका गीतहरु सङ्गीतप्रेमीहरु माझ ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?