मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चितुवा बस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित

राँझा ‘बाँके’ – चितुवाले घरमा आएर मानवीय क्षति पुर्‍याउन थालेपछि खजुरा गाउँपालिका–६ सिमलघारीका स्थानीय त्रसित भएका छन् । स्थानीय गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।

गत भदौ ३० गते घरबाट स्थानीय वीरन्द्र पुनकी तीन वर्षीया बालिका लक्ष्मी पुनलाई चितुवाले आक्रमण गरी ज्यान लिएपछि सिमलघारीवासी त्रसित बनेका स्थानीय विनोद शाहीले बताए । “चितुवाले यसअघि पनि पटकपटक खोरमा राखेका बाख्रा तान्ने गरेको थियो, अहिले मान्छे तान्न थाल्यो”, उनले भने, “घरको आँगनमा खेल्दै गरेकी बालिकालाई चितुवाले लगेपछि असुरक्षा बढेको छ ।”

बालिकाको घरदेखि करिब एक किलोमिटर पश्चिमतर्फको गिजरा सामुदायिक वनको जङ्गलमा टाउको र एउटा खुट्टा फेला परेको थियो । सिमलघारी बस्ती नजिकै मानखोला किनारमा गिजरा सामुदायिक वन पर्दछ ।

मानखोला पारी बर्दिया जिल्लातर्फ ठूलो जङ्गल रहेकाले राति जङ्गली जनावर मानव बस्तीमा आउने गरेका खजुरा–६ का वडाध्यक्ष फारुख शेषले बताए । जङ्गली जनावरका कारण स्थानीयवासी एक्लै हिँडडुल गर्न, घरायसी काममा निस्कन, दाउँरा, घाँस गर्नसमेत डराउनुपर्ने स्थिति आएको उनले उल्लेख गरे ।

गिजरा वनबाट दुई चितुवा नियन्त्रणमा लिए पनि स्थानीयको त्रास घटेको छैन । गत भदौमा बालिकाको चितुवाले ज्यान लिएपछि डिभिजन वन कार्यालय बाँकेले गत असोज १ गतेदेखि चितुवा नियन्त्रणमा लिन खोजतलास र नियन्त्रणको कार्य सुरु गरेको थियो ।

खोजतलासका क्रममा हालसम्म दुई चितुवा खोर ‘केज’ मा परेका डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले जानकारी दिए । सामुदायिक वनमा अझै पनि चितुवा देखिएकाले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।

गत असोज १८ गते र २५ गते दुई चितुवा नियन्त्रणमा लिई चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको वरिष्ठ वन अधिकृत चौधरीले बताए । उनका अनुसार चितुवालाई नियन्त्रणमा लिन असोज १ गतेदेखि वन क्षेत्रमा तीन वटा फलामको खोर र वनका पाँच स्थानमा पाँच वटा सिसी क्यामेरा जडान गरी निगरानी गरिएको थियो । उनका अनुसार एक हप्ताभित्र दुई चितुवा नियन्त्रणमा आएका छन् ।

बाँके र बर्दियाको सीमावर्ती क्षेत्र मानखोलाको किनारमा पर्ने गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित हुँदै आएका छन् । दुईवटा चितुवा नियन्त्रणमा आएपछि केही राहत महसुस भएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले बताए । वन क्षेत्रमा अझै चितुवा रहेकाले खोजी नियन्त्रणमा लिने प्रयास भइरहेको भन्दै उनले स्थानीयलाई आवश्यक सर्तकता अपनाउन आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?