मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रभाववादी चित्रकलाका पिता क्लाउड मोनेट

काठमाडौँ– फ्रान्सेली प्रभाववादी (इमप्रेसनिस्ट) चित्रकारको रुपमा ओस्कार क्लाउड मोनेटको नाम विश्व कला इतिहासमा प्रसिद्ध छ । उनलाई फ्रान्सेली प्रभाववादी चित्रकारको पिताका रुपमा लिइन्छ । उनले नै प्रभाववादी चित्र सिर्जनाको शुरुवात गरेका थिए । उनले प्रभाववादी चित्र सिर्जनाको शुरुवात मात्रै गरेनन्, ‘इम्प्रेसन सनराइज (१८७२) जस्ता उनको कलाले यस विधालाई स्थापित नै गरिदियो । मोनेटले आफ्ना चित्रहरूमा प्रकाश, वायुमण्डल र रंगको क्षणिक प्रभावहरू कैद गर्नका लागि ब्रसको स्ट्रोकहरू प्रयोग गरेका छन् ।

उनको सिर्जनाले परम्परागत दृष्टिकोण र मापदण्डहरूबाट निर्देशित भइरहेको कला धारलाई आधुनिकतातिर लैजान मार्गप्रशस्त गर्न भूमिका खेल्यो । उनका ‘वाटर लिलिज,’ ‘हाउस अफ पार्लियामेन्ट’ जस्ता चित्रहरु प्रसिद्ध छन् । सन् १८४०, नाभेम्वर १४ मा फ्रान्सको राजधानी पेरिसमा जन्मिएका क्लाउडको बाल्यकाल समुद्री क्षेत्रमा बितेको थियो । उनी पाँच वर्षको हुँदा परिवार हाभ्रे नजिकैको नर्मन्डी तटमा सरेका थिए ।

उनका बुवा एडोल्फले जहाजको उपकरण आपूर्ति र कारोबार गर्ने व्यवस्थापनको जिम्मा लिएका थिए । उनको परिवारले समुद्र किनारमा बसेर सानो किराना पसल सञ्चालन गरेका थिए । यो बसाइँ नै उनका लागि कला सिर्जनामा लाग्ने महत्वपूर्ण आधार बन्यो । समुद्र किनारमा बसेर नै उनले प्रकृतिको परिवर्तित स्वरुपहरुलाई प्रत्यक्ष नियाल्न पाए । समुद्र तटमा बिताएको समयमा उनले मौसम परिवर्तन र प्रकृतिका स्वरुपहरुलाई नियाले । जहाँ उनले प्रकृतिको ताजा स्वरुपहरु दर्शन गर्ने अवसर प्राप्त गरे । समुद्र किनारको छाल होस् या पानीको बहाव, दिनभरीमा हुने मौसम र यसमा आउने परिवर्तनहरु देखेर उनी निकै उत्साहित हुन्थे ।

१५ वर्षको उमेरदेखि नै उनले कला सिर्जना शुरु गरिसकेका थिए । त्यसबेला उनले चारकोलमा आफ्नै नामका केही क्यारिकेचर स्केचहरु कोरेका थिए । जुन कलाकृतिहरु उनले १० देखि २० फ्रान्कमा बिक्री गरेका थिए । उनकी काकी मारी जेन लेकाड्रे पनि चित्रकार नै थिइन् । काकीकै सुझावमा मोनेट स्थानीय कलाकारसँग चित्रकला अध्ययन गर्न गरेका थिए । यही क्रममा यूजीन बाउडिनसँग मित्रता भएपछि एक चित्रकारको रूपमा उनको कलायात्रा शुरु भयो । जसले खुला प्रकृतिमा आफ्ना विद्यार्थीहरुलाई चित्रकलाको अभ्यासमा गर्न लगाउँथे ।

यसले गर्दा प्रभाववादी चित्र सिर्जनातिर उनको ध्यान केन्द्रित भयो । १८१० भन्दा पहिले नै जोन कन्स्टेबल, जेएमडब्लु टर्नर जस्ता कलाकारहरुले तेल रङको माध्यममा ल्याण्डस्केप चित्रहरु बनाइसकेका थिए । यद्यपि ती चित्रहरु प्रकृतिको काखमा बसेर प्रत्यक्ष अनुभव गर्नेभन्दा बढी स्टुडियोको कोठा केन्द्रित बढी हुन्थे । १८५९–६० तिर क्याउडले पेरिसको यात्रा गरे । यात्राको उनको उद्देश्य नै कला सिर्जनाहरु अवलोकन गर्नु थियो । जुन यात्रामा उनले देखेका चार्ल्स डौबिग्री र कन्स्टेन्ट ट्रोयोनका चित्रहरुबाट अझै उनी प्रभावित भएका थिए ।

सन् १८६१ मा क्लाउड सेनामा भर्ती भए । उनले अल्जेरियामा बसेर एक वर्षसम्म सैनिकका रुपमा सेवा गरे । कला यात्रा सिर्जना यात्राकै क्रममा पेरिसको कला स्कूल ‘एकेडेमिक अफ सुसेज’ मा भर्ना हुन पुगे । त्यहाँ उनले क्यामिल पिसारोलाई भेटे । कला प्रशिक्षण सेनाद्वारा गरिएको थियो । यही क्रममा उनी सैन्य सेवामा लागेका थिए । यस अवधिमा अझै उनी प्रभाववादी चित्र सिर्जनाका लागि प्रेरित भए ।

१८६२ मा हाब्रेमै फर्किएका उनले फेरि समुद्री तटकै चित्र सिर्जना गर्न शुरु गरे । पेरिसमा कला अध्ययनकै क्रममा उनले शिक्षाविद् चार्ल्स ग्लेयर,  कलाकार फ्रेडरिक बाजिले, अल्फ्रेड सिस्ले र पियरे–अगस्टे रेनोइरलाई भेटे । त्यसपछि यो समूह सिर्जनाकै लागि वनजङ्गल र ग्रामिण बस्तीमा प्रवेश भयो । यस अविधिमा क्लाउडले जापानी प्रिन्ट चित्रहरू पत्ता लगाए । जुन कलाको सजावट र सपाटताले फ्रान्समा आधुनिक चित्रकलाको विकासमा बलियो प्रभाव पारेको थियो ।

१८६५ देखि १८७० सम्मको अवधिमा नै उनले आफ्नो सिर्जनामा उपलब्धि हासिल गरिसकेका थिए । शुरुवाती समयमा आफ्नो ब्रुस्ट्रोकहरुलाई उनले टचहरूमा टुक्रा पार्न थालेका थिए । जुन प्रभाववादी शैलीको पहिचान बन्न थालेका थिए । उनले ऐतिहासिक, रोमान्टिक वा काल्पनिक विषयहरूको सट्टा आधुनिक जीवनका वास्तविक दृश्यहरूलाई आफ्नो सिर्जनामा प्रतिनिधित्व गरे ।

जसले गर्दा उनको कलाकृतिहरुमा प्रकृति र यसका स्वरुपहरुको यथार्थवादको बढी नै प्रभाव र विस्तार भयो । बगैँचा होस् या प्रकृतिका प्रभाववादी सिर्जनाहरु मार्फत उनले जीवनको आनन्द र उत्सवहरुलाई खोजी गरे । विशेषत उनले फरक प्रकाश र मौसममा एउटै आकृतिमा हुने परिवर्तनहरुलाई कलामा जीवन्त रुपमा प्रस्तुत गरे । २० औं शताब्दीको मध्यतिर उनको कलाकृतिहरुले विश्वयात्रा गर्न थालेपछि उनको लोकप्रियता बढेको थियो ।

क्याउडको डिसेम्बर, १९२६ मा ८६ वर्षको उमेरमा फोक्सोको क्यान्सरबाट मृत्यु भएको थियो । उनलाई गिभर्नी चर्चको चिहानमा समाधिस्थि गरिएको थियो । उनको प्रसिद्ध घर, बगैँचा, वाटरलिली पोखरी उनका उत्तराधिकारीहरूले फ्रान्सेली एकेडेमी अफ फाइन आर्ट्स–इन्स्टिट्युटमा १९६६ मा हस्तान्तरण गरेका थिए । फाउन्डेसन क्लाउड मोनेट मार्फत घर र बगैंचाहरू १९८० देखि आम सर्वसाधारणलाई भ्रमणको लागि खुल्ला गरिएको थियो । उनको स्मृति चिन्ह र उनको जीवनका अन्य वस्तुहरूका अतिरिक्त, घरमा जापानी वुडकट प्रिन्टहरूको संग्रह समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?