मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चाडबाडमा पढ्नुस् बजारमा हालै सार्वजनिक भएका यी पुस्तक

काठमाडौँ– बडादशैँ तथा दिपावलीको समयमा लामो समय विदा हुने गर्छ । वर्षभरि अरु समय विदा भए पनि धेरैको भने दशैँदेखि तिहारसम्मको समय अध्ययनमा बिताउने अवसर पनि हुन्छ ।

दशैँअघि कैयन् कृति बजारमा आएका छन् । तीमध्ये केही पुस्तकका बारेमा हामीले चर्चा गरेका छौँ ।

‘एक्लो पृथ्वी एक्लो मान्छे’

‘एक्लो पृथ्वी एक्लो मान्छे’ कवि दीप दर्पणको पहिलो कवितासङ्ग्रह हो । कवितासङ्ग्रहमा ५२ वटा कविताहरु सङ्ग्रहित छन् । सङ्ग्रहमा कवि दर्पणले सामाजिक र मानवीय संवेदनाहरुलाई पोखेका छन् । विशेषत निम्न वर्गको मर्मलाई उनले कविता सिर्जनाहरुमा उतारेका छन् ।

‘घामको पर्खाल’

कवि तथा साहित्यकार सूर्यप्रसाद लाकोजूको कवितासङ्ग्रह ‘घामको पर्खाल’ हालैमात्र रानधानीमा सार्वजनिक गरिएको हो ।  कवि लाकोजूले सङ्ग्रहमा सरल रुपमा सामाजिक यथार्थता, विकृति र विसङ्गतिहरुलाई उजागर गरेका छन् । उनको सिर्जनामा चिन्तन र दर्शनलाई समेत समेटेका छन् । कृतिमा राजनीतिक वितृष्णा र यसको प्रवृत्तिलाई समेत उठान गरिएका छन् । 

‘हिँड्न बाँकी बाटाहरु’

कवि तथा गीतकार अर्जुन दाहालको कवितासङ्ग्रह ‘हिँड्न बाँकी बाटाहरु’ हालै सार्वजनिक भएको हो । आयुर्वेदिक पद्दतिबाट गरिने विशेषत नशा सम्बन्धि उपचारमा सफल आयुर्वेदिक, प्राकृतिक उपचारक, थेरापिस्ट स्वास्थ्यकर्मीका रुपमा परिचित उनको यो पहिलो कवितासंग्रह हो । सरल र सम्प्रेष्य कविताहरूको सँगालोहरुमा युवा पुस्ताका भोगाइ र भावनाहरूलाई यस सङ्ग्रहले प्रतिनिधित्व गरेको छ ।

‘आगोको बीउ’

साहित्यकार युवराज नयाँघरको आत्मपरक निबन्ध सङ्ग्रह ‘आगोको बीउ’ हालै राजधानीमा सार्वजनिक भएको हो । आत्मपरक निबन्धसङ्ग्रह ‘एक हातको ताली’ का लागि २०६५ सालमा मदन पुरस्कार पाएका नयाँघरेको पछिल्लो सङ्ग्रहमा कृतिमा मानव, जीवन, मृत्यु जस्ता मानवीय संवेदना र अनुभूतिहरुलाई प्रस्तुत गरिएको छ । नयाँघरे विशेषत निबन्ध लेखन विधामा लोकप्रिय छन् । नयाँघरेका यसअघि नौ वटा नियात्रासङ्ग्रह र दर्जन हारहारीमा निबन्धका कृतिहरु प्रकाशित छन् । नयाँघरेको यो सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।

‘साँझमा सेल्फी’

कविता तथा आख्यानमा आफूलाई स्थापित गरेका स्रष्टा ‘साँझमा सेल्फी’ कवितासङ्ग्रह ल्याएर आएका आएका छन् । विगत दुई दशकदेखि कविता सिर्जनामा रहेका उनले पछिल्लो कृतिमा समकालीन समय र पुस्तालाई समेटेका छन् । उनका यसअघि ‘पहाड बोकेर पहाडतिर,’ ‘शहर पसेको मान्छे,’ ‘गीतैगीतको गाउँ,’ ‘उल्झन’ जस्ता कृृतिहरु प्रकाशित छन् ।

‘तुइन जीन्दगी’

रेणुका सोलुको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘तुइन जिन्दगी’मा सामाजिक, आर्थिक, राजनीतिक जस्ता दुर्गमताबिच गाँजिएको पुरातना चेतनाविरुद्ध सङ्घर्षरत एक आम नारीको कथालाई उजागर गरेकी छिन् । कृतिको हालै राजधानीमा लोकार्पण गरिएको हो । यसअघि उनका उपन्यासहरु ‘भिरमह(२०७३),’ ‘चिराक(२०७५)’ कथासङ्ग्रह ‘अस्तित्वको खोजी(२०७०),’ गजलसङ्ग्रह ‘संघर्षका पाइला(२०७६),’ ‘अवसरको सगरमाथा(२०६९),’ शोककाव्य ‘शिखरपुरुषप्रति श्रद्धासुमन(२०६७)’ आत्मकथा ‘गुलाफ फुल्न खोज्दा(२०७०),’ ‘उपन्यासकार विशेश्वरप्रसाद कोइरालाका नारीपात्रमा नीति चेतना (समालोचना २०७०)’ लगायतका कृतिहरु प्रकाशित छन् ।

‘सम्मोहन’

नेपाली साहित्यमा कवि तथा कथाकारका रुपमा समेत आफ्नो बलियो पकड बनाएकी राधिका कल्पितको कथासङ्ग्रह ‘सम्मोहन’ बालै बजारमा आएको हो । सङ्ग्रहले सामाजिक एवं मनोवैज्ञानिक चेतलाई उजागर गरेकी छिन् । साथै यसमा समाजमा व्याप्त वर्गीय, लैङ्गिक विभेद र असमानताहरुलाई उजागर गरेकी छिन् ।

‘माखाल’

तेजप्रकाश श्रेष्ठद्वारा लिखित उपन्यास ‘माखाल’ हालै सार्वजनिक भएको हो । उपन्यासमा सीमान्तकृत मेचे समुदायको संस्कृति र राजनीतिक जागरणलाई उठान गरिएको छ । पुस्तकलाई परिचय पब्लिकेसनद्वारा प्रकाशित गरिएको हो । लेखनका अनुसार उपन्यासमा मेचे समुदायले रहेको माखाल अर्थात् समुदायको मुखिया छान्ने व्यवस्था र मेचे समुदायमा ४० को दशकको शुरुवातमा आएको राजनीतिक विषयलाई समेत उटान गरिएको छ ।

‘दर्ज्यु संलाप’

समालोचक एवं निबन्धकार कुमारी लामाको निबन्धसङ्ग्रह ‘दर्ज्यु संलाप’ हालै सार्वजनिक भएको हो । सङ्ग्रहमा लेखक लामाले भावनात्मक एवं तार्किक रुपमा आदिवासी पहिचान, श्रमिक वर्ग, सीमान्तकृत आवाजहरुलाई चित्रण गरेकी छिन् । निबन्धहरुमा नारी, भुँइमान्छे, श्रमिक, दलित वर्गका कथा, पात्र र विचारहरु समेत समावेश छन् । लामाको यसअघि निबन्धसङ्ग्रह ‘उज्यालो अन्धकार’ र ‘समकालीन नेपाली कथामा तेस्रोलिङ्गी चेतना’ प्रकाशित छन् ।

‘सावर्णि’

उपन्यास ‘सावर्णि’मा एआई र रोबोटिक्समा विषयवस्तुलाई समावेश गरिएको छ । बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन पुस्तकलाई हालै राजधानीमा सार्वजनिक गरिएको हो । पुस्तकले विशेषत एआईले नियन्त्रण गर्दै गइरहेको मानवीय शक्ति, यसको प्रभाव र प्रयोगबारे चित्रण गरेको छ । समालोचकहरुले यसलाई साहित्यमा पृथक सिर्जनाको रुपमा लिएका छन् ।

यी बाहेक पत्रकार तथा लेखक बसन्त बस्नेतको उपन्यास ‘सिमसारा,’ कवि सुरज रानाको कवितासङ्ग्रह ‘जब कविता निस्कन्छ जुलुस’मा लगायतका कृतिहरु बजारमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?