जाडो होस् या गर्मीयाम । समय समयमा विभिन्न भाइरल रोगहरूले समाउने गर्छन् । अझ काठमाडौँजस्तो शहरमा त पानी नै फोहोर हुने भएकाले कैयन् रोगको जोखिम हुने गर्छ ।
दुषित पानी, प्रदुषित वातावरण र खानपान सरसरफाइमा ध्यान नदिँदा हैजा, आउँ, मलेरीया, डेंगु, टाइफाइड लगायतका रोगहरु लाग्नसक्छ । यसैमध्ये गर्मी मौसममा लाग्ने सरुवा रोगमध्ये टाइफाइड पनि एक हो । टाइफाइड रोगका विषयमा संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:
टाइफाइड कस्तो रोग हो ? के कारणले लाग्छ ?
वर्षायाममा र विशेषगरी तापक्रम बढी हुने समय गर्मी मौसममा टाइफाइड हुने सम्भावना धेरै हुन्छ । यो एक किसिमको ‘सेलमोनेला टाइफी’ ब्याक्टेरियाद्वारा फैलने रोग हो । संक्रमित व्यक्तिको दिसापिसाबको माध्यमबाट, फोहोर खानेकुरा र व्यक्तिगत सरसफाइमा ध्यान नदिदा टाइफाइड हुने हो ।
यसका लक्षणहरु कस्ता हुन्छन् ?
यसको मुख्य लक्षण भनेको ज्वरो आउनु टाउको दुख्नु नै हो । यी बाहेक पेट दुख्ने, आन्द्रामा घाउ आउने पटक–पटक ज्वरो दोहोरिने साथै १०३ डिग्रीभन्दा माथि तापक्रममा ज्वरो आउने जस्ता लक्षणहरु देखापर्छन् । टाइफाइडको ज्वरो १०२–१०३ डिग्रीभन्दा माथि नै रहन्छ । पेट, टाउको दुखाइ, शरीरमा गम्भीर कमजोरी, पखाला हुने र कब्जियत हुने समस्या देखापर्छ ।
टाइफाइडबाट कसरी जोगिने ? उपचार विधि कस्तो छ ?
मुख्यकुरा सरसफाइमा ध्यान दिनु नै हो । यो रोग दिसापिसाबकै माध्यमबाट लाग्ने भएका कारण शौचालय गएपश्चात् साबुनपानीले हात धुनुपर्छ । पानी पिउँदा उमालेको, फिल्टर गरिएको वा क्लोरीन मिसाएर शुद्घिकरण गरेर मात्र पिउनुपर्छ । अर्को महत्वपूर्ण कुरा भनेको टाइफाइडको खोप लगाएर पनि यो रोगबाट बच्न सकिन्छ । १५ वर्षमुनिका बालबालिकाहरुलाई त यो खोप लगाइन्छ नै तर वयस्क ३५ वर्षसम्मका व्यक्तिहरुले पनि यो खोप पुनः लगाउनुभयो भने यो रोगबाट बच्न धेरै सहयोग मिल्छ । यसैगरी हाम्रोमा के छ भने सामान्य रुघाखोकी लाग्यो ज्वरो आयो भने टाइफाइड भयो भनेर जिकिर गरिन्छ । तर महत्वपूर्ण कुरा के छ भने रुघाखोकी, ज्वरो लागेको छ भने टाइफाइड हुनै सक्दैन । रुघाखोकी र ज्वरो छ भने टाइफाइड भयो भनेर हामी एन्टिबायोटिकको सेवन गर्न थाल्छौं । शुरुमा ब्लड टेस्ट दिएर त्यसको कल्चर रिपोर्ट आएपछि मात्रै एन्टिबायोटिकको सेवन गर्नुपर्छ ।
यसको घरेलु उपचार के छ र खानपान कस्तो खानुपर्छ ?
घरेलु उपचार र खानपानको कुरा गर्नुपर्दा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । संक्रमित व्यक्तिसँग दूरी बनाउनुपर्छ । टाइफाइड भएको व्यक्तिले मासुको सेवन गर्नुहुँदैन भन्ने सुनिन्छ, तर यस्तो होइन । टाइफाइडका बिरामीले मासुको सेवन गर्दा समस्या बढ्ने र नगर्दा घट्ने भन्ने हुँदैन । चिल्लो र पिरो मसला धेरै भएका स्पाइसी खानाहरुको सेवन भने गर्नु हुँदैन भनिएको हो । सादा, ताजा र स्वस्थकर जुनसुकै खाना खाँदा पनि असर पर्दैन ।
विशेषगरी यो बच्चाहरुलाई लाग्ने रोग भनिन्छ । के यो यो सत्य हो ?
यो विलकुल गलत र भ्रामक कुरा हो । यो रोगले कलिला बालबालिका देखि ३५–४० वर्षसम्मका वयस्कहरुलाई पनि संक्रमित बनाउँछ । उमेर ढल्किएका व्यक्तिहरुमा भने यो समस्या त्यति देखिएको पाइँदैन ।
यसले कस्तो जटिलता निम्तन सक्छन् ?
टाइफाइड मात्रै नभएर जुनसुकै रोगको पनि समयमा औषधी उपचार गरिएन भने जटिलता निम्तन्छ । कडा खालको टाइफाइड भएको छ भने दिमागमा पनि असर गर्ने, ज्यानै समेत लिन सक्ने, आन्द्रामा घाउ हुने, रगत बग्ने जस्ता समस्या देखिन्छन् । राम्रो स्वास्थ्य उपचार भएन औषधिहरुको सेवन पर्याप्त भएन भने टाइफाइड निको भएपछि पनि हाम्रो पित्तथैलीहरुमा यसको ब्याक्टेरियाहरु बसिरहने र दिसापिसाबको माध्यमबाट बाहिरिँदा वरपरका अन्य मानिहरुमा यो रोगको जोखिम बढ्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया