मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिर्जना

जसले ओझेल परेको ‘कार्मारोङ’लाई चिनाउन कलाको बाटो रोजे

काठमाडौँ– मुगु जिल्लाको हिमालको काखैमा छ, ‘कार्मारोङ’ क्षेत्र । हिमालयको दुर्गम भूगोल भएपनि समुदायको सांस्कृतिक, सामाजिक एवं आध्यात्मिक अभ्यासहरुमा ‘कर्मारोङ’को सौन्दर्य झल्किरहेको छ ।

त्यहाँ कार्मारोङ बासीहरुको आफ्नै जीवन जिउने लय र पद्धतिहरु छन् । ‘कर्मारोङ’ र त्यहाँका मानिसहरु भौगोलिक रुपमा राजधानीदेखि निकै दूर छ । राजधानीको शासन र सत्ता, सत्ताले तय गर्ने विकासे योजना, समृद्धि तथा उन्नतिका सबै पक्षहरुबाट ‘कार्मारोङ’ बेखबर छ ।

आफ्नो लयमा बाँचेका उनीहरुले राजधानी केन्द्रित सत्तालाई प्रश्न गर्न आएनन् र सत्ताले पनि उनीहरुलाई खोजेनन् । यसरी सदियौंदेखि चलिरहेको छ, ‘कार्मारोङ’को भूगोल । भौगोलिक विविधता, बहुभाषी, बहुलजाति, बहुसंस्कृतिले सजिएको देशमा ‘कार्मारोङ’को पनि आफ्नो छुट्टै योगदान छ । र पनि ‘राज्यको नजरबाट आफ्नो जन्मभूमि ‘कार्मारोङ’ किन अहिलेसम्म ओझेल पर्‍यो ?

राज्यको दृष्टिकोणमा ‘कार्मारोङ’ क्षेत्र र त्यहाँको समुदाय कहाँ छ ?’ भन्ने प्रश्नहरुले आफैंलाई पिरोलेपछि ती सबैलाई कला सिर्जनामा समेटेर कलाकार दोर्जी कार्मारोङले राजधानीसम्म ल्याएका छन् ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘कार्मारोङ : हिडन भ्याली इन द हिमालय’ शीर्षकमा जारी उनको एकल कला प्रदर्शनीमा कार्मारोङलाई झल्काउने दुई दर्जनभन्दा बढी कलाकृतिहरु प्रदर्शनरत छन् । उनले कला सिर्जनाहरुमा मुगुको दुर्गम कार्मारोङ क्षेत्रको आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक तथा सामाजिक जीवनका लयका विरासतलाई चित्रण गरेका छन् ।

दुई दशकभन्दा बढी समयदेखि विशेषत परम्परागत थाङ्का कला सिर्जनामा रहेका कलाकार दोर्जीको उद्देश्य भनेको थाङ्का चित्रकलाकै आधुनिक लेन्सबाट कर्मारोङ क्षेत्रको परिवेश र जीवनपद्धतिलाई जीवन्त रुपमा राजधानीसम्म ल्याइपुर्‍याउनु हो । कलाको माध्यमबाट नै उनी ‘कार्मारोङ’लाई पहिला देशभित्रै चिनाएर विश्वमा समक्ष पुर्‍याउन चाहन्छन् ।

नेपालको राष्ट्रिय गान ‘संयौं थुङुगा फूलका हामी एउटै माला नेपाली’ले भनेजस्तै भनेजस्तै नेपालमा धेरै जातजातिहरु बसोबास गर्छन् । ती जातिहरुको आफ्नै संस्कृति र जीवनपद्धतिहरु छन् ।

तीमध्ये कार्मारुङहरुको पनि आफ्नै संस्कार र जीवनपद्धतिहरु छन् । आजसम्म पनि कार्मारुङमा हाफ्नै भाषा, संस्कृति, भेषभुषा, धार्मिक तथा सांस्कृतिक प्रक्रियाहरु उस्तै रुपमा चलिआएका छन् ।

जसले नेपाली मौलिक जीवन्त संस्कृतिको पाटोलाई सम्हालेर राखेको छ । ‘नेपालको धार्मिक तथा सांस्कृतिक सौन्दर्यका लागि हामीले पनि योगदान दिएका छौं,’ कलाकार दोर्जीको सरकारसँग प्रश्न छ, ‘हिमालको काखमा कार्मारुङ अझै लुकिरहेको छ । सरकारको आँखा त्यहाँसम्म पुगेको छैन ।

देशभित्रै हामी पनि छौं भन्ने हाम्रो आवाज राज्य र सरकारले कहिले बुझिदिने ?’ प्राकृतिक मात्र नभएर सांस्कृतिक तथा धार्मिक रुपमा सम्पन रहेर पनि सरकारको आँखा नपुगेकै कारणले उनले कला प्रदर्शनीको नाम नै ‘कार्मारोङ: हिडन भ्याली इन द हिमालय’ राखेको सुनाए ।

२०३७ सालमा कार्मारोङ हिउँले ढाकिएको रोहताङमा जन्भिएका दोर्जीको बाल्यकाल त्यहाँको हिमाली सौन्दर्य, बुद्ध दर्शन र अध्यात्मको आधारमा चलेको सुमदायमा बित्यो ।

परिवारको निर्देशनमा सात वर्षकै उमेरमा उनले बुद्ध दर्शनको आध्यात्मिक शिक्षा लिन उनी गुफामा पुगे । १३ वर्षको उमेरसम्म उनले त्यहाँ शिक्षा लिएपछि थप अध्ययनका लागि उनी काठमाडौँ आएका थिए । काठमाडौँ आएपछि डोल्पोका प्रख्यात लामा गुरु तेन्जिन नोर्बुसँग बुद्ध दर्शनको ज्ञानसँगै उनले थाङ्का चित्रकार पाल्देनसँग कला सिर्जनाको प्रशिक्षण लिए ।

त्यसपछि उनको शिक्षा र कला सिर्जनाको काम सँगसँगै अगाडि बढ्यो । बुद्ध दर्शन र शास्त्रको आध्यात्मिक ज्ञानकै प्रभावले दोर्जीको कला सिर्जनाहरुमा ती सबैको प्रभाव परेको देखिन्छ ।

हुन त बुद्ध दर्शन र अध्यात्मको धार्मिक शास्त्र अनुसार थाङ्का कला सिर्जनामै उनले दुई दशकभन्दा लामो समय बिताएका छन् । सिर्जनाहरु मार्फत नै उनले बुद्धको जीवन, धर्म, शास्त्रलाई चीनको तिब्बतसम्म विस्तार गरेका गुरु पद्यसम्भव रिम्पोछेलाई चित्रण गरेका छन् । थाङ्का चित्रको परम्परागत आध्यात्मिक गहिराइलाई मध्यनजर गर्दै उनले प्रदर्शनरत कलाकृतिहरुमा आधुनिकताको छनक दिएका छन् ।

परम्परागत धारमा चल्ने थाङ्का चित्रमा धार्मिक विषय र देवदवीलाई केन्द्रमा राखिन्छ । दोर्जीले भने थाङ्का चित्रको किनारा र छेउछाउमा बुद्धको दर्शनसँगै आउने जीवन, जीवजनावर र सांसारिक पक्षलाई केन्द्रीय रुपमा कार्मारोङलाई सिम्बोलिक रुपमा दर्शाउने जमर्को गरेका छन् ।

जसमा उनको जन्मभूमि कार्मारोङको प्राकृतिक सौन्दर्यका साथै त्यहाँको समृद्ध इतिहास र सांस्कृतिक परम्पराहरू जीवन्त रुपमा झल्केका छन् । उनका अनुसार थाङ्का कलामा बेवास्ता गरिने प्रकृति, जीवन र यससँगै जोडिने प्रकृतिका लयात्मक कथाहरु उनले कलाको स्वरुपमा बुनेका छन् ।

जुन सिर्जनाहरुले भौगोलिक रुपमा पृथक क्षेत्रको कार्मारोङको धार्मिक तथा सांस्कृतिक स्मृतिहरुलाई उजागर गर्दै यसको संरक्षण मात्र होइन आम दर्शकहरुलाई समेत कार्मारोङ क्षेत्रको लुकेको अद्वितीय परिवेशसँग घुलमिल गराउँछ ।

कार्मारोङको सौन्दर्यलाई उनले नजिकैबाट बाल्यकाल देखि नै नियाली रहेपनि त्यसको महिमालाई भने भौतिक रुपमा टाढा भएपछि अझ धेरै महसूस गरे । कला सिर्जनाकै क्रममा उनी सन् २०१९ मा भियतनाम पुगेका थिए ।

त्यहाँ पुग्दा उनले आफ्नो जन्मभूमिलाई निकै नै सम्झिए । कला सिर्जनाकै दौडानमा थुप्रै देश र शहरमा पुगेको उनले आफ्नो जन्मभूमि कार्मारोङलाई विकासमा निकै पछाडि छोडिएको अनुभव गरे । त्यसपछि उनले यसलाई ब्युँताएर देश देशान्तरसम्म पुर्‍याउन कलाको बाटो समाउने निधो गरे ।

२०२३ मा स्वदेश फर्केलगत्तै प्रदर्शनीमा रहेका कलाकृतिहरु बनाउन शुरु गरिएको उनले बताए । उनले भने, ‘दुनियाँले नदेखेको कार्मारोङलाई देखाउँ भन्ने भावना मेरो मनमा भियतनाममा हुँदा खेरी आएको थियो । नेपालमा फर्केपछि मैले एक वर्षभित्र यो काम सकाएको हुँ ।’

उनका अनुसार अध्यात्म र कथावाचकका रुपमा थाङ्का चित्रहरुमा इंगित हुने चित्रहरुमा बुद्धको जीवनसँगै अरु प्राकृतिक परिवेशहरु आउँछन् । त्यसैलाई आधार बनाएर कुनाकुनामा देखिएको कुरा केन्द्रीय स्वरुपमा आफ्नो गाउँ, मान्छेको जीवन, जनजीवन र वरीपरीको भूगोललाई देखाएको उनले सुनाए ।

उनको लामो समयको अध्ययन र अनुसन्धानले नै कलाकृतिहरु जन्मेका छन् । हाल काठमाडौँ बौद्धमा रहेर नै कला सिर्जनासँगै अध्ययन तथा अनुसन्धानमा रहेका उनले कार्मारुङलाई चिनाउने ‘कार्मारोङ्ज पिपुल, प्लेसेस एण्ड स्टोरिज’ जस्ता अनुसन्धानात्मक पुस्तकहरु समेत लेखेका छन् ।  

अहिले पनि कार्मारोङ बासीहरुको जीवनशैलीमा खासै परिर्वतन आएको छैन । कार्मारोङले अझै सडक देखेको छैन । ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने अभियानमा कार्मारोङ बासीहरु छन् । आफ्नै नामबाट बल्ल कार्मारोङले ‘मुगुम कार्मारोङ गाउँपालिका’ पाएको छ ।

सांस्कृतिक रुपमा कार्मारोङको आफ्नै अलग्गै पहिचान छ । चाडपर्व, गीतसङ्गीत र संस्कारमा कार्मारोङ सम्पन्न छ । खेतीकिसानीमै कार्मारोङ बासीहरु निर्भर छन् । उनी चाहन्छन्, कार्मारोङको सौन्दर्यलाई देशैकै भूगोलको रुपमा स्वीकारोस् । आफ्नो कलाहरुले नै कार्मारोङको ओझेल परेको संसार सबैले नियाल्नेछन् भन्ने उनको अपेक्षा छ ।

उनको कला प्रदर्शनी कात्तिक ५ गतेसम्म जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?