मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहित्यकार थापाले रचना गरेको प्रहरी नारा सर्वोत्कृष्ट

काठमाडौँ – साहित्यकार घनबहादुर थापाले लेखेको प्रहरी नारा सर्वोत्कृष्ट हुन सफल भएको छ । प्रहरी प्रधान कार्यालयले आह्वान गरेको प्रहरी नारा प्रतिस्पर्धामा काठमाडौँका लेखक थापाले लेखेको दुईवटा नारा सर्वोत्कृष्ट हुन सफल भएको हो ।

प्रहरी नारा लेखक प्रतियोगितामा प्रथम भएका उनले नगद रु २० हजार पुरस्कारसमेत प्राप्त गरे । साइबर सुरक्षामा नेपाल प्रहरीको भूमिका र अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीको भूमिका गरी दुई विषयसँग सम्बन्धित रहेर दुईवटा अलगअलग नाराका लागि प्रतियोगिता आयोजना गरिएको थियो ।

उक्त प्रतिस्पर्धामा नेपाल प्रहरीमा प्राप्त भएका नाराहरुमध्येबाट थापाले लेखेको दुईवटै नाराले प्रथम स्थान हासिल गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

सर्वोत्कृष्ट बन्न सफल प्रहरी नारा साइबर सुरक्षातर्फ ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौँ निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण तथा अनुसन्धानतर्फ ‘अपराध रोक्ने सङ्कल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ रहेका छन् ।

लेखक थापाले नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्नेगरी प्रहरी नारा रचना गरिएको भन्दै दुवै नारा छनोट भएकामा खुसी व्यक्त गरे ।

उनले आफूले लेखेको नारा प्रहरीका हरेक कार्यक्रम तथा गतिविधिमा समावेश हुने भएकाले शान्तिसुरक्षा तथा अमनचयनमा आफूले पनि एक नागरिकका तर्फबाट योगदान दिएको अनुभूत भएको प्रतिक्रिया दिए ।

साहित्यकार घनबहादुर थापालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबाट नगद २० हजार पुरस्कारसहित कदरपत्रबाट सम्मान प्रदान गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले आफ्नो ६९औँ प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीको कार्य प्रकृतिसँग सम्बन्धित रहेर खुला प्रहरी नारा छनोट प्रतियोगिता आयोजना गरेको थियो ।

साहित्यकार थापा यसअघि पनि विभिन्न साहित्यिक पुरस्कार र राष्ट्रिय अन्तर्राष्ट्रिय पदकद्वारा समेत सम्मानित भइसकेका छन्। उनका एकल तथा संयुक्त गरी छवटा पुस्तक र करिब पाँच सय बढी लेखरचना प्रकाशित छन् । उनको ‘तिमीलाई नै’ गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?