काठमाडौँ– भनिन्छ, मदिरा पिउने चाहना मात्रै हुनुपर्छ, एउटा न एउटा बहाना त मिलेकै हुन्छ । दुःख होस् वा सुख, एक्लोपन होस् वा जमघट, सफलता होस् वा हताशा अथवा ‘मौसमले च्यालेन्ज’ गर्दा नै किन नहोस्, मदिरा पिउन यस्ता अनेक बहाना जुनसुकै बेला ‘रेडी’ हुन्छन् । कतिपय अवस्थामा त मदिराबिना भोज भतेर पनि खल्लो हुन्छन् ।
हाम्रो समाजमा कतिपय संस्कार र परम्परा धान्न मदिरा नभई हुँदैन । इन्द्रजात्रामा श्वेतभैरवको मुखबाट निस्केको मदिराको सगुन प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । भैरवको सगुन पिउँदा स्वस्थ र हृष्टपुष्ट हुने अनि रोगव्याधी र कष्ट नहुने जनविश्वास छ । त्यसबाहेक विभिन्न समुदायमा जन्मदेखि, विवाह र मृत्यु संस्कारमा समेत मदिराको प्रयोग हुन्छ ।
मदिरा सेवनबाट उत्पन्न हुने सामाजिक, आर्थिक, मानसिक, शारीरिक हानि एकातिर छन् । तर, मदिराले हाम्रो समाजमा यसरी जरा गाढेर बसेको छ कि । गाउँघरतिरका भट्टी होस् वा ठूला शहरका बार र मधुशाला, जताततै यसको अस्तित्व भेट्न सकिन्छ । मदिरा उद्योगकै कारण हजारौँ जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी समेत पाएका छन् ।
मदिराको उत्पत्ति कहाँबाट कहिले भयो भन्ने ठ्याक्कै तिथि मिति कतै उल्लेख छैन । तैपनि मदिरालाई मानव विकास क्रमको शुरुवाती आविष्कारमध्येको एक मानिन्छ । कतिपयले नवपाषणकालमा शुरु भएको प्रथम कृषि क्रान्तिअघि नै मदिराको उत्पादन र प्रयोग हुने गरेको विश्वास गर्छन् । त्यसैगरी, कतिपय मानवशास्त्री त मदिरा उत्पादनका लागि चाहिने अन्नको आवश्यकता पूरा गर्नका लागि नै प्राचीन सिकारी समाजले कृषिकर्म थालेको भन्नेसम्म दाबी गर्छन् ।
पुरातत्वविदहरुले सन् २०१८ मा इजरायलको हैफा शहरनजिकै आजभन्दा १३ हजार वर्षअघि नै मानिसले बियरको उत्पादन गरेको पत्ता लगाएका छन् । यसलाई हालसम्म पत्ता लागेको सबैभन्दा पुरानो मदिराजन्य पेय पदार्थको रुपमा हेरिएको छ । पुरातत्वविदहरुका अनुसार त्यसबेला मानिसहरुले मृत्यु संस्कारमा मदिराको प्रयोग गर्थे ।
अमेरिकाको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानअन्तर्गत राष्ट्रिय जैविकप्रविधि सूचना केन्द्रका अनुसार आजभन्दा ९ हजार वर्षअघि चीनमा चामल, मह र फलफूलबाट निर्मित पेय पदार्थ फेला परेको छ । केन्द्रका अनुसार चीनको हेनान प्रान्तस्थित जियाहु क्षेत्रका नवपाषण गाउँमा भेटिएका प्राचीन भाँडाकुँडामा त्यस्तो पेय पदार्थको अवशेष फेला परेको हो ।
आजभन्दा ८ हजार वर्षअघि जर्जियामा वाइनको उत्पादन हुने गरेको पाइएको छ । त्यसबाहेक इरान, मिश्र, मेसोपोटेमियाजस्ता प्राचीन सभ्यताको उदय भएका क्षेत्रमा आजभन्दा ४ देखि ७ हजार वर्षअघि मदिराको उत्पादन हुने गरेको पुरातात्विक प्रमाण भेटिएका छन् । नयाँ संसारको कुरा गर्ने हो भने मेक्सिकोमा आजभन्दा ४ हजार वर्षअघि नै मदिराको उत्पादन र सेवन हुने गरेकोे भेटिएको छ ।
प्राचीन सभ्यताले लेखेका कतिपय लेखोटमा समेत मदिराको उल्लेख गरिएको छ । मिश्र र मेसोपोटेमियाका कतिपय प्राचीन लेखनमा पनि मदिरालाई औषधिका रुपमा चित्रित गरिएको पाइन्छ । त्यसैगरी हिन्दू ग्रन्थहरुमा पनि सुरा, मद्यजस्ता मदिराको उल्लेख भएको पाइन्छ । हिब्रु बाइबलका विभिन्न पुस्तकमा समेत मदिराको सेवनबारे उल्लेख गरिएको छ ।
त्यसोभए मदिरा भनेको के हो त ? विश्व स्वास्थ्य संगठन डब्लूएचओले मदिरा वा मदिराजन्य पेय पदार्थलाई आफ्नै शब्दमा परिभाषित गरेको छ । डब्लूएचओले दिएको मदिराको परिभाषा यस्तो छ– ‘मदिरा वा मदिराजन्य पेय इथानोल मिश्रित मनोसक्रिय एवम् विषाक्त पदार्थ हो, जसको लत लाग्नसक्छ ।’
यस परिभाषाअनुसार मदिरामा इथानोल पाइन्छ । अनि यसको सेवन गर्दा मनोसक्रियता ‘साइकोएक्टिभ’ उत्पन्न हुन्छ । कुनै पदार्थको सेवनबाट मस्तिष्कमा भ्रम पैदा हुन्छ भने त्यसलाई मनोसक्रिय पदार्थ भनेर बुझिन्छ । त्यस्तो पदार्थको सेवनका कारण मस्तिष्कले नियमित रुपमा काम गर्न सक्दैन र मान्छेलाई यथार्थताको ज्ञात हुँदैन । त्यसैगरी, मदिराको लत पनि लाग्छ ।
आखिर मदिरा पिउँदा कसरी मात लाग्छ ?
मदिरामा पिउँदा मान्छे मात्ने हुन्छ । मदिराजन्य पेयमा ऊर्जा पनि अत्यधिक पाइन्छ । उदाहरणका लागि अमेरिकाको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानअन्तर्गत राष्ट्रिय जैविकप्रविधि सूचना केन्द्रका अनुसार आधा लिटर ह्विस्कीमा १ हजार ६ सय ५० किलोक्यालोरी (केसीएएल) ऊर्जा हुन्छ । जबकी बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार एउटा स्वस्थ र सक्रिय पुरुषलाई दैनिक २ हजार ५ सय केएसीएल ऊर्जा पर्याप्त हुन्छ ।
मदिराको मात अवस्थाअनुसार फरक पर्न सक्छ । खाली पेटमा २० देखि ३० प्रतिशत मदिरा भएको पेय पिउँदा चाँडै मात लाग्छ । त्यसैगरी, ह्विस्की, स्पाम्पेनजस्ता कार्बनडाइअक्साइड मिश्रित मदिरा पिउँदा पनि छिटै लाग्ने हुन्छ । कार्बोहाइड्रेटसँग मदिरा पिउँदा पाचन प्रणालीमा शेचन प्रक्रिया ढिलो हुन्छ र मात पनि ढिलै लाग्छ । त्यसैले चिकित्सकहरु सकेसम्म मदिरा सेवन गर्दै नगर्न र गरिहाले पनि केही खानेकुरासँग सेवन गर्न सल्लाह दिन्छन् ।
त्यसैगरी, मदिरा पिउने मान्छेको उमेर, लिंग, वजन, रोगले पनि मदिराको प्रभाव निर्धारण गर्छ । कम वजन र उमेर भएका मान्छेलाई मदिराको प्रभाव छिट्टै हुन्छ । त्यस्तै, पुरुषको तुलनामा महिलालाई पनि छिट्टै मदिराको प्रभाव देखिन्छ ।
खासमा मदिरामा पाइने इथानोलका कारण मान्छेलाई मात लाग्ने गर्छ । इथानोल पानीमा पूर्ण घुलनशील पदार्थ हो । जब हामी मदिरा पिउँछौँ त्यसको सानो हिस्सा मुख र जिब्रोका माध्यमबाट रक्तसञ्चार प्रणालीमा प्रवेश गर्छ । त्यसपछि पेटमा पुगेपछि २० प्रतिशत मदिरा शेचन भइ रक्तसञ्चार प्रणालीमा प्रवेश गर्छ । पेटमा खानेकुरा छैन भने मदिरा छिट्टै शेचन भइ चाँडै मात लाग्छ । त्यसपछि बाँकी मदिरा आन्द्राका माध्यमबाट शेचन हुन्छ ।
रक्तसञ्चार प्रणालीमा प्रवेश गर्नेबित्तिकै मदिराले शरीरमा प्रभाव देखाउन थालिहाल्छ । मदिरा सेवनपछि रक्तनली फुल्छ । परिणामस्वरुप शुरुमा अनुहारका छाला रातो हुने लक्षण देखिन्छ र न्यानो अनुभव हुन्छ । पाचन प्रणालीमा शेचन भएको मदिरा रक्तसञ्चार प्रणालीमा प्रवेश गर्ने भएकाले मदिराले मुटुमा प्रभाव पर्छ । मदिराको नियमित सेवनले मुटुरोग समेत निम्त्याउँछ । त्यसैले मुटुसम्बन्धी रोग भएका, मुटुको शल्यक्रिया गरेका, मुटुसम्बन्धी औषधि खाइरहेका र जोखिम धेरै भएका व्यक्तिले मदिरा खानै हुँदैन ।
रगतका माध्यमबाट मदिरा मस्तिष्कमा पनि प्रवेश गर्छ । प्रकार र कडापनअनुसार मदिरा मस्तिष्कमा प्रवेश गर्न औसतमा ५ मिनेटको समय लाग्छ । यस्तो हुँदा मदिरामा भएका इथानोलका अणु मस्तिष्कका कोषिकामा प्रवेश गर्छ । मदिरा शुरुमा प्रवेश गर्दा मस्तिष्कले सेरोटोनिन र डोपामाइनजस्ता हर्मोन रिलिज गर्छ । यी हर्मोनले मानिसलाई खुशी र आत्मविश्वासले भरिपूर्ण बनाउँछन् ।
मदिराको परिमाण बढ्दै जाँदा मस्तिष्कले नियमित काम गर्न छाड्छ र भ्रम पैदा हुन्छ । उदाहरणका लागि धेरै मदिरा पिउँदा बोली लरबरिने, आँखाको ज्योति कमजोर हुने, शारीरिक सन्तुलन बिग्रिनेजस्ता लक्षण देखा पर्छ । त्यसैगरी, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, मुटुका चाल बढ्नेजस्ता लक्षण पनि देखा पर्ने हुन्छ ।
मदिरामा छिटोछिटो पिसाब लगाउने तत्व हुन्छ । यस्तो हुँदा तिर्खा लाग्ने र जलवियोजन हुनेजस्ता लक्षण देखा पर्छ । यसले मूत्र प्रणाली सञ्चालन गर्ने मिर्गौला, मूत्राशय, मूत्रनलीजस्ता अंगमा असर पार्न सक्छ ।
मदिराले सबैभन्दा धेरै असर गर्ने अंग भनेकोे कलेजो नै हो । हाम्रो शरीरमा कलेजोको काम रगतमा भएका विकारलाई प्रशोधन गर्ने हो । त्यसैले रगतमा मिसिएको मदिरा पनि अन्त्यमा कलेजोले नै प्रशोधन गर्छ । कलेजोसम्बन्धी रोगका कारण हुने ८० प्रतिशत मृत्युमा मदिरा जिम्मेवार रहेको चिकित्सकहरु बताउँछन् । मदिराको सेवनका कारण कलेजोमा फ्याटी लिभर, कलेजो सुन्निने, मदिराका कारण उत्पन्न हुने हेपाटाइटिस, कलेजोमा दाग लाग्ने, कलेजोले काम नगर्नेजस्ता रोग लाग्ने सम्भावना हुन्छ ।
हुन पनि मदिरा शताब्दीऔँदेखि विभिन्न सँस्कृतिले अपनाएको मदिराको सेवनबाट उत्पन्न हुने स्वास्थ्य समस्याबाट संसारभर दशौँ लाख मानिस पीडित छन् । डब्लूएचओका मदिराको सेवनबाट २ सयभन्दा धेरै किसिमका रोग, घाउ वा अन्य स्वास्थ्य समस्या उत्पन्न हुन्छ । मदिराको सेवनका कारण नसर्ने रोगको जोखिम बढेर जान्छ । मानसिक स्वास्थ्यमा पनि मदिराले नकारात्मक असर पारिरहेको हुन्छ ।
मदिराको सेवनले डिप्रेसन, एन्जाइटी, मदिरासम्बन्धी मानसिक विकार उत्पन्न हुने डब्लूएचओले जनाएको छ । मदिराको सेवनले मानसिक विकास उत्पन्न हुँदा आत्महत्याको जोखिम पनि बढ्छ ।
त्यसैगरी, मदिराको सेवनले विभिन्न क्यान्सरको जोखिम पनि बढ्छ । मदिराको सेवनले गर्दा स्तन, कलेजोजस्ता क्यान्सरको खतरा हुन्छ । त्यस्तै, मदिराको सेवनका कारण दोस्रो व्यक्तिलाई हुने हामी पनि कम छैन । मदिराको सेवनबाट हुने होहल्ला र वादविवादले समाजमा नकारात्मक असर पारिरहेको हुन्छ । त्यसैगरी, मदिरा सेवन गर्दा जानी वा नजानी आइपर्ने दुर्घटनाहरु जस्तै, सडक दुर्घटना, डुब्ने वा खस्ने, आगोले पोल्नेजस्ता जोखिम पनि धेरै हुन्छ ।
डब्लूएचओका अनुसार हरेक वर्ष मदिरा सेवनका कारण विश्वभर २६ लाख मानिसको मृत्यु हुने गरेको छ । यीमध्ये अधिकांश पुरुष छन् । मदिरा सेवनबाट मृत्यु हुने २६ लाखमध्ये २० लाख पुरुष र बाँकी ६ लाख महिला रहेको डब्लूएचओको तथ्यांक छ ।
मदिराको सेवनबाट युरोपेली र अफ्रिकी मुलुकमा मानिसहरुको मृत्युदर धेरै छ । युरोपमा प्रति १ लाख जनामध्ये औसतमा ५२.९ जना र अफ्रिकी क्षेत्रमा ५२.२ जनाको मदिरा सेवनका कारण मृत्यु हुने गरेको छ । मदिराको सेवनबाट सबैभन्दा धेरै २० देखि ३९ वर्ष उमेर समूहका मानिसहरुको मृत्यु हुने गरेको छ । डब्लूएचओको तथ्यांकअनुसार यो मदिरासँग सम्बन्धित मृत्युमध्ये यो उमेर समूहका मानिसहरुको मृत्यु हुने सम्भावना सबैभन्दा धेरै १३ प्रतिशत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया