काठमाडौँ- टेस्लाका प्रमुख एलन मस्कले स्वामित्व लिएसँगै सामाजिक सञ्जाल एक्स (साबिकको ट्वीटर) को चर्चा बढेर गएको छ । मस्क आएसँगै एक्समा व्यापक परिवर्तन देखा परेको छ । तर, एक्सले एउटा फिचरमा भने अहिलेसम्म परिवर्तन ल्याएको छैन ।
तपाईँ एक्स चलाउनुहुन्छ भने यो कुरा थाहा पाउनु भएको होला । एक्समा अपलोड भएका भिडियो सिधै डाउनलोड गर्न मिल्दैन ।
तपाईँले चाहे ब्राउजरबाट प्रयोग गर्नुहोस् या एपबाट, एक्सका भिडियो कतैबाट पनि सीधै डाउनलोड गर्नै मिल्दैन । आखिर कसरी सजिलै एक्सका भिडियो डाउनलोड गर्ने त ? आज हामी यसबारे जानकारी दिनेछौँ ।
एक्समा अपलोड भएका भिडियो डाउनलोड गर्न तपाईँले तेस्रो पक्षको सहायता लिनुपर्ने हुन्छ । यसका लागि इन्टरनेटमा भिडियो डाउनलोडर साइटहरु प्रशस्तै भेटिन्छन् । तर त्यसका लागि तपाईँले आफूले डाउनलोड गर्न चाहेको भिडियोको लिंक थाहा पाउनुपर्छ ।
यसरी गर्नुहोस् डाउनलोड
-तपाईले शुरुमा त्यस भिडियोको लिंक कपी गर्नुपर्ने हुन्छ । एपमार्फत् एक्स चलाउँदै हुनुहुन्छ भने भिडियो राखिएको पोस्टमा शेयर बटन थिच्नुहोस् र लिंक कपी गर्ने विकल्पमा जानुहोस् ।
-वेबमार्फत एक्स चलाउँदै हुनुहुन्छ भने डाउनलोड गर्नुपर्ने भिडियोको लिंक सीधै कपी गर्नुहोस् ।
-एप्पल प्रयोग गर्नुहुन्छ भने कपी गरेको त्यो लिंक सीधै सफारीमा पेस्ट गर्न सक्नुहुन्छ । त्यसपछि भिडियो चल्न थाल्छ । भिडियोको बायाँतर्फ तल तीनवटा थोप्लाहरु हुन्छन् । त्यहाँ क्लिक गरेर त्यस भिडियो डाउनलोड गर्न सक्नुहुन्छ ।
-एन्ड्रोइड स्मार्टफोन वा वेबसाइट प्रयोग गर्नु भएको हो भने क्रोम वा अरु कुनै ब्राउजरमा ‘ट्विटर भिडियो डाउनलोडर’ वेबसाइटमा गएर त्यहाँ पेस्ट गर्ने ठाउँमा लिंक पेस्ट गर्नुहोस् । अब तपाईँले चाहेको रेजोलुसनमा भिडियो डाउनलोड गर्न सक्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया