काठमाडौँ– ‘रातो टीका निधारमा टलक्क टल्कियो’ अल्लारे फिल्ममा समावेश यो गीतमा दशैं पर्व र उत्सव नजोडिए पनि दशैंको विजयादशमीमा लगाइने रातो टीकाको झलक यसले दिन्छ । यही गीतलाई नाममा फिल्मकर्मी अशोक शर्माले फिल्म नै बनाए ‘रातो टीका निधारमा’ ।
फिल्मको शीर्ष गीत उही अल्लारे फिल्मको गीत नै रिमेक गरिएको छ । ४० को दशकभन्दा अघि विजयादशमीमा लगाइने टीका रातो नै हुन्छ भन्ने आम मान्यता थियो । विजयको उत्सवको रुपमा मनाइने दशैंमा अधिकांशले रातै टीका लगाउँथे ।
यद्यपि गीत सङ्गीत र सिर्जनामा भने अझै ‘रातो टीका’को बिम्ब नै आइरहेका छन् । त्यही बिम्बको प्रभावमा ‘रातो टीका,’ ‘टीका जमरा’ लगायतका थुप्रै गीतहरु पछिल्लो समयमा सार्वजनिक भएका छन् ।
नेपालमा बहुलजाति, बहुसंस्कृति र बहुधर्मको विविधता छ । यही विविधतामा रातो टीका र जमरालाई नमान्ने समुदायहरु पनि छन् । जातीय तथा सांस्कृतिक रुपमा उनीहरु दशैं पर्वमा सेतो टीका लगाउँछन् भने अधिकांशले घरमा जमरा समेत राख्दैनन् ।
विशेषत राई, लिम्बु, मगर, गुरुङ, थारु, तामाङ लगायत समुदायले दशैं पर्वमा प्रकृति र शान्तिको रुपमा सेतो टीका लगाउँदै आएका छन् । उनीहरुले सेतो रङलाई प्रकृति र शान्तिको प्रतीकका रुपमा मान्दै आएका छन् । रातो रङको टीकालाई आदिवासीभन्दा पनि खसआर्य समुदायको हो भन्ने मान्यता पछिल्लो समय फराकिलो बन्दै गएको पाइन्छ ।
दशैं मात्र होइन विवाह, व्रतबन्ध जस्ता उत्सव तथा शुभ कार्यहरुमा समेत आदिवासी समुदायहरुले सेतै टीका लगाइरहेको देखिन्छ । ४० को दशकयता दशैं पर्व मान्ने या बहिष्कार गर्ने भन्ने जस्ता विषयमा प्रत्येक वर्ष जस्तो चर्चापरिर्चा हुन्छ ।
यही चलिरहने एक किसिमको माहोलबिच धेरैले सेतो टीका लगाएर दशैं पर्व मान्छन् भने आदिवासीको बाहुल्यता रहेको कतिपय क्षेत्रमा भने दशैँभन्दा ल्होछार पर्व मनाउने चलन छ ।
दशैं पर्व र रातो टीकालाई आदिवासी अभियन्ता तथा संस्कृतिविज्ञहरु हिन्दु धार्मिक संस्कारको रुपमा लिन्छन् । हिन्दु धर्मसँग जोडिएको पर्वलाई विभिन्न कालखण्डमा राज्यद्वारा नै मूल संस्कृति र परम्पराको रुपमा विस्तार तथा स्थापित गरिएको उनीहरुको मत छ ।
त्यसो त केही तामाङ समुदायले दशैंलाई ‘म्हेनिङ’ पर्वको रुपमा मनाउँदै सेतो टीका र ताफोले म्हेन्दो(सयपत्रीको फूल) लगाएर विजया दशमी मनाउँदै आएका छन् । लेखक एवं तामाङ संस्कृतिविद् खोजराज गोलेका अनुसार दशैंभन्दा अघि नै म्हेनिङको शुरुवात भएको हो ।
शाह, राणा र पञ्चायत कालमा विभिन्न काममा दरवारको पहुँचमा पुगेकाहरुले राजा महाराजाहरुको हातबाट टीका लगाएपछि उनीहरुको घरमा समेत त्यही परम्परा भित्राए । त्यसपछि शुरु भएको रातो टीकामा सांस्कृतिक रुपमा बहस चलेपछि सेतो टीकाको प्रचलन गरियो । होइन भने तामाङ समुदायमा टीको प्रचलनलाई खासै प्राथमिकता दिइँदैनथ्यो ।
यता नेवार समुदायले भने दशैं पर्वमा मोःनी (मोहनी) मनाउँछन् । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म नेवार समुदायले मोहनी चाड मान्ने गर्छन् । यस अवसरमा विभिन्न देवीदेवताको जात्रा समेत गरिन्छ ।
घटस्थापनादेखि नै शुरु हुने यस पर्वमा विशेषत प्रकृति र कामलाई नै सम्मान स्वरुप पेसासँग सम्बन्धित सामग्रीहरुलाई पूजापाठ गरी बलि चढाइन्छ । साथै कलकारखाना, मेसिन र गाडीहरुलाई समेत पूजा गरि बलि दिइन्छ । दशमीको दिनमा भने कालो टीका लगाइन्छ ।
टीकामा विविधता कसरी आयो ?
आदिवासीहरुको सभ्यता र संस्कृतिले दशैं पर्व र रातो टीकालाई शासकको प्रतीकका रुपमा मानेका छन् । दशैं आदिवासीहरुको पर्व नभएपनि शाहकालीन समयदेखि सबै जाति र धर्मलाई यो पर्व मान्नैपर्ने बाध्यकारी नियम लगाएको आदिवासी संस्कृति तथा इतिहास विज्ञहरुको मत छ ।
दशैं मान्नैपर्ने बाध्यतापछि टीका समेत जोडिएर आएको उनीहरुको भनाइ छ । गोलेका अनुसार पृथ्वी नारायण शाहको शासनकालपछि देशमा हिन्दुकरण लागु भयो । रणबहादुर शाहको पालादेखि दशैं नमान्नेले पनि मान्नैपर्ने बाध्यकारी नियम लागु भयो ।
नेपाल एकिकरणको समयदेखि नै पूर्वी पहाडको किराती समुदायमा दशैं पर्व मनाउने पर्व शुरु गरिएको संस्कृतिका अध्येता अर्जुनबाबु माबोहाङले एक अन्तर्वाताका क्रममा भनेका छन् । उनका अनुसार एकिकरणमा सघाउने आदिवासी योद्धाहरुलाई समेत एकिकरणसँगै दशैं पर्व मनाउन प्रोत्साहन गरे ।
त्यतिबेला राजाले दशैं मनाउन उर्दी जारी गर्नुका साथै नेपाल एकिकरणको विजय स्वरुप घर घरमा रातो टीका लगाउन आदेश भएकोले राई, लिम्बु समुदायले समेत त्यसैलाई अनुशरण गरे । त्यतिबेला एकीकरण र विजयोत्सव जोडिएकाले दसैं हिन्दुहरुका लागि मात्र नभएर सबैका लागि अनिवार्य गरिएको थियो ।
किरातीहरु जस्तै तामाङ, मगर, थारु लगायतका समुदायहरुमा पनि दशैं र रातो टीकाको पृष्ठभूमि खोतल्दा उस्तै समानता भेटिन्छ र दशैं र टीकालाई मौलिक संस्कृतिभन्दा शासकको आदेशमा मान्दै गर्दा पछि निरन्तरता कायम भएको सबैको एउटै मत देखिन्छ ।
दशैंको टीकामा बहससँगै यसको सभ्यतालाई बुझेपछि सेतो टीका लगाएको पाइन्छ । किरातीहरुका लागि सेतो रङ पवित्रताको बिम्ब हो । यसलाई राष्ट्रिय रङका रुपमा समेत उनीहरु लिन्छन् ।
सृष्टिको आदिम समयमा सेतो रङकै अस्तित्व थियो । प्रकृति र सेतो रङलाई किरातीहरु आफ्नो सभ्यता र संस्कृति मान्छन् । थारु समुदायमा पनि सेतै रङको टीका लगाइन्छ । थारु संस्कृति अध्यता कृष्णराज सर्वहारी पहिला रङ नभएको समयमा सेतो टीकाबाटै शुरुवात भएको सुनाउँछन् ।
उनका अनुसार सुमदायको धार्मिक देखि सांस्कृतिक कार्यहरुमा समेत सेतो रङकै बढी प। रातो रङ टीका देखासिकी संस्कृतिका रुपमा उनी लिन्छन् ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि भने दशैं पर्व र लगाइने रातो टीकामा बढी नै बहसहरु भए ।
‘मंगोल नेसनल अर्गनाइजेसन,’ ‘राष्ट्रिय जनमुक्ति पार्टी’ जस्ता जस्ता दल तथा समूहहरुले दशैं बहिष्कारका लागि आन्दोलन नै गरेका थिए । त्यसपछि पहिचानको आन्दोलनको स्वरुप समेत आयो । यसले गर्दा दशैं मनाउने कि नमनाउने भन्ने कुरामा तीन समूहहरु देखा परे ।
एक समूहले दशैंलाई बहिष्कार नै गरेर आफ्नै मूल जरोतिर लागे भने दोस्रो समूह सेतो टीका लगाउनेतिर लागेर दशैंलाई निरन्तरता दिए । तेस्रो समूहले भने सनातनी परम्परालाई मानी रातै टीका लगाएर दशैं मनाउन थाले ।
यद्यपि पछिल्लो समय आदिवासी समुदायले दशैं पर्व मनाउन बिस्तारै छोड्न थालेका छन् । पर्व नमनाएपनि दशैंमा दिने लामो बिदा र यसको प्रभावले दशैं मान्नुपर्ने बाध्यता आइलाग्ने संस्कृतिविज्ञहरु सुनाउँछन् ।
संस्कृति विज्ञ जगमान गुरुङ भने रातो र सेतो टीका भनेर मूल संस्कृतिको नै गलत व्याख्या गरिरहेको मत राख्छन् । उनका अनुसार खासमा जाति र समुदायलाई छुट्याएर रातो र सेतो टीका छ्ट्याइएको होइन ।
उनले भने, ‘जतिबेला रातो अबिर र रङको विकास नै नभएको बेलामा सबै मान्छेहरुले सेतै टीका लगाउँथे । त्यतिबेला रातो रङ र अबिर कहाँबाट पाउनु ।’ आदिवासी र खसआर्य समुदाय सबैले त्यतिबेला सेतै रङको टीका लगाउँथे ।
उनका अनुसार खस आर्य समुदायले समेत रातो टीका लगाउन शुरु गरेको धेरै लामो इतिहास छैन । उनको धारणामा दशैं पर्व लडाइँ र युद्धसँग समेत जोडिएको छ । लडाइँमा दुस्मनसँगको विजयमा होस् या बलि दिँदा रगत वा रगतमै मुसेर रातो टीका लगाउने गरियो ।
त्यसैबाट रातो टीका प्रचलनमा आयो । त्यसकारण रातो टीकाको परम्परामा खस आर्य र सेतो टीकामा आदिवासी भनेर संस्कृतिको नै गलत व्याख्या भएको उनको धारणा छ । दशैंको टीकालाई उनी समृद्धि, शक्ति र धान बालीको सम्मानका रुपमा लिन्छन् ।
उत्कृष्ट अन्नको रुपमा लिइने धान खानुभन्दा अगाडि निधारमा लगाइन्छ । पशुहरुबाट प्राप्त गरिने सेतो दहीसमेत उतिबेला नै अबिर नभएको समेत प्रयोगमा ल्याएर सेतो टीकाको प्रचलन शुरु गरेको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया