मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दशैँमा किन लगाइन्छ रातो टीका र जमरा ? यस्तो छ धार्मिक मान्यता

काठमाडौँ- रातो टीका र जमरा दशैँको पर्याय नै बनेको छ । हिन्दू धर्ममा निधारभरी रातो टिका लगाइ शिरमा जमरा सजाएर दशैँ मनाउने प्रचलन छ । यसकारण आज हामी दशैँमा टीका किन लगाइन्छ ? धार्मिक आस्था के छ लगायतका सन्दर्भमा जानकारी दिन गइरहेका छौँ ।

दशैँलाई बडादशैँ, दशहरा, विजयादशमी भनेर पनि चिनिन्छ । बडादशैँ आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने  गरिएको छ । बडादशैँको पर्वमा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देश विदेश वा टाढा टाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ ।

अब कुरा गरौँ दशैँ मनाउने प्रचलन कसरी शुरु भयो

त्रेतायुगमा भगवान् श्रीरामले सीताको हरण गर्ने रावणको वध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले आश्विन शुक्ल दशमीका दिन रावणमाथि विजय हासिल गरेको भएर दशैँ मनाउन थालिएको जनविश्वास छ । दशैँलाई असत्य माथि सत्यको विजयको रुपमा हेरिन्छ । यसैगरी दशैँलाइ दुर्गा पूजाको रुपमा पनि हेरिन्छ । दशैँ हिन्दू सँस्कृतिमा दशैँलाई वीरताको पूजा गर्ने पर्वका रुपमा पनि लिइन्छ । व्यक्ति र समाजमा वीरताको भाव प्रकट होस् भन्ने ध्येयले दसैको पर्व सुरु भएको भन्ने पनि जनविश्वास छ ।

दशैँको टीकाको महत्व

दशैँमा आफूभन्दा ठूला मान्यजन र आफन्तबाट टिका लगाइन्छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाइ पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइने मान्यता छ । दशैँको टीका लगाउँदा दिइने आशिर्वादले मान्यजनप्रति श्रद्धाभाव राख्छ । टिका लगाउँदा दुबै आँखीभौंको माझमा पारेर लगाइन्छ । यसलाई तेस्रो नेत्र अर्थात् तेस्रो आँखा पनि भनिन्छ । यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धी, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हो ।

टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो टिका शान्ति एवं समृद्धिका प्रतीक हुन्, भनिन्छ । यसले मस्तिष्क, मन र विचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने जनविश्वास छ । टीका लगाउने काम दशमीको दिनदेखि पूर्णिमासम्म जारी रहन्छ । हिन्दू धर्ममा प्रायः रातो टीका लगाउने चलन छ । रातो रंग सुख, शान्ति, समृद्धि र सौभाग्यको प्रतीक हो । केही समुदायले भने आज सेतो टीका पनि लगाउने गर्छन् । यसलाई सुख शान्ति र आत्मीयताको प्रतीकका रुपमा लिइन्छ ।

दशैँको आर्शिवादको महत्व

दशैँमा टीकापछि आशिष अर्थात आर्शिवाद दिने गरिन्छ । आर्शिवादले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । आज टीका लगाइदिँदा पुरुषलाई यस्तो आशीर्वाद दिने गरिन्छ-


आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ


द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुता हरणको क्षमता होस्, राजा नहुनको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।।सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद


जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।।

अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्छिन् । यो जगत को रक्षा गर्ने हे देवी १ यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।

दशैँमा जमराको महत्व

दशैँमा मान्यजनहरुले टीका लगाइदिँदा निधारभरी रातो अक्षता सँगै कानमा जौ, मकै, धान र गहूँका लामा पँहेला जमरा लगाइदिने चलन छ । निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैँ मनाएको संकेतको रुपमा लिइन्छ । धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौको प्रयोग गरिने चलन रहेको छ ।

गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्व पुष्टि हुन्छ । खाद्य पदार्थको हिसाबले पनि जौ  निकै पौष्टिक मानिन्छ । यसमा औषधीय गुण पनि हुन्छ । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ ।

जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ । वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ ।

दशैँको दक्षिणाको महत्व

दशैँमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्तहरु दिइने पैसा नै दक्षिणा हो । सुख,शान्ति ,शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्राउनु हो भन्ने आम बिश्वास छ । कतिपयले त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको पनि पाइन्छ ।

हामीकहाँ अहिले दुइटा दशैँ मनाइन्छ– बडा दसैँ र चैते दसैँ । बूढापाकाहरुले भन्ने गरेको  सुन्नुभएकै होला मूल दशैँ चैते दशैँ हो । तर चैतमा उत्पादन केही नहुने, कात्तिक–मंसिरमा भित्राएको बाली पनि सकिने भएकाले गरिबहरूले दशैँ मान्न सकेनन् र दशैँलाई असोज–कात्तिकमा सारिएको भन्ने कि‌वदन्ति छ ।

पहिलेपहिले चैत्र शुक्लमै हिजोआज आश्विन शुक्लमा मनाउनेजस्तै गरी दशैँ मनाइन्थ्यो । तर गर्मीको समयमा खानपिनबाट स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न थालेकाले हिउँदमा अर्थात् आश्विन शुक्लमा दशैँ मनाउने गरिएको बताइन्छ ।

दशैँको अरु देशमा पनि मनाइन्छ । भारतमा ‘दशहरा’ भनिने दशैँ पाल र सेनवंशी राजपुत (राजा) हरूका पालामा पनि विशेष रुपमा मनाइएको पाइन्छ । भारतको पञ्जाबमा उपवास र गुजरातमा नारीहरूद्वारा नौ दिनसम्म ‘गरवा’ नाच नाचेर नवरात्रमा मातृशक्तिको आराधना गरिन्छ ।

तमिलनाडुमा तीन–तीन दिनका हिसाबले क्रमशः लक्ष्मीपूजा, मातृशक्तिपूजा र सरस्वतीको पूजा–उपासना गरी दशैँ मनाइन्छ । बंगालमा दुर्गापूजा प्रसिद्ध छ । भारत लगायत इन्डोनेसिया आदि देशहरूमा समेत दशैँको अवसरमा ‘रामलीला’ खेल्ने चलन पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?