मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेवार समुदायको मोहनी नख:

काठमाडौँ– दशैँ भन्ने बित्तिकै सबैले रातो टीका र पहेँलो जमरालाई नै सम्झिन्छन् । सामान्यतयाः निधारमा रातो टीका र शिरमा जमरा सिउरिएपछि दशैँ मनाएको भन्ने बुझिने गरिन्छ । त्यसैले पनि दशैँमा रातो टीका र जमराको आफ्नै महत्व छ ।

तर, नेवार समुदायले भने दशैँमा रातो टीका र जमराभन्दा पनि कालो टीकालाई विशेष महत्व दिने गरेको पाइन्छ । उसो त नेवार समुदायले दशैँमा रातो टीका नलगाउने भन्ने चाहीँ होइन । नेवार समुदायमा पनि रातो टीका र जमरा लगाउने चलन छ ।

तर नेवार समुदायमा रातो टीकाभन्दा पनि कालो टीकालाई विशेष प्राथमिकता राख्ने गरिन्छ । केहीले भने कालो टीका मात्रै लगाउने गरिन्छ । रातो टीका लगाए पनि त्योभन्दा माथिबाट कालो टीकाको धर्को लगाइन्छ ।

बोलीचालीको भाषामा कालो टीका भनिए पनि तान्त्रिक रुपमा मोहनी भनिन्छ । उक्त कालो टीका पनि तान्त्रिक विधिबाट मात्रै बनाइन्छ । दशैँको नवौँ दिन जमरा राखेको कोठामा माटोको भाँडोमा तेल र दियो बाल्दा निस्केको ध्वाँसो मिसाएर कालो टीका बनाइने गरिन्छ । जुन भोलिपल्ट अर्थात् दशमीको दिनमा निकाल्ने गरिन्छ ।

दशैँको समयमा सोही कालो टीका लगाउने भएकोले गर्दा यस पर्वलाई नेवार समुदायले मोहनी नख भन्ने गरिन्छ ।

नेवार समुदायले आश्विन शुल्क प्रतिपदाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म मनाइने पर्वलाई मोहनी नख भनिने संस्कृतविद् ओम धौभडेलले बताए । दशैँको सुरुवातको दिन अर्थात् घटस्थापनामा खस र आर्य समुदायले जमरा राख्छन् ।

नेवार समुदायले भने नलासालेगु या स्वसालेगु भनेर जमरा राख्ने गर्छन् । उनका अनुसार नेवार समुदायले मनाउने मोहनी नख दशैँसँग समानता र भिन्नता पनि रहेको छ । नेवार समुदायमा जमरा राखेपछि मोहिनी नखको शुरुवात हुने गर्दछ ।

संस्कृतविद् विनोदराज शर्माका अनुसार नेवार समुदायले दशैँमा जौँको मात्रै जमरा राख्ने प्रचलन रहेको छ । तर पछिल्लो समय अन्य समुदायको प्रभावमा मकै, गहुँ र जौँको प्रयोग गरी जमरा राख्ने गरिएको छ ।

कसरी बनाइन्छ मोहनी ?

नेवार समुदायले महानवमीको दिन मोहनी बनाउँछन् । नवमीको दिन जमरा राखेको ठाउँमा अर्थात् नलाःस्वाँलाई मोहनीको देवीदेवताको रुपमा मानेर बलिसहित पूजा गरिन्छ । कुखुरा, अण्डा वा नरिवल मात्रै राखेर भए पनि बलि दिएपछि मोहनी राख्ने गरिन्छ । बलि दिएर राखिएको मोहनीमा बनेको ध्वाँसोको आकृतिलाई देवीदेवता, धार्मिकस्थलको प्रतीकको प्रतिविम्बको रुपमा लिने गरिन्छ । यो नै दशैँको मुख्य विशेषता हो ।

मोहनी राख्नको लागि सलिङ्चा (माटोको भाँडो) मा तोरीको तेल हालेर दियो बालिने गरिन्छ । यसरी बालिएको दियोलाई भित्रबाट तेल दलिएको अर्को सलिङचाले छोपिन्छ । यसरी छोपिएको सलिङचामा सो दियो बलेर आएको ध्वाँसो जम्मा हुने गर्दछ । त्यसैलाई नै ‘मोहनी फेयगु’ मोहनी स्थापना वा राखिनु भनिन्छ । मोहनी स्थापना गरिएको सलिचालाई पूजा गरिन्छ ।

यसरी राखिएको मोहनीलाई भोलिपल्ट दशमी अर्थात् बडादशैँको दिन पुनः पूजा गरि निकाल्ने गरिन्छ । सोही दिन रातो टीका माथि धर्को तानेर मोहनी लगाइने गरिन्छ । संस्कृतविद् ओम धौभडेलका अनुसार कालो रंग भैरवको प्रतीक भएकोले सेतो र रातो कपडाको बाला (तुलबाला) समेत लगाइने गरिन्छ ।

कुन दिन कसरी मनाइन्छ ?

नेवार समुदायले घटस्थापना अर्थात् मोहनी नख शुरु भएसँगै फरक फरक देवीको आराधना गरी मनाइने गरिन्छ । विशेष गरी भक्तपुरका हरेक दिन फरक फरक शक्ति पीठहरुमा मेला लाग्ने गर्दछ ।

पहिलो अर्थात् घटस्थापनाको दिन ब्रम्हायिणी मन्दिर, दोस्रो दिन महेश्वरी मन्दिर, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र दशौँ दिन भैरव दर्शन गर्ने गर्छन । यो समयमा टोल टोलका बाजा समूहका व्यक्तिहरु बाजागाजा बजाई हरेक दिन फरक मन्दिरमा जाने गर्छन् ।

सप्तमीको दिन घरमा राँगोको मासु भित्र्याउने प्रचलन रहेको छ । आठौँ दिन ‘कुछि भ्वय’ खाने प्रचलन रहेको छ । यस दिन परिवारका सबै सँगै बसेर दुई माना चिउरा राखेर भोज खाने प्रचलन रहेको छ । कुछि भ्वयको लागि दुई माना चिउराको साथमा माछा, अण्डा, आलु, साग, भटमासलगायतको विभिन्न परिकार समावेश गरिएको हुन्छ ।

नवौँ दिनलाई महानवमी भनिन्छ । यस दिन नेवार समुदायले आफ्नो पेशा वा दैनिक कार्यको लागि प्रयोग गर्ने साधनहरुलाई पूजाआजा गर्ने गर्छन् । यस दिन कृषि कर्मका लागि प्रयोग गरिने मेसिन, उद्योग, बाइक गाडीलगायको सामग्रीलाई पूजाआजा गर्ने गरिन्छ ।

दशौँ दिनमा तलेजु भवानीमा जात्रा हुनुका साथै भैरवको मन्दिरमा दर्शन पनि गरिन्छ । तलेजुको जात्रा पछि मोहनी सकिने मान्यता रहे पनि दशैँको भोज कोजाग्रत पूर्णिमाको दिनसम्म खुवाउने गरिन्छ ।

बिहे गरेर गएका छोरीचेलीहरुलाई बोलाएर भोज खुवाउने गरिन्छ । जसलाई नखत्या भनिन्छ । नेवार समुदायमा दशैँको टीका ग्रहण गर्दा दक्षिणा दिने प्रचलन छैन । पछिल्लो समय केही स्थानको समुदायले टीका ग्रहण गर्दा दक्षिणा स्वरुप पैसा दिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?