काठमाडौँ- इन्टरनेटको प्रयोगसँगै हाम्रो दैनिक जीवनमा धेरै सुविधा थपिएका छन् । अहिले गीत सुन्ने, भिडियो हेर्ने, आफ्ना साथीभाइ र आफन्तसँग सम्पर्कमा रहने, गेम खेल्ने, व्यापार व्यवसाय गर्न समेत इन्टरनेटको प्रयोग बढ्दै गएको छ ।
तर, इन्टरनेटले समाजमा एकातिर सकारात्मक प्रभाव पारेको छ भने अर्कोतर्फ इन्टरनेटका माध्यमबाट विभिन्न प्रकारका नकारात्मक असर पनि देखिएका छन् ।
समाजमा द्वेष र घृणा फैलाउन, कसैको चरित्र हत्या गर्न, ठगी गर्ने, गैरकानुनी रुपमा अनलाइन जुवा खेल्नेजस्ता अवैधानिक काममा पनि इन्टरनेटको प्रयोग बढिरहेको छ । हामीमध्ये कतिपयले इन्टरनेटमा यस्तै किसिमका तीता अनुभव बटुलेका हनसक्छौँ । तर हामी चनाखो रह्यौँ भने यस्ता विकृति, नमिठा अनुभव र साइबर अपराधबाट जोगिनसक्छौँ ।
आखिर कसरी साइबर स्पेसमा सुरक्षित रहने त ? आज हामीले तपाईँका लागि केही टिप्स लिएर आएका छौँ ।
–सामाजिक सञ्जाल वा मेसेन्जरमा शंकास्पद लिंक आएमा चनाखो भइहाल्नुपर्छ । शंकास्पद लिंक जथाभावी क्लिक गरे त्यसले तपाईँको साइबर गोपनियतामा असर पुर्याउनसक्छ ।
–विदेशबाट पार्सल वा गिफ्ट आएको छ, भन्सार तिर्न पैसा चाहिन्छ भनेर कसैले भनिहाले हतारिएर रकम बुझाउनु हुँदैन । आजकल साइबर ठगहरुले यस्तैं बहाना बनाएर सोझा सामाजिक सञ्जाल प्रयोगकर्तालाई निशाना बनाउने गरेका छन् ।
–त्यसैगरी, चिट्ठा पर्यो भन्दै म्यासेज आएपनि चनाखो भइहाल्नुपर्छ । विशेष गरी आफूले भर्दै नभरेको चिठ्ठा पर्यो, बहुमूल्य उपहार जित्नुभयो भन्ने म्यासेज आएमा सतर्क भइहाल्नुपर्छ । ठगी गर्ने नियतले त्यस्तो म्यासेज आएको हुनसक्छ ।
–इन्टरनेट प्रयोगकर्ताले आफ्ना सामाजिक सञ्जालका पासवर्ड कसैसँग पनि शेयर गर्नु हुँदैन । आफ्ना निकटस्थ विश्वासपात्रसँग पनि पासवर्ड शेयर गर्दा सावधान रहनुपर्छ । भविष्यमा त्यस्ता पासवर्डको गलत प्रयोग हुनसक्छ भनेर आफू सधैँ चनाखो रहनुपर्छ ।
–अत्यावश्यक पर्यो भन्दै चिनेकै मान्छेले पनि पैसा मागेर म्यासेज गरे चनाखो भइहाल्नुपर्छ । पछिल्लो समय अरुको सामाजिक सञ्जाल अकाउन्टमा पहुँच पुर्याएर रकम मागेर ठगी गर्ने समूहको सक्रियता धेरै देखिन्छ । यसका लागि पैसा माग्ने मान्छेलाई फोन गरेर निश्चय गर्नुपर्छ ।
–सामाजिक सञ्जालमा आवश्यकभन्दा बाहेकका व्यक्तिगत विवरण र आपत्तिजनक तस्वीर, भिडियोहरु राख्नु हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया