काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दशैँ विशेष बुलेटिन जारी गरेको छ । बुलेटिनमा महाशाखाले फूलपातिदेखि विजयादशमीसम्म तीन दिनको मौसम पूर्वानुमान गरेको छ ।
बुलेटिनमा महाशाखाले दशैंको फूलपातिदेखि दशमीको दिनसम्म कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । महाशाखाका अनुसार बाँकी भूभागमा भने मौसम सफा रहने छ ।
अझै पनि कोशी र मधेश प्रदेशका केही स्थानमा मनसुनी वायु बाँकी रहेको विभागले जानकारी दिएको छ । बागमती, गण्डकीसहित पश्चिम नेपालबाट भने मनसुन बाहिरिसकेको छ ।
साथै सप्तमीदेखि दशैंको टीकाको दिनसम्म अहिलेको तुलनामा जाडो भने बढ्ने महाशाखाको पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया