काठमाडौँ- टेस्ला, स्पेस एक्स र एक्सका प्रमुख एलन मस्कले राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प पराजित भएमा आफू जेल पर्ने टिप्पणी गरेका छन् ।
फक्स न्यूजका पूर्वप्रस्तोता टकर कार्लसनसँगको अन्तरवार्तामा मस्कले ट्रम्प आगामी राष्ट्रपतीय चुनावमा कमला ह्यारिससँग पराजित भए भने आफू जेल जान सक्ने बताएका हुन् । साथै उनले कमला ह्यारिसले चुनाव जितेमा अमेरिकामा फेरि कहिल्यै चुनाव नहुने दाबी समेत गरेका छन् । मस्कले अमेरिकाको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गर्दै आएका छन् ।
ट्रम्पले चुनाव हारे के हुन्छ ? भन्ने प्रश्न सोधिएकोमा मस्कले भने– ‘यदि ट्रम्पले चुनाव हारे भने सोच्नुहोस् म जान्छु । म कति वर्ष जेल जान्छु जस्तो लाग्छ ? के म मेरा छोराछोरीलाई पनि हेर्न पाउँछु ? मलाई थाहा छैन ।’ हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्यालीमा पनि मस्कले पूर्वराष्ट्रपतिलाई समर्थन गरेका थिए ।
अन्तरवार्ताका क्रममा मस्कले भने, ‘मलाई लाग्छ यदि ट्रम्पले यी चुनावहरू जितेनन् भने यो अन्तिम चुनाव हुनेछ ।’ ह्यारिस बाइडेनको शासनकालमा अमेरिका आएका लाखौँ गैरकानुनी आप्रवासीलाई नागरिकता दिइने मस्कको आशंका छ । त्यसो भएमा उनीहरू भविष्यमा सदाका लागि डेमोक्र्याट पार्टीका मतदाता हुने उनको बुझाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया