मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बडा दशैँ

बडा दशैँमा हरेक वर्ष गुञ्जिने यी सदावहार गीत (भिडियो सहित)

काठमाडौँ– चारैतिर दशैँको रमझम बढेसँगै गाउँदेखि शहरसम्म दशैँका गीतहरू पनि गुञ्जिन थालेका छन् । हरेक वर्षजस्तो दशैँको अवसर पारेर नयाँ गीत सार्वजनिक भइरहन्छन् । तर, केही गीत यस्ता हुन्छन् । ती गीतले दशैँलाई अझ विशेष बनाइदिन्छन् ।

मालश्री धुन बज्दा दशैंको रौनकता त थपिइसकेको छ । दशैं भन्ने बित्तिकै धार्मिक, सांस्कृतिक र सामाजिक पाटोसँगै मनोरञ्जन पनि जोडिएर आउँछ । हिन्दू नेपाली वर्षमा दुईवटा दशैँ मनाउने गरे पनि बडादशैँको महिमा र महत्त्व बेग्लै छ ।

अझ दशैँमा गीतले पिन उस्तै माहोल थपिदिने गर्छन् । दशैंमा बज्ने कैयन् गीत सङ्गीत भए पनि कुनै कुनै सिर्जना भने दशैंको पर्यायवाची जस्तै छन् । ती गीतलाई दशैं पर्व सम्झाउने सदाबहार गीतहरुको सूचीमा राखिएका छन् ।

ती गीतहरुमा दशैं पर्वको उल्लाससँगै, रोदन, पीडा र व्यथाहरु समेत चित्रण भएका छन् । त्यसकारण ती गीति सिर्जनाहरु आम मानिसको दिल र दिमागमा अमिट छाप बनेर बसेका छन् ।

यी हुन् दशैँको अवसरमा खुबै घन्किए सदावहार गीतहरू:

हो हो दशैं आयो

फिल्म मुग्लानमा समेटिएको ‘दशैं आयो’ बोलको गीतलाई ऐतिहासिक दशैं गीतका रुपमा लिइन्छ । प्रत्येक वर्ष दशैं पर्व शुरु भएपछि प्रत्येकका घर घरमा बज्ने रेडियो तथा टेलिभिजनमा यो गीत घन्किन्छ ।

वर्ष र दिनको रमालो चाड गाउँघरमा आइपुग्यो

नेपालीजनको महान पर्व आँगनमा आइपुग्यो’

दशैँको रमाइलो पल सम्झाउने भाव समेटिएको गीतले दशैं पर्व र समाजको मौलिकतालाई समेटेको छ । लोकनाथ सापकोटाको शब्द र संगीत रहेको यस गीतमा उदितनारायण झा र दीपा झाको स्वर रहेको छ । गीतमा विपना थापा, दिलिप रायमाझ, सुशिल क्षेत्री, झरना थापालगायतको अभिनय देख्न सकिन्छ ।

नमुछे आमा दहीमा टीका

नारायण रायमाझीको स्वरमा २०५५ सालमा रेकर्ड भएको यस गीतले रोजगारका लागि परदेशिएका लाखौं युवाहरुको पीडालाई व्यक्त गरको छ । लक्ष्मण रायमाझीको शब्द रचना रहेको यस गीतलाई २०५८ सालमा कृष्ण भक्त राई र लक्ष्मी न्यौपानेको आवाजमा पुन: रेकर्ड गरिएको थियो ।

पछि २०७८ साल ताका गायक रायमाझीले पुन रेकर्ड गरेको यही गीतमा स्वरमा साथ रचना रिमालले दिएकी छिन् । हरेक दशैंमा बज्ने यस कालजयी गीतले आजपनि परदेशिएका युवाहरुको पीडालाई उस्तै रुपमा अभिव्यक्त गरेको छ ।

गीतमा परदेशमा रहेको छोराले आमालाई टीका र जमरा तयार नगर्न भनेका छन् भने जीवन संगिनीलाई नाडीका चुरा र सिउँदोको सिन्दुर नत्याग्न समेत आग्रह गरेका छन् ।

दशैं नै हो कि यो मेरो दशा

योगेश्वर अमात्यको स्वर रहेको यस गीतले आर्थिक रुपमा विपन्न परिवारले दशैं पर्व दशाको रुपमा लिने यथार्थतालाई समेटेको छ । दशैं पर्व भित्रिने बित्तिकै घर घरमा बज्ने यस गीतले प्रत्येक नेपालीको मन छोएको छ ।

यसले कमजोर आर्थिक स्थिति भएकाहरुको मन झनै छोएको छ । त्यसकारण हरेक दशैं पर्वमा यो गीत बज्ने गरेको छ ।

वर्षमा दिनमा लै लै

सुगम पोखरेलको स्वरमा रहेको यस गीत दशैं पर्वमा बज्ने निकै लोकप्रिय गीत हो । पोखरेलकै सङ्गीत रहेको गीतमा दशैं पर्वको रौनक, विदेशिएका युवाका भावनाहरु समेत प्रतिबिम्बित भएका छन् ।

गीतलाई विशेषत: युवा वर्गहरुले निकै रुचाएका छन् । गीतको शब्द रचना भने रवि श्रेष्ठले गरेका छन् ।

फूलपाती भाकेर मनकामना

फिल्म ‘भरोसा’मा समावेश गरिएको यस गीत पनि प्रत्येक दशैंमा सबैको घर घरमा घन्कन्छ । शिव रेग्मीको शब्द रचना रहेको गीतमा सङ्गीत सुरेश अधिकारीको रहेको छ । गीतमा स्वर उदय नारायण झा र साधना सरगमको रहेको छ ।

यस गीतमा मायाप्रेमको भाव समेटेपनि शरद ऋतुको परिवेशसँगै ‘फूलपाती’ जस्ता शब्द प्रयोजनका कारण दशैं पर्वमा यो गीत समेटिन्छ । गीतमा श्रीकृष्ण श्रेष्ठ, दिलिप रायमाझी, नन्दिता केसी, उषा पौडेल, अरुणिमा लम्साल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यी बाहेक दशैं पर्वलाई केन्द्रीत गरेर धेरैजसो लोकगीतहरु नै सिर्जना भएर बजारमा आएका छन् । यस वर्ष पनि ‘दशैं तिहार,’ ‘गाउँ झै राम्रो,’ ‘आयो है दशैं आयो,’ ‘हाम्रो दशैं यो राम्रो दशैं,’ ‘आउँथ्यो दशैं’ लगायतका दर्जन हारहारीमा गीतहरु सार्वजनिक भइसकेका छन् ।

दशैं पर्वका गीतहरुको आयु छोटो हुने भएकोले पछिल्लो समयमा गीतसङ्गीतका सर्जकहरुले दशैं पर्व सम्बन्धी गीतहरु थोरै मात्रामा मात्र सार्वजनिक गर्न थालेका छन् । सार्वजनिक भएका गीतहरुमा पनि दशैंको मौलिकताभन्दा पनि मनोरञ्जन नै बढी हाबी भएको सुन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?