काठमाडौँ– कवि प्रेमप्रकाशले साहित्यप्रेमी माझ कवितासङ्ग्रह ‘रगतको तर्पण’ ल्याएका छन् ।
सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा रोल्पा(काठमाडौं कलासाहित्य समाजद्वारा आयोजित कार्यक्रममा कवि प्रेमप्रकाशसहित प्रतिष्ठानका कुलपति भूपाल राई, जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष भीम कुमाखी, कवि तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा र उपप्राध्यापक तथा कवि केशव सिलवालले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् ।
रोल्पाली कवि प्रेमप्रकाशले कवितासङ्ग्रहमा आफ्नो जन्मभूमी रोल्पा र उवाले भोगेको १० वर्षे जनयुद्धको त्रासदी अनि त्यसको बाछिटाहरुलाई कविता सिर्जनाहरुमा विम्बात्मक रुपमा पस्केका छन् ।
उनले कवितामार्फत उनले रोल्पाको भूगोल र रोल्पालीहरुको अनुभूतिहरुलाई समेटेका छन् । प्रगतिशील चेत भएका उनले विशेषत यथार्थवादी चिन्तनलाई कवितामा चित्रण गरेका छन् ।
विमोचन समारोहको प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य दिँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राईले क्रान्तिको उद्गमस्थल रोल्पाबाट एकजना हस्तक्षेपकारी कविको रुपमा प्रेमप्रकाश आएको टिप्पणी गरे । कुलपति राईले भने, ‘विचारको अस्थिपन्जर र कलाको मांशपेशीले कविताको सग्लो आकृति निर्माण गरेर प्रेमप्रकाशले एउटा पूर्ण कवितासङ्ग्रह ल्याएका छन् ।’
कलाका अन्य विधाभन्दा भाषाबाट अभिव्यक्त गर्ने कविता नै सबैभन्दा सुन्दर कला सिर्जना रहेको बताउँदै राईले भाषासाहित्यसँग मान्छेको जीवन जोडिएको बताए । रोल्पाको भूमिले साहित्यको क्षेत्रमा एकजना जबर्जस्त हस्ताक्षर जन्माएको उनले दाबी गरे ।
कवितासङ्ग्रहमाथि समिक्षात्मक विचार राख्दै जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष कुमाखीले प्रेमप्रकाशका कविताहरुमा युद्धको इतिहासले दिएको आँसु र रगत दुवै कलात्मक तथा विम्बात्मक रुपमा आएको सुनाए । उनका अनुसार कविताहरुमा केवल युद्ध मात्र नभएर आदिवासी चेत, युद्धको सौन्दर्य र रोल्पाले भोगेको यथार्थता सशक्त रुपमा आएका छन् ।
‘कविताहरुमा वर्ग सङ्घर्ष, १० वर्षसम्म भोगेको युद्ध र रगतहरु भेटिन्छन्,’ उनले भने, ‘कविताहरुले नचिनेको रोल्पा र प्रेमप्रकाशलाई चिनाएको छ ।’ तत्कालीन समयमा साहित्य सिर्जना मार्फत नै सुन्दर र समृद्ध समाज निर्माणको लागि आलोचनात्मक चेत उठाउन जरुरी रहेको सुनाउँदै उनले कविताहरुमा प्रगतिशील चेतसहितको आवाज उठान भएको ठहर गरे ।
कवि तथा संचारिका समूहकी अध्यक्ष तुम्खेवाले प्रेमप्रकाशका कविताहरुमा कला र विचारको अद्भुत सन्तुलन रहेको टिप्पणी गरिन् । उनले कविताहरुमा युद्धकै विषय उठान भएपनि त्यसलाई पियानोको धुन जसरी नै मटुलाई छोएर रेट्ने खालको भावनात्मक गहिराई समेटिएको उनले सुनाइन् ।
‘कवि प्रेमप्रकाशले कविताहरुमा ठूलो दर्शन, सिद्धान्तका कुराभन्दा पनि भावनात्मक गहिराई र त्यसमा मिठास ल्याउनुभएको छ । कविताहरुमा आगो, पानी, पहाडसँगै उहाँले आफ्नो अलग्गै अनुहार लिएर उभिनुभएको छ,’ उनले भनिन् ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा कवि सिलवालले प्रेमप्रकाशका कविताहरुमा नेपाली समाजका अन्तरद्वन्द र अन्तर्वस्तुहरुको मिहिन विश्लेषण रहेको टिप्पणी गरे । परिवर्तनको पक्षमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका गुमनाम भुइँमान्छेहरुको पक्षमा प्रेमप्रकाशले कविता लेखेको उनले सुनाए ।
‘माटोमाथि केही अधिकार’, ‘जीवनसँग जहिल्यै पनि,’ ‘भावहरुको भव्य भग्नावशेष’ शीर्षक तीन खण्डमा विभाजित प्रेमप्रकाशको कविताकृतिमा ‘आगो लिन गएकाहरु,’ ‘उल्टो यात्रा,’ ‘रगतको तर्पण,’ ‘विचार जरुरी छ,’ ‘आन्दोलनमा अक्षरहरु’ शीर्षकका कवितासहित जम्मा बयालीस वटा कविताहरु सङ्ग्रहित छन् ।
कविता, गजल र नियात्राका आधा दर्जन किताबसहित गीतिएल्बमसमेत प्रकाशित गरिसकेका प्रेमप्रकाशको ‘रगतको तर्पण’ कवितासङ्ग्रहलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो ।
समारोहमा अस्मिता केसी, एलिसा एकलास, गीलु रातोस, छम गुरुङ, नवीन शर्मा, नुशा लिङ्देन र प्रज्वल अधिकारीले प्रेमप्रकाशको विमोचित कवितासङ्ग्रहबाट एकएकवटा कवितावाचन गरेका थिए ।
विमोचन कार्यक्रममा लुम्बिनी प्रदेश सांसद यमुना रोका, धर्मेन्द्र नेम्बाङ, स्वप्निल स्मृति, डा.विष्णुकुमार सिङ्जाली, चलचित्रकर्मी सञ्जोग लाफामगर, कवि मुक्तान थेबा, गजलकार बाबू त्रिपाठी, कवि असिम सागर लगायत कवि, कलाकार, पत्रकार, राजनीतिकर्मी तथा संस्कृतिकर्मीहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया