मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बडा दशैँ

दशैँमा मात्र गुञ्जिने ‘मालश्री धुन’, धार्मिक तथा सांस्कृतिक मान्यता के छ?

काठमाडौं– बडादशैँ नजिकिएसँगै गाउँदेखि शहरसम्म यसको रमझम शुरु भइसकेको छ । वर्षा ऋतुको अन्त्यपछि शरद ऋतुमा नेपाल र डायस्पोरामा रहेका नेपालीबीच दशैँको रौनक बेग्लै हुन्छ । दशैंसँगै विशेष:त धार्मिक महिमा पनि जोडिएर आउँछ ।

यस अवसरमा देवी दुर्गा माताको पूजा र आराधना गरिन्छ । पौराणिक कथाका अनुसार देवी दुर्गाले दानव महिषासुरलगायत रक्तवीज, शुम्भ निशुम्भ आदिलाई बध गरी तिनको आतङ्कबाट देव गणको रक्षा गरेकाले वर्षेनी देवीको पूजा र आराधना गर्ने प्रचलन छ ।

यसै पूजा आराधनाको समयमा दशैंको माहोल र रौनकसँगै प्रत्येक नेपालीहरुको घर घरमा एउटा धुन बज्छ । जुन धुनले शरद ऋतुको परिवेशसँगै आम मानिसलाई दशैँ आएको भान हुन्छ, त्यो हो ‘मालश्री धुन’ ।

यसले आम मानिसमा धार्मिक दृष्टिकोणबाट भक्ति भाव समेत पैदा गर्छ । यसर्थमा भन्दा ‘मालश्री धुन’ र दशैं पर्व पर्यायवाची नै बनेको छ । अझ नेपालीलाई त रेडियो तथा टेलिभिजनमा ‘मालश्री धुन’ बजेपछि मात्र दशैं पर्व भित्रिएको अनुभूति हुन्छ ।

विभिन्न अध्ययन र नेवारी संस्कृतिलाई हेर्दा काठमाडौं उपत्यकाको नेवार समुदायको सांस्कृतिक परम्परासँग मालश्री धुन जोडिएको पाइन्छ । काठमाडौं उपत्यकामा मल्ल कालदेखि नै देवी देवताहरुको प्रशन्नताका लागि दाफाहरुमार्फत सामुहिक रुपमा गीतसङ्गीत र भजनहरु गाउने गरिन्थ्यो ।

यो प्रचलन नेवार समुदायमा अझै यथावत नै छ । गाई जात्रा, बिस्का जात्रा, गुँला पर्व, इन्द्रजात्रा होस् या मछिन्द्रनाथ जस्ता जात्रा तथा पर्वमा दाफामार्फत समितिहरु बनाएर साङ्गीतिक प्रस्तुतिहरु दिइन्छ । दाफाकै मान्यता अनुसार ‘मालश्री धुन’ शास्त्रीय सङ्गीतकै एउटा राग हो । सङ्गीतका विज्ञहरुका अनुसार शास्त्रीय सङ्गीतमा राग अभिन्न पाटो हो ।

यसमा आउने विभिन्न रागहरुमध्ये ‘मालश्री’ पनि एक हो । तबला वादक सरिता मिश्रका अनुसार शास्त्रीय सङ्गीतमा मौसम र ऋतु अनुसारका रागहरु हुन्छन् । बसन्त पञ्चमी र दशैं पर्वमा बज्ने धुन र राग फरक फरक हुन्छन् । उनका अनुसार ‘मालश्री धुन’ भने दशैँ पर्वमा मात्र बजाइन्छ ।

अरुबेला यो धुन बजाउन वर्जित छ । दशैंमा नवदुर्गा तथा अष्ठमातृकाको उपासनासँगै ‘मालश्री धुन’ बजाइने उनले सुनाइन् ।

‘मालश्री धुन नवदुर्गाको उपासना हो । अर्को कुरा अष्ठमातृकासँग पनि सम्बन्धित छ,’ उनले भनिन्, ‘मालश्रीले सकारात्मक ऊर्जा दिएर घर घरमा सह हुने, रोग व्याधिहरु हराउने, वर्षायाममा हुने सरुवा रोगहरु हटाउने भन्ने विश्वास छ ।’

वर्षायाममा हुने किरा फट्याङ्ग्रा हिलो, मैलो, पानी सबै सकिएपछि दशैं पर्व आउँछ । ‘मालश्री धुन’ कानबाट सुनेर हृदयभरि छरिएपछि मनमा भएका नकारात्मक तत्वहरु सबै हटाउँछ भन्ने पनि आम विश्वास रहेको उनले बताइन् ।

उनले भनिन्, ‘विशुद्ध यो राग नेपालमा मात्र बजाइन्छ र यो अष्टमातृकाकै धुन हो । मालश्री धुनको राग चाहिँ दशैं पर्वकै समयमा बजाइन्छ । शास्त्रीय सङ्गीतमा ऋतु अनुसारका थुप्रै रागहरु हुन्छन् ।’

दशैं पर्वमा नौरथाभरी नै देवदेवीहरुको पूजा आराधना गरिन्छ । विशेषत देवीको शक्ति प्राप्ति र प्रशन्नताका लागि पूजा आराधना गर्ने प्रचलन रहिआएको छ । यस अवसरमा बनाइने ‘मालश्री धुन’ले देजीहरुको शक्तिको महिमा र गुणगान समेत हुने आम विश्वास रहेको छ ।

यही विश्वासमा बजाइने ‘मालश्री धुन’ अहिले आएर दशैंको परम्परा र संस्कृतिसँग जोडिएको पाइन्छ ।

हरेक पर्व तथा उत्सवहरुमा मनोरञ्जन समेत जोडिएर आएको देखिन्छ । यही मनोरञ्जनको पाटोलाई केलाउँदा ‘मालश्री धुन’ जोडिएर आएको हो कि भन्ने संस्कृति एवं सङ्गीत विज्ञहरुको मत छ । मनोरञ्जनमा गाइने रागहरु, भजन, गीत, नाचहरु भनेको ईश्वरको लागि रहेको संस्कृतिविद् प्रा.डा. वीणा पौड्यालको भनाइ छ ।

उनका अनुसार ईश्वरलाई प्रशन्न पार्नका लागि भजन, राग, गीतहरु गाउने, नाचहरु देखाइन्छ । यो चाहिँ कुन समयमा के गर्ने भनेर सबै निर्देशित हुन्छ । उनले भनिन्, ‘लिच्छबी, मल्ल र शाहकालमा पनि इस्ट देवता तथा देवीहरुको विशेष पूजा आराधना गरी प्रशन्न पारिन्थ्यो । देवीलाई प्रशन्न पार्ने क्रममा नै जोडिएर विभिन्न धुन र रागहरु जोडिएर आएको पाइन्छ ।’

उनका अनुसार ऋषिपञ्चमीको बेलामा गाउने राग हो कि दशैंमा देवीहरुलाई प्रशन्न पार्ने राग, ती सबै धुनहरु शास्त्रीय मान्यता अनुसार निर्देशन हुन्छ । यसरी हेर्दा ‘मालश्री धुन’को धार्मिक तथा सांस्कृतिक मान्यतासँगै शास्त्रीय सङ्गीतको पाटो समेत जोडिएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?