मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बडा दशैँ

‘दशैंको सांस्कृतिक पक्ष गौण हुँदै गयो, मनोरञ्जनका रूपमा मात्र लिन थालियो’

हिन्दू नेपालीहरूको महान चाडका रुपमा लिइने दशैंको धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणमा आ–आफ्नै महत्त्व एवं महिमा छन् । यस पर्वमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री, नवदुर्गाको पूजा गरी सप्तशती(चण्डी) पाठ गरी त्रिशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

दशैंमा गरिने देवी शक्तिको आराधना, ध्यान, जपको समेत आफ्नै मौलिक मान्यता छन् । यही दशैं पर्वको देवी शक्तिको महिमा, दशैंको मौलिक संस्कृति, सामाजिक दृष्टिकोण र पछिल्लो पुस्ताले कसरी यसलाई मनाइरहेको छ त भन्ने सन्दर्भमा संस्कृतिविद् प्रा. डा. वीणा पौड्यालसँग जोय नेपालकर्मी सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:

दशैँ भन्नबित्तिकै नेपालमा छुट्टै खालको रौनक थपिने गर्छ । सांस्कृतिक रुपमा यसलाई कसरी जोड्न सकिन्छ?

दशैं हाम्रो त्यस्तो चाड हो कि, धार्मिक पृष्ठभूमि भइकन पनि यसको सामाजिक परिवेशलाई अङ्गालेको हुनाले धर्म सँगसँगै सामाजिकीकरण र समाजका विभिन्न तह तप्काहरु यसमा आउँछन् । हाम्रो समाज र संस्कारका कुराहरु आउने भएकोले दशैं पर्वलाई संस्कृतिसँग जोड्न सकिन्छ ।

दशैं भन्ने बित्तिकै शक्ति र पराक्रमको कुरा पनि आउँछन् । यसलाई कसरी हेर्न सकिन्छ ?

मुख्य चाहिँ दशैंमा पूजा गर्ने विधान, विधिहरु धर्म शास्त्र र शक्तिका लागि देवीको आराधना गरिन्छ । यसमा पनि नेपाल र भारतमा केही फरक छन् । नेपालमा चाहिँ नौरथाभरि नै देवी शक्तिको पूजा आराधना गरिन्छ । भारतमा चाहिँ रामले रावणमाथि प्राप्त गरेको विजयलाई आधार बनाएर विजया दशमी मनाइन्छ । भारतमा रावण, कुम्भकर्णका पुत्ला जलाएर विजया दशमी मनाउँछन् । पर्व एउटै भए पनि मनाउने तरिकामा केही फरक छ । हाम्रोमा देवीकै शक्तिको पूजा आराधना गरिन्छ ।

दशैंमा विशेष गरी दुर्गा माताको पूजा गरिने भएकाले नारी शक्तिको बिम्बका रूपमा पनि हेर्ने गरिएको छ नि?

हो । दशैंलाई नारी शक्तिको बिम्बका रुपमा मान्न सकिन्छ । घटस्थापनाकै दिनमा पनि घरमा महाकाली, महालक्ष्मी र महा सरस्वती तीन देवीलाई आह्वान गरेर पूजा गरुन्जेल यही बसिदिनुहोस् भनेर पूजा आराधना स्थल नै स्थापना गरिन्छ । त्यसपछि पृथ्वीमा रहेका बादल, नदी, समुन्द्रजस्ता पानीका जल स्रोतहरु आएर बसिदिनुहोस् आह्वान गर्ने चलन छ । यस पर्वमा स्त्री शक्तिलाई खुशी पारेर अन्य शक्तिहरुलाई समेत ल्याउन पूजा आराधना गर्ने चलन छ ।

दशैंमा जोडिने स्त्री शक्तिलाई दशैं पर्वको महिमा र संस्कृतिमा कसरी हेर्न सकिन्छ ?

हामीकहाँ जहिले पनि वैदिककालदेखि नै हेर्‍यौं भने वेद, उपनिषदहरु, पुराण, ग्रन्थहरुमा विभिन्न काल, समय र कथाहरु, फरक फरक हिसाबले आउँछन् । तर त्यहाँ अधिकांश युद्धका कथाहरुमा देवता र दानवबीचमा भएको छ ।

जब हार भइसकेपछि कसरी युद्ध जित्ने त भनेर छलफल गर्दा स्त्री शक्तिलाई आह्वान गरी, पूजा आराधना गरेर देवीले शक्ति दिएपछि विजय प्राप्त गरेको छ । त्यो रामको कथामा पनि आउँछ । रामले पनि सबै अस्त्रशस्त्रको जगेर्नासँगै देवी भगवतीको नौदिनसम्म आराधना गरी प्रशन्न बनाएर दशौं दिनमा शक्ति पाएर रावणका वध गर्नुभयो भनेर रामायणमा भनिएको छ ।

यता महाभारतमा कौरव र पाण्डवको युद्धमा युद्धिष्ठिरले देवीको आराधना, पूजा गरेर देवीलाई प्रशन्न गरेपछि मात्र विजय हासिल गरको महाभारतमा खण्डमा लेखिएको छ । हरेक ठाउँमा विभिन्न परिस्थिति र कारणहरुमा देवीलाई आह्वान गर्ने देखिएको छ । यसमा धर्म र संस्कृतिको पाटोमा स्त्री शक्ति नै जोडिएर आएको छ । 

दशैंको मौलिकता र यसको महिमा भन्दा पनि बढी मनोरञ्जन र सामाजिक पाटोलाई पछिल्लो पुस्ताले कसरी अनुशरण गरिरहेका छन् ?

अधिकांश हामीले मनाउने चाडपर्वहरुमा शास्त्रमा के छ, शास्त्रले कसरी निर्देशन गरेको छ भन्ने कुराचाहिँ एकदम गौण भएर गएको छ । अहिले धेरै कुरामा परिवर्तन भएपनि दशैंमा त शास्त्रीय विधान अनुसार जमरा राख्ने, पूजा आराधना गर्ने गरिएको छ । तर अन्य चाडपर्वहरुमा धेरै कुरा लोप भएर जान थालेका छन् । जुनसुकै चाडपर्वहरुमा पनि चारवटा पक्षहरु आउँछन् ।

पहिलो नम्बरमा ईश्वर र प्रकृतिप्रति कृतज्ञता गरिन्छ । यति राम्रो सुन्दर सृष्टिमा म जन्मिन पाएँ, सबै हेर्न पाएँ र मेरा पूर्खाहरुले छोडरे गएका सबै चीज अब मैले नासो स्वरुप राख्न पाउँ भनेर प्रकृति र ईश्वरप्रति नै कृतज्ञता जाहेर गरिन्छ । हामी सनातनी धर्म मान्नेहरुले दैनिक रुपमा उठेदेखि खाना खाने बेलामा पनि यसो गर्ने गर्छौं । दोस्रो भनेको पारिवारिक मुल्य मान्यता हो ।

सबै परिवारका सदस्यहरु, जेष्ठ नागरिकलाई आदर र सानालाई माया गर्ने चलन छ । हामी परिवारलाई महत्व दिन्छौं । हामी परिवार नै बसेर चाडवाड मनाउँछौं । हामीकहाँ जे गर्दा पनि परिवारको सदस्य सँगसँगै हुन्छ । तेस्रो चाहिँ साथीभाइ हो । धेरै पर्वहरुमा साथीभाइहरु सँगसँगै भएर मनाइन्छ । यस्तो कुरा बढी तिहारमा देखिन्छ । चौथो चाहिँ मनोरञ्जन हो । त्यो मनोरञ्जनमा गीत, नाच आउँछन् । हरेक चाडहरुमा फरक फरक गीतिनाटक, नाच, गीत, गीतहरु आउँछन् । सबै पर्वहरुमा मौलिक अन्य सबै चीजहरु गौण भएर गए । ईश्वरप्रतिको कृतज्ञता, ध्यान, जप, योग सबै कुराहरु चाहिँ बिस्तारै हराउँदै गए । देवीको पूजा र शक्ति आर्जन पनि ध्यान, जप, योगबाटै हो । ती कुराहरु चाहिँ खाली कर्मकाण्डको रुपमा मात्र भए । त्यसकारण अहिले चौथो नम्बरमा पर्ने मनोरञ्जन मात्र आउने भए ।

पछिल्लो समय दशैं भनेको पिङ खेल्ने, चङ्गा उडाउने, तास खेल्न गरेर मनोरञ्जन गर्ने, विशेष प्रकारको खानाको परिकार खाने भन्ने भयो । मनोरञ्जन चाहिँ एकदमै बढी प्रश्रय भयो । तर देवीको नाममा आराधना गर्ने, असत्यमाथिको सत्यको विजय भनेर मनाउने कम भए । यो कुरामा हामीले विचार गरेनौं । खाली राम्रो लगाउने, मीठो खाने भन्ने कुराहरु मात्र भए ।

दशैं पर्वको मौलिकता र महिमालाई नयाँ पुस्तासमक्ष कायम राख्न कसरी अगाडि बढ्न सकिन्छ ?

दशैंको मौलिकतालाई जोगाउन घर परिवारले पनि सिकाउनुपर्छ । अहिलेका पुस्ताले जे कुरा पनि विज्ञानसंवतले हेर्छन् । त्यसकारण दशैं पर्व भनेको के हो, यसको महिमालाई पाठ्यक्रममा राखेर पनि अहिलेका पुस्तालाई पढाउनुपर्छ । उनीहरुले पाठ्यपुस्तकमा पढेपछि यो चाड भनेको यस्तो रहेछ, यसरी मनाउन पर्नेरहेछ भनेर थाहा पाउन र सिक्न सक्छन् ।

रेडियो, टेलिभिजन तथा अन्य सामाजिक सञ्जालहरु जस्तो टिकटकहरुमा दशैंको बारेमा विज्ञहरुले बोलेका छोटो छोटो कुराहरु राखेर उनीहरुको मनमा पर्वबारे बोध गराउनुपर्छ । यी कुराहरु चाहिँ उनीहरुले सुन्न र हेर्न सक्छन् । यसो नगर्ने हो भने धेरै कुराहर लोप भएर गइसके र अझै लोप भएर जान सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?