काठमाडौँ – नेपाली फिल्म उद्योगका थुप्रै सुपरहिट र यादगार फिल्म निर्देशन गरेका तुलसी घिमिरेले सात बर्षपछि निर्देशनमा पुनरागमन गर्ने भएका छन ।
‘दर्पण छायाँ २’ पछि अन्य फिल्म निर्देशन नगरेका उनी यतिबेला नयाँ फिल्मको तयारीमा लागेका हुन् ।
अहिले उनले बनाउन लागेको फिल्म ‘पहाड’को गीतको काम भइरहेको छ। यो फिल्मको शीर्ष भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भइसकेका छन्।
फिल्ममा विपिनसहित मदनकृष्ण श्रेष्ठ, सुनिल थापा लगायत कलाकारहरूको शीर्ष अभिनय रहनेछ।
तिहार लगत्तै फ्लोरमा जाने तयारीमा रहेको फिल्मका लागि अन्य कलाकार छनौटको चरणमा रहेको घिमिरेले बताएका छन् । यो घिमिरेको २३ औँ फिल्म हुनेछ भने फिल्मले बढ्दो बसाइसराइले दिनदिनै रित्तिँदै गएको पहाडी भूगोलको कथामा उठाउने बताइएको छ ।
घिमिरे नेपाली सिने क्षेत्रमा सफल र चर्चित निर्देशक हुन् । उनका कुसुमे रुमाल, लाहुरे, चिनो, दक्षिणा, देवता, बलिदान, दर्पण छायाँ जस्ता फिल्म सुपरहिट छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया